१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
शनिबार निर्वाचन मिति घोषणा गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमार । तस्बिरः पिटिआई
२o८१ जेठ २ बुधबार १o:३१:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

 भारतमा लोकसभा निर्वाचन मिति घोषणा : सात चरणमा हुने चुनावको नतिजा ४ जुनमा 

मत सर्वेक्षणले नरेन्द्र मोदीको भाजपा र उसका सहयोगीले चुनाव जित्ने भविष्यवाणी गरेका छन् 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३१:oo

 मतदाता संख्या

  •      कुल ९६.८ करोड मतदाताको नाम दर्ता भइसकेको छ । त्यसमा ४७.१ करोड महिला र ४९.७ करोड पुरुष छन् ।
  •      दर्ता भएका मतदातामध्ये १.८९ करोड पहिलोपटकका मतदाता हुन् । 
  •      मतदातामध्ये २० देखि २९ वर्ष उमेरका युवाको संख्या १९.७४ करोड छ । 
  •   जनवरी २०२४ को जनवरी १ मा १८ वर्ष नपुगेका तर निर्वाचन हुने समय अर्थात् अप्रिलमा १८ वर्ष पुग्ने (मतदानका लागि योग्य हुने) युवाहरूको नाम पनि थपिएको छ । यस्ता मतदाताको संख्या १३.४ लाख छ । 
  •      मतदाताका रूपमा नाम लेखाएकामध्ये ८८.४ लाख कुनै न कुनै प्रकारका अपांगता भएका नागरिक छन् भने ८५ वर्षभन्दा बढी उमेरका ८२ लाख र ४८ हजार ट्रान्सजेन्डर पनि समावेश छन् । 
  •      ८५ वर्षभन्दा माथिका वयोवृद्ध नागरिकलाई घरमै बसेर भोट हाल्ने सुविधा उपलब्ध गराइनेछ । यसका लागि मतदान गर्ने कर्मचारीले घर–घर गएर मत अभिलेख गर्नेछन् । 

भारतको केन्द्रीय निर्वाचन आयोगले लोकसभाको निर्वाचन मिति घोषणा गरेको छ । यस घोषणासँगै १८औँ लोकसभाको गठनको प्रक्रिया सुरु भएको छ । निर्वाचन आगामी अप्रिल १९ देखि १ जुनसम्म सात चरणमा हुनेछ । निर्वाचनको मिति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सबै सिटको मतपरिणाम  ४ जुनमा सार्वजनिक हुने पनि जानकारी गराए । 

करिब ९६ करोड ८० लाख योग्य मतदाता भएको भारतको निर्वाचन विश्वले देखेको सबैभन्दा ठूलो हुनेछ । मत सर्वेक्षणले कीर्तिमानी तेस्रो कार्यकाल सत्तामा पुग्ने योजनामा रहेको नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) र यसका सहयोगीले जित्ने भविष्यवाणी गरेका छन् । कंग्रेससहित दुई दर्जनभन्दा बढी विपक्षी दलहरूले यस चुनावमा भाजपालाई चुनौती दिन भारतीय नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आइएनडिआइए) भनिने गठबन्धन समूह बनाएका छन् ।

भारतको तल्लो सदनमा ५४३ निर्वाचित सदस्य रहने व्यवस्था छ । कुनै पनि दल वा गठबन्धनलाई सरकार बनाउन न्यूनतम २७२ सांसद चाहिन्छन् । मोदीको नेतृत्वमा रहेको भाजपाले २०१९ को चुनावमा ५४३ सिटमध्ये ३०३ सिट जितेको थियो । यो वर्ष पार्टीले कम्तीमा ३७० सिट जित्ने लक्ष्य राखेको छ । १७औँ लोकसभाको कार्यकाल सन् २०२४ जुन १६ मा सकिने भएकाले त्यसअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक प्रावधान छ । 

 एनडिए र भारत गठबन्धनबीच मुख्य प्रतिस्पर्धा 
चुनावमा भारतीय जनता पार्टी, कंग्रेस, कम्युनिस्ट पार्टी (माक्र्सवादी) सिपिएम, बहुजन समाज पार्टी, नेसनल पिपुल्स पार्टी (भारतको उत्तरपूर्वी क्षेत्रमा पिए संगमाले राष्ट्रिय पार्टीको हैसित हासिल गर्ने उत्तरपूर्वी राज्य केन्द्रित पहिलो पार्टी हो) र आम आदमी पार्टी गरी ६ वटा राष्ट्रिय हैसियत प्राप्त दल चुनावी मैदानमा छन् । त्यसबाहेक थुप्रै क्षत्रीय दलले पनि तिनका उम्मदवार उतार्नेछन् । तर, चुनावी प्रतिस्पर्धा भने मुख्यतया नरेन्द्र मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए) र कंग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धनबीच हुनेछ ।

एनडिए गठबन्धन तेस्रोपटक नरेन्द्र मोदीको अनुहार लिएर चुनावी मैदानमा उत्रने भएको छ भने इन्डिया गठबन्धनमा अहिलेसम्म कुनै एक नेतामा (बहुमत प्राप्त गरे प्रधानमन्त्री बनाउनका लागि) सहमति भइसकेको छैन । राष्ट्रिय दलमध्ये बहुजन समाज पार्टीबाहेक सबै दल कुनै न कुनै गठबन्धनको हिस्सा छन् । 

भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडिएमा पिए संगमाको नेसनल पिपुल्स पार्टी, नितीश कुमारको जनता दल युनाइटेड, चन्द्रबाबु नायडूको तेलुगु देशम पार्टी, एकनाथ सिन्दे नेतृत्वको शिवसेना, अजित पवार प्रमुख रहेको एनसिपी, जयन्त चौधरीको राष्ट्रिय लोकदल र एचडी देवगौडाको जनता दलसहित कैयौँ साना–ठूला पार्टी सामेल छन् । उता ‘इन्डिया’ गठबन्धनमा कंग्रेसबाहेक वामपन्थी दलहरू, लालुप्रसाद यादवको राष्ट्रिय जनता दल, अखिलेश यादवको समाजवादी पार्टी, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको डिएमके, हेमन्त सोरेन प्रमुख रहेको झारखण्ड मुक्ति मोर्चा, उद्धव ठाकरे गुटको शिवसेना, शरद पवार गुटको एनसिपी र अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीलगायत दर्जनौँ दलहरू सामेल छन् । ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस, मायावतीले हाँकेको बहुजन समाज पार्टी र नवीन पटनायकको बिजु जनता दल भने कुनै गठबन्धनतर्फ खुलेका छैनन् । 

 १७औँ लोकसभाको स्थिति 
यसअघि १७औँ लोकसभाका लागि सन् २०१९ अप्रिल ११ देखि मे १९ बीच सात चरणमा मतदान भएको थियो । त्यस निर्वाचनमा तीनवटा ठूला राज्य उत्तर प्रदेश, पश्चिम बंगाल र बिहारमा सातै चरणमा मतदान भएको थियो । सो चुनावको नतिजा सन् २०१९ मे २३ मा घोषणा भएको थियो । करिब ६९ करोड ४० लाख मतदाताले मत खसाएको सो निर्वाचनमा झन्डै ४५ प्रतिशत मत पाउँदै नरेन्द्र मोदी नेतृत्वमा रहेको एनडिए गठबन्धनले कुल ३५३ सिट जितेको थियो भने भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको थियो । करिब २६ प्रतिशत कंग्रेस नेतृत्वको युपिएले पायो । समग्रमा कांग्रेस नेतृत्वको युपिए गठबन्धनले ९२ सिट मात्र जित्दा कंग्रेसले ५२ सिट मात्र जित्न सकेको थियो । 
–बिबिसी हिन्दी र भारतीय समाचार संस्था एनडिटिभीको सहयोगमा

ad
ad