१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपेश पछाई लुम्बिनी
२o८१ बैशाख २० बिहीबार १९:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विहारमा व्यावसायिक गतिविधि नगर्न कोषको पत्र, विदेशीको विवरणसमेत बुझाउन निर्देशन 

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:४९:oo

लुम्बिनी विकास कोषले लुम्बिनीभित्र रहेका विहार/गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाविपरीत होटेलसरह सेवा सञ्चालन नगर्न पत्राचार गरेको छ।

लुम्बिनी होटेल संघले यसअघि लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र विहार क्षेत्रमा रहेका गुम्बाले सञ्चालन गर्ने व्यावसायिक गतिविधि बन्द नगरे चरणबद्ध रूपमा आन्दोलन गर्दै आत्मदाह गर्नेसम्मको चेतावनी दिएको थियो।
 
लुम्बिनी होटेल संघको ज्ञापनपत्रलाई सम्बोधन गर्दै आइतबार लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र रहेका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार नियमित रूपमा विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउनुसमेत आग्रह गरेको छ। 

‘साथै विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्ण रूपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रूपमा स्थापित गर्न हुन अनुरोध गर्दै व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न–नगराउन हुन अनुरोध गर्दै त्यस्ता व्यावसायिक गतिविधि गरिएको पाइएमा नियमानुसार कारबाही हुने व्यहोरा यसै पत्रद्वारा जानकारी गराउँछु,’ कोषका सदस्यसचिव सानुराजा शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विहार क्षेत्र विनियमावली, २०५८ मा रहेको प्रावधानअनुसार सम्बन्धित विहारमा आउने कुनै नयाँ विदेशी नागरिक बस्न आउने भएमा आउने मिति र फर्कने मितिसमेत उल्लेख गरी कोषमा जानकारी गराउन पत्रमा उल्लेख छ। 

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली, २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नका लागि पाँचजना भिक्षु भिक्षुणी र उनीहरूको सहयोगीको रूपमा थप पाँचजना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ।

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्तिकेन्द्रको रूपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि ९९ वर्षका लागि जग्गा उपलब्ध गराइएको थियो।

बौद्ध विहार/गुम्बा, ध्यान केन्द्रहरू निर्माण भई सञ्चालनमा रहेको अवस्थामा हालका दिनमा विहार/गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटेलसरहका कोठा तयार गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटेल संघ नेपालले कोषमा ज्ञापनपत्र बुझाएको थियो।

 


 

ad
ad