१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस गण्डकी
२o८१ जेठ २ बुधबार १५:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गण्डकीको १२ सय हेक्टर वनमा डढेलो

Read Time : > 1 मिनेट
रासस, गण्डकी
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:२३:oo

गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार दुई सय १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजंगलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ।

‘मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन्। सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ,’ निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने। उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ।

म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन अधिकृत थापाले जानकारी दिए। कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा तीन सय ५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ। स्याङ्जामा दुई सय ८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ।

सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए। उनका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी एक सय ४७ स्थानमा डढेलो लागेको हो।

वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताए। ‘बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानि हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरूको वासस्थान नष्ट हुन्छ,’ उनले भने, ‘डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको हुन्छ।’

थापाका अनुसार नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन्। हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको उनले बताए। वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

‘समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन । डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ,’ वन अधिकृत थापाले भने, ‘समुदायस्तरमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ।’ डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उनले जानकारी दिए।

वन कार्यालयहरूले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ। लम्बिँदो सुक्खायामका कारण यो हिउँदमा डढेलोका घटना अझै बढ्न सक्ने जोखिम रहेको वन अधिकृत थापाले बताए। डढेलोले सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा र बुट्यान सखाप पार्ने गरेको उनको भनाइ छ।

वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताए। डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए। उक्त कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

ad
ad