१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाललाई निरन्तर सहयोग गर्ने इयूको प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५३:oo

युरोपेली संघ (इयू)ले सन् २०२७ सम्म नेपाललाई अल्पविकसित अवस्थाकै सहयोग निरन्तर दिने भएको छ । नेपाल सन् २०२६ देखि विकासशील मुलुकमा स्तरोन्नतिको तयारी भइरहँदा इयूले पूर्वप्रतिबद्धताअनुसार सहयोगलाई निरन्तरता दिने भएका हो । नेपाल र इयूको मंगलबार काठमाडौंमा सम्पन्न संयुक्त आयोगको १५औँ बैठकमा यसबारे इयूले प्रतिबद्धता दोहोर्‍याएको हो । 

नेपाल र इयूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाइरहेका छन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्साल र इयूका तर्फबाट विदेश मामिला सेवाको एसिया तथा प्रशान्त क्षेत्रीय उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

‘दुवै पक्षले लोकतन्त्र र मानव अधिकारको संरक्षण, सुशासनको प्रवद्र्धन, दिगो विकास लक्ष्यहरू (एसडिजी) प्राप्त गर्न, लगानी प्रवद्र्धन र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीको सामना गर्न मिलेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पक्षले दिगो विकास लक्ष्य प्राप्तिमा भएका उपलब्धि र चुनौतीबारे धारणा राखेको छ ।’

इयूले सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको संक्रमण रणनीतिलाई स्वागत गरेको छ । उसले बहुवार्षिक संकेतात्मक कार्यक्रम (एमआइपी)मार्फत सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको संयुक्त वक्तव्यमा उल्लेख छ । बैठकमा नेपाल र इयूबीच विभिन्न क्षेत्रमा भएको विकास सहयोगको प्रगतिको समीक्षा भएको छ । नेपाल सरकारका योजना र प्राथमिकतासँग मिल्दोजुल्दो रहेकोमा नेपाली पक्षले एमआइपीको प्रशंसा पनि गरेको छ ।

नेपाल र इयूबीच सार्क र बिमस्टेकबारे छलफल भएको थियो । दुवै पक्षले प्रभावकारी बहुपक्षीय सहयोगको महत्वलाई जोड दिएका छन् । युरोपेली संघले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको योगदानको प्रशंसा गरेको छ । नेपाल र इयूले प्रभावकारी बहुपक्षीयता र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन र अन्य विश्वव्यापी मञ्चमा सहकार्य गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएका छन् । 

बैठकमा सामाजिक समावेशीकरणलगायत मानव अधिकारका विषयमा पनि छलफल भएको थियो । नेपाली पक्षले मानव अधिकारको संरक्षण र जतिसक्दो चाँडो संक्रमणकालीन न्याय सम्पन्न गर्ने प्रयास र प्रतिबद्धता दोहोर्‍याएको छ । इयूले नेपालको शान्ति प्रक्रिया चाँडो निष्कर्षमा पुग्ने आशा व्यक्त गरेको छ । इयूले नेपालको सामाजिक आर्थिक रूपान्तरणमा हासिल गरेको उपलब्धिको प्रशंसा गरेको छ ।

ad
ad