१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:११:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पहिलोपटक वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा गणना : कुल निष्क्रिय कर्जाको एकतिहाइ मात्रै खुद निष्क्रिय कर्जा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:११:oo

वाणिज्य बैंकाहरूको निष्क्रिय कर्जा अनुपात उच्चदरमा बढेको भनिरहँदा खुद निष्क्रिय कर्जा (नेट एनपिएल) भने न्यून देखिएको छ । पुससम्म २० वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत छ, तर उनीहरूको खुद निष्क्रिय कर्जा भने १.१३ प्रतिशत मात्रै देखिएको हो । 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले यसअघि कुल निष्क्रिय कर्जा अनुपात मात्रै गणना गर्दै आएका थिए । राष्ट्र बैंकले पहिलोपटक वाणिज्य बैंकाहरूको खुद निष्क्रिय कर्जा पनि गणना गरेको छ । सोही तथ्यांकले कुल निष्क्रिय कर्जाको एकतिहाइ मात्रै खुद निष्क्रिय कर्जा अनुपात देखाएको हो । 

कुल एनपिएलमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ)को रकम घटाएर खुद एनपिएल निकालिएको हो । बैंकहरूले निष्क्रिय कर्जाबापत निश्चित रकम प्रोभिजनिङ गर्नुपर्छ । मुख्तयः बैंकहरूले आफ्नो आम्दानीबाट नै प्रोभिजनिङ गर्नुपर्छ । कुल निष्क्रिय कर्जाबाट प्रोभिजनिङ रकम घटाएर यो आँकडा निकालेको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । 

‘अहिले बैंकहरूको खराब कर्जा बढ्यो भनेर नकारात्मक टिप्पणी भइरहेको छ । त्यो सन्दर्भमा अहिले बैंकहरूमा निष्क्रिय कर्जाको वास्तविक अवस्था के हो भनेर देखाउन यो आँकडा निकालेका हौँ, जुन तथ्यांकले बैंकहरू सहज अवस्थामा भएको देखाएको छ,’ उनले भने, ‘बैंकहरूले प्रोभिजनिङ गरे पनि सम्बन्धित कर्जालाई निष्क्रिय कर्जामा वर्गीकरण गर्छन् । त्यसअनुसार निकट भविष्यमा सम्बन्धित कर्जा असुल नभए पनि बैंकको वित्तीय अवस्था थप बिग्रिँदैन । किनकि, त्यसबराबरको रकम पहिले प्रोभिजनिङ गरिएको हुन्छ । तसर्थ, कुल निष्क्रिय कर्जा (३.६३ प्रतिशत) डुब्दैमा बैंकको वित्तीय अवस्था बिग्रिँदैन । खुद निष्क्रिय कर्जा (१.१३ प्रतिशत) असुल नभए मात्रै बैंकको वित्तीय अवस्था थप प्रभावित हुन सक्छ ।’

निटक भविष्यमा निष्क्रिय कर्जाले पार्न सक्ने खुद असर देखाउन पनि यस्तो गणना गरिएको उनको भनाइ छ । ‘अहिले निष्क्रिय कर्जाका कारण पनि बैंक समस्याग्रस्त हुन लाग्यो भनेर टिप्पणी भइरहेको छ । त्यो सन्दर्भमा निष्क्रिय कर्जाले पार्न सक्ने वास्तविक असर देखाउन खोजेका हौँ,’ उनले भने, ‘यद्यपि, त्यस्तो कर्जा असुली भयो भने कुनै पनि असर पर्दैन ।’

२० वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत छ, तर उनीहरूको खुद निष्क्रिय कर्जा भने १.१३ प्रतिशत मात्रै देखिएको हो  

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि बैंकिङ क्षेत्र सुरक्षित छ भनेर देखाउन खुद निष्क्रिय कर्जा गणना गरेको बताए । ‘अहिले बैंकिङ क्षेत्र डुब्नै लाग्यो भनेर गलत ढंगले प्रचार गरिएको छ । त्यो अवस्थामा बैंकिङ क्षेत्र सुरक्षित छ भनेर सर्वसाधारणलाई देखाउन विश्वास दिलाउन यसको गणना गरिएको हो,’ उनले भने, ‘बैंकहरूमा आमसर्वसाधारणको खर्बाैँ पैसा निक्षेप स्वरूपमा राखिएको छ । बैंकिङ क्षेत्रलाई जबर्जस्ती बदनाम गर्न खोजेमा सर्वसाधारणको पैसा पनि जोखिममा पर्छ । तसर्थ, यस क्षेत्रप्रति सबै संवेदनशील हुन आवश्यक छ ।’

छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत देशहरूले पहिलेदेखि नै खुद निष्क्रिय कर्जा गणना गर्दै आएका छन् । विश्वका अधिकांश देशहरूले खुद निष्क्रिय कर्जा गणना गर्दै आएका छन् । तर, नेपालमा निष्क्रिय कर्जा अनुपात कम थियो । त्यसकारण पनि खुद निष्क्रिय कर्जा अनुपात गणना गरिएको थिएन । अहिले खराब कर्जा अनुपात बढ्दै गएपछि यसको गणना गरेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

‘विदेशी बैंकहरूमा निष्क्रिय कर्जा नै ५–६ प्रतिशतभन्दा माथि हुने गर्छ । त्यसैले उनीहरूले खुद निष्क्रिय कर्जा अनुपात गणना गर्ने गर्छन्, त्यसरी पनि उनीहरूको खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा माथि हुने गर्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘नेपालमा त निष्क्रिय कर्जा अनुपात १ प्रतिशत हाराहारी मात्रै हुने गथ्र्याे । त्यसमा पनि खुद निष्क्रिय कर्जा अनुपात नगन्य नै हुन्थ्यो होला । त्यसैले पनि यसलाई बेवास्ता गरिएको थियो ।

अहिले निष्क्रिय कर्जा अनुपात बढ्दै गएपछि यसको आवश्यकता देखियो ।’ यस्तै, पूर्वबैंकर पर्शुराम कुँवरले पनि खुद निष्क्रिय कर्जा अनुपात निकाल्नु सकारात्मक भएको बताए । यसले निष्क्रिय कर्जाको वास्तविक अवस्था देखाउने उनको भनाइ छ । ‘प्रोभिजनिङ नै गरेपछि सम्बन्धित कर्जा असुल नभए पनि बैंकको वित्तीय सूचकमा थप असर पर्दैन । खुद निष्क्रिय कर्जा असुल नभए मात्रै बैंकको वित्तीय अवस्था थप प्रभावित हुने हो,’ उनले भने, ‘तसर्थ, खुद निष्क्रिय कर्जा अनुपात गणना गर्नु वैज्ञानिक छ । अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो ।’

राष्ट्र बैंकले उक्त तथ्यांकअनुसार बैंंकहरू चिन्तित हुनुपर्ने अवस्था नदेखिएको उनले बताए । यसले बैंकिङ क्षेत्रबारे पछिल्लो समय भइरहेको गलत प्रचार पनि नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए । 

झन्डै दुई खर्ब प्रोभिजनिङ
बैंकहरूले खराब कर्जाबापत पुस मसान्तसम्म झन्डै दुई खर्ब प्रोभिजनिङ गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार २० वाणिज्य बैंकले एक खर्ब ९१ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ कर्जा नोक्सानीबापत प्रोभिजनिङ राखेका छन् । बैंकहरूको पुस मसान्तसम्म उठ्न बाँकी कर्जा ४४ खर्ब ९५ अर्ब ५८ करोड रुपैयाँ छ । सम्बन्धित कर्जा असुल भएमा प्रोभिजनिङको रकम नाफा–नोक्सान खातामा जानेछ, त्यस्तो भएमा बैंकको नाफा बढ्ने सम्भावनासमेत हुने गर्छ । 

बैंकहरूले कर्जालाई असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब गरेर पाँच वर्गमा वर्गीकरण गर्छन् । बैंकहरूले असलमा १.२५ प्रतिशत, सूक्ष्म निगरानीमा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराबमा सय प्रतिशतबराबरको रकम प्रोभिजनिङ गर्नुपर्छ । निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब वर्गका कर्जा हुन्छन् ।

ad
ad