१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन यादव
२o८१ बैशाख २२ शनिबार o७:३७:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विभेदले थिचिएको मधेश

Read Time : > 4 मिनेट
नवीन यादव
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३७:oo

करिब १५ वर्षअघिका संस्मरण मनमा ताजै छन् । सायद बाचुन्जेल ताजै रहनेछन् । कक्षा चारसम्म सप्तरीमै पढेँ । त्यतिखेर बुबा सहायक वन अधिकृत हुनुहुन्थ्यो । उहाँको सरुवा धरानमा भएको थियो । उहाँले मलाई आफूसँगै धरान लग्नुभयो । धरानको एउटा निजी विद्यालयमा मेरो भर्ना गराइदिनुभयो । म बुबासँगै क्वार्टरमा बस्न थालेँ । नयाँ स्कुलको यात्रा सुरु भयो । स्कुल नियमित रूपले जान थालेँ । स्कुल जाँदै गर्दा बिस्तारै साथीहरूले मलाई अरूभन्दा फरक दृष्टिले हेरिरहेका छन् भन्ने महसुस हुन थाल्यो ।

कक्षाका साथीहरूको नजरमा म नेपाली थिइनँ । उनीहरू मलाई भारतीय नागरिक ठान्थे सायद । कक्षामा अरू पनि मधेशी साथी थिए । सबको पीडा मेरैजस्तो थियो । मलाई भिन्न नजरले हेर्ने साथीहरूका लागि नेपाली हुन पहाडी समुदायका जात, गोरो छाला र शुद्ध नेपाली हुनुपथ्र्यो । हामी यादव र साह थरका थियौँ । ती साथीहरूका लागि यादव र साह नेपालका जात होइनन् भन्ने थियो सायद । भर्खरै मधेशबाट धरान गएको थिएँ म । मेरो मातृभाषा मैथिली थियो । मधेशमा हुँदा नेपालीलाई अतिरिक्त भाषाका रूपमा प्रयोग गर्थें ।

नेपाली बोल्दा व्याकरण अलिक अशुद्ध हुन्थ्यो । अशुद्ध नेपाली बोल्दा म ती साथीको नजरमा नेपाली ठहरिन सकिनँ । कक्षा सुरु भएको दुई महिना हुँदै थियो । एकजना साथीले ‘ओइ भैया होमवर्क गरिस्’ भनेर सोध्यो । मैले उसलाई उत्तरपुस्तिका दिएँ । तर, उसले प्रयोग गरेको त्यो ‘भैया’ शब्दले मलाई कैयौँ दिनसम्म सोचमग्न बनायो । पछि एकजना दाइबाट थाहा पाएँ, म मधेशी भएकाले तिनले मलाई ‘भैया’ भनेका थिए । समयक्रमसँगै साथीहरूले नयाँ–नयाँ नाम दिन थाले । भैयाबाट ‘इन्डियन’, ‘भेले’, ‘मदिसे’, ‘फोरम’जस्ता अनेक शब्दलाई मरो उपनाम बनाइयो । त्यस्ता शब्दले मलाई पीडा दिन्थे । अरू मधेशी साथीहरू त्यस्तो सुने पनि मौन रहन्थे । म भने त्यसको खरो प्रतिकार गर्थें । त्यसैकारण हामीबीच झगडा पनि पथ्र्यो । शिक्षकलाई साथीहरूले हेप्दै छन् भनेर गुनासो नगरेको होइन, तर हेपिनेभन्दा हेप्नेकै संख्या बढी हुने भएकाले हाम्रो कुरा सुनिन्नथ्यो । साथीहरूले हेप्न खोज्दा र त्यसको विरोध गर्दा साथीहरूले मलाई स्कुल बिदा भएपछि बाटोमा थर्काउँथे । कतिले त हातै पनि उठाउँथे । 

मधेशी नागरिक जहिल्यै सिमानामा बसेर नेपाली भूमिको सुरक्षामा डटिरहे । आफ्नो भूभागमाथि आँखा लगाउनेविरुद्ध सशक्त प्रतिकारमा उत्रिरहे । तर, काठमाडौंले उनीहरूलाई कहिल्यै आफ्नो ठानेन । 
 

अब अति भयो भनेर स्कुल परिवर्तन गरेँ । नयाँ स्कुलमा पनि त्यस्तै वातावरण पाएँ । । कक्षामा प्रायः दोस्रो, तेस्रो हुन्थेँ । तैपनि, साथीहरूबाट बहिष्कृत भइरहेँ । स्कुले जीवन मेरा लागि निकै पीडादायी रह्यो । कलेजमा अलिक राहत पाएँ । स्कुले जीवनले मलाई विद्रोही बनायो । म नेपाली हुँ, मेरो देश नेपाल हो, तैपनि साथीहरूले मलाई गरैनेपाली नागरिकका रूपमा हेर्दै छन् । यो कुरा मेरो मानसपटलमा गहिरो गरी बस्यो । कतिलाई यो कुरा सामान्य लाग्न सक्ला, तर मेरा लागि निकै जटिल थियो ।

डा. सिके राउत खुला राजनीतिमा आउनुअघि मधेश नेपालबाट छुट्टिनुपर्छ भन्थे । उनलाई धेरैले विखण्डकारी भन्थे । आफ्नो विद्यार्थी जीवनमा उनी पनि मधेशी भएकै कारण पहाडी साथीबाट हेपिए । विद्यालयसम्मको पढाइ सकेपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने मौका पाए । त्यहाँ पढ्दा उनलाई पनि मधेशी भएकै कारण धेरै विभेद भोग्नुप¥यो । त्यसले उनलाई विद्रोही बनायो । काठमाडौंपछि उनी जपान र अमेरिका गएर पढे ।

अमेरिकी वैज्ञानिकका रूपमा केही समय काम पनि गरे । पछि जागिर छाडेर मधेश मुक्तिका निम्ति सक्रिय राजनीतिमा होमिए । उनी मधेशलाई पृथक् देश बनाउन चाहन्थे । जसरी पनि नेपालबाट मधेश छुट्टिनुपर्छ भनेर चर्को भाषण गर्थे । मधेशमा उनको त्यो मुद्दालाई समर्थन गर्नेहरूको पनि कमी थिएन । पढेलेखेका मधेशीसमेत उनको त्यो पृथक्तावादी मुद्दालाई सही ठान्थे । यस्तो हुनुको एक मात्र कारण विभेद थियो ।

राजेन्द्र महतोले केही दिनअघि ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक एउटा आन्दोलन घोषणा गरे । यससम्बन्धी समाचार पत्रपत्रिका र आनलाइन न्युज पोर्टलहरूले प्रकाशित पनि गरे । अनलाइन न्युज पोर्टलमा प्राकाशित भएको महतोको अभियानसँग सम्बन्धित समाचारको ‘कमेन्ट बक्स’मा उनलाई केही पहाडी समुदायका व्यक्तिले भैया, विहारीजस्ता अनेक वेभेदकारी शब्द प्रयोग गरेर टिप्पणी गरेका थिए । यो महतोको मात्र समस्या होइन, मधेशका लगभग सबै नेताले यस्तै समस्याबाट गुज्रिनुपरेको छ ।

एक वर्षअघिको कुरा हो । कीर्तिपुरमा डेरा लिएर बस्दै गरेका एकजना मधेशका प्राध्यापकलाई सोधेँ– तपाईं यति लामो समय काठमाडौं बस्नुभयो । तपाईंले कतिको विभेद खेप्नुपर्‍यो ? उहाँको जवाफ निकै मार्मिक थियो । उहाँको उत्तर यस्तो थियो– विद्यालय कक्षासम्म आफ्नै गृहजिल्लामा पढेँ । त्यसपछि भारत गएर पढेँ । पढाइ सकेपछि नेपाल आएर काठमाडौंमा अध्यापन पेसामा लागेँ ।

काठमाडौं बसेको लगभग ३५ वर्ष भइसक्यो । केही समयअघि जागिरबाट सेवानिवृत्त पनि भएँ । काठमाडौंले बाँच्नका लागि सबै कुरा दियो । काठमाडौंमै रहेर पैसा कमाएँ, छोराछोरी पढाएँ । तर, यहाँ बस्दा मैले धेरै विभेद सहेर बस्नुप¥यो । मेरा आफ्नै विद्यार्थीले समेत मलाई हेपे । भैया, विहारीजस्ता शब्द त कति सुनेँ कति ! त्यसैले कतिचोटि जागिर छोडौँ कि जस्तो पनि लाग्यो । तर, आम्दानीको स्रोत यही एउटा थियो । छाड्ने आँट आएन । 

उहाँले अगाडि भन्नुभयो– मैले मात्र होइन, मेरा दुई छोरालाई पनि काठमाडौंले मधेशी भएकै कारण विभेद ग¥यो । गोरखाका शाह वंशले ससाना राज्यलाई आफ्नो अधीनमा पार्ने काम सुरु गरेदेखि नै विभक्त रूपमा रहेका राज्यमाथि विभेद सुरु भयो । यसै क्रममा तराई मधेशका क्षेत्र पनि नेपाल राज्यभित्र एकीकृत भए । यस क्रममा अन्य राज्यका नागरिकले भन्दा मधेशले बढी नै विभेद खेप्नुपर्‍यो ।

काठमाडौंकेन्द्रित सत्ताले मधेशी जनतालाई सुरुदेखि नै गैरनेपाली नागरिकजस्तो व्यवहार गर्‍यो । राज्यसत्ताले मधेशीलाई अन्य क्षेत्रका नेपालीसरह सम्मान दिन चाहेन । मधेशीलाई हरेक क्षेत्रबाट किनारामा धकेल्न खोजियो । शाहवंशीय राजाहरूको शासनकालमा झैँ राणाशासनमा पनि मधेशीलाई अरू नेपालीसहर व्यवहार गरिएन । एक भाषा, एक वेशभूषाअन्तर्गत मधेशलाई पनि ल्याउन खोजियो । सरकारी सेवामा मधेशीको सहभागितामा कन्जुस्याइँ गरियो ।

गणतन्त्रभन्दा पहिले हरेक सरकारी सेवामा मधेशी नागरिकको सहभागिता अत्यन्त न्यून थियो । २००७ सालको क्रान्तिमा मधेशको अतुलनीय भूमिका थियो । मधेशी नागरिक जहिल्यै सिमानामा बसेर नेपाली भूमिको सुरक्षामा डटिरहे । आफ्नो भूभागमाथि आँखा लगाउनेविरुद्ध सशक्त प्रतिकारमा उत्रिरहे । तर, काठमाडौंले उनीहरूलाई कहिल्यै आफ्नो ठानेन । 

पहिलो जनआन्दोलन, जनयुद्ध या दोस्रो जनआन्दोलनजस्ता सम्पूर्ण विद्रोहमा मधेशको पनि पहाडको जत्तिकै योगदान छ । तर, मधेशको चर्चा कम गरियो । २००७ सालपछि मधेशको समस्याप्रति मधेशीहरू बढी सचेत हुन थाले । त्यही वेला नेपाल तराई कांग्रेसको स्थापना भयो । सो दलले मधेशकेन्द्रित विभिन्न माग उठायो । त्यसपछि सद्भावनालगायत केही दलले मधेशका निम्ति संघर्ष गरे । ०६३ सालमा जारी भएको अन्तरिम संविधानमा मधेशी नेता र मधेशकेन्द्रित दलहरूले संघीयताको माग उठाए । तर, त्यसमा संघीयता समावेश भएन । सद्भावना पार्टी र मधेशी जनअधिकार फोरमले त्यसको चर्को विरोध गरे । ०६३ माघ २ मा मधेशी जनअधिकार फोरमले संविधानको प्रति जलायो । 

त्यसपछि मधेश विद्रोहको थालनी भयो । त्यसमा धेरै मधेशी मारिए । त्यसयता पनि मधेशमा दोस्रो र तेस्रो विद्रोह पनि भयो । यसमा पनि कैयौँ मधेशी मारिए । मधेश विद्रोहकै कारण देशमा संघीयता, आरक्षण, समानुपातिक समावेशिताजस्ता कुरा आए । त्यसपछि सरकारी सेवा र संसद्मा मधेशीको संख्या केही बढ्यो । संघीयताका कारण मधेशले मधेश प्रदेश पायो । थोरै भए पनि मधेशले पहिचान पाएको महसुस ग¥यो । तर, मधेशीलाई हेर्ने दृष्टिकोणमा अहिले पनि खासै परिवर्तन आएको छैन ।

गैरनेपाली नागरिकसरह व्यवहार अहिले पनि गरिन्छ । वेशभूषा, रहनसहन र भाषाका कारण अहिले पनि मधेशीले विभेद खेप्नुपरिरहेको छ । मधेशले समय–समयमा पृथक् मुद्दा उठाउने गर्छ । सम्मान र पहिचानभन्दा ठूलो केही हुँदैन । धरानमा साथीहरूबाट हेपिँदा ममा आफ्नै देशविरुद्ध आक्रोश उत्पन्न हुन्थ्यो । नेपालभन्दा पनि मधेश मात्र आफ्नो भूमि हो भन्ने ठान्थेँ । यस्तो हुनुमा मेरो चेतन प्रकृतिको दोष थिएन । म र मधेशमाथि हुने गरेका विभेदले जन्माएको प्रभाव थियो त्यो । 
विभेदबाट सिर्जित प्रतिक्रियात्मक जवाफको कुनै सीमा र दिशा हुँदैन । पहाडी जिल्लाका केही मानिसले अहिले पनि मधेशीलाई नेपाली ठान्दैनन् ।

तिनीहरू अहिले पनि मधेशीलाई घृणा गर्छन् । मधेशबाट काठमाडौं पढ्न, काम गर्न, व्यापार गर्न आएका मधेशीले अहिले पनि कहीँ कतै मधेशी भएकै कारण विभेद खेप्नुपरेको छ । भारतीय भूमि सिक्किम र दार्जलिङतिरका नेपालीभाषीलाई नेपाली ठान्ने र नेपाली भूमिका मधेशीलाई भारतीय नागरिक ठान्ने गलत सोच अझै हट्न सकेको छैन । कालो छाला भएका, नेपाली बोल्न नसक्ने र मधेशी पहिरन लगाउने मधेशीलाई अहिले पनि काठमाडौंमा बस्न निकै कठिन छ ।

काठमाडौंमा अहिले पनि कम उमेरका बच्चाले समेत पाको उमेरका मधेशीलाई भैया, मदिसे भनेर सम्बोधन गर्छन्, तिनलाई थर्काउँछन् र हेपेर बोल्छन् । कतिले अहिले पनि भारतीय नागरिक र मधेशीलाई एउटै खेमामा राखेर हेर्ने गरेको पाइन्छ । स्कुले बच्चाले समेत यस्तो विभेद अझै सहनुपरिरहेको छ । त्यसरी हेपिने मधेशी बच्चामा आफ्नै देशप्रति नकारात्मक भावना सिर्जना हुँदै गइरहेको छ । पछि तिनमा सिके राउतको विखण्डनकारी भावना नउब्जेला भन्न सकिन्न । मधेशीहरू कतैबाट भागेर आएका आप्रवासी होइनन् । आफ्नै नेपाली भूमिका मालिक हुन् । कालान्तरमा काठमाडौंकेन्द्रित सत्ताले उनीहरूमाथि विभेद लादेको हो भन्ने चेत सबैमा हुनुपर्छ ।
 

ad
ad