१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:११:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

७ हजार १८६ ले गराइरहेका छन् हेमोडायलाइसिस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:११:oo

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार सरकारले विपन्न नागरिक औषधि उपचार कोषमार्फत दिएको हेमोडायलाइसिस सेवा हाल देशभर सात हजार एक सय ८६ मिर्र्गौला बिरामीले लिइरहेका छन् । विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको पछिल्लो तथ्यांकअनुसार हेमोडायलाइसिस गराइरहेकामध्ये पनि १८८ जना सेरोपोजेटिभ बिरामी छन् । यसबाहेक पेरिटोनियल डायलाइसिस अर्थात् पेटमा पाइप राखेर घरमा आफैँले दैनिक तीनपटक डायलाइसिस गर्नुपर्ने बिरामीहरू दुई सय ८६ छन् । 

त्यस्तै, सरकारले विभिन्न कारणले मिर्गौलाले काम गर्न छोडेको अवस्थामा उपचारका लागि एकेआई (एक्युट किड्नी इन्जुरी) सेवा पनि दिँदै आएको छ । यसका लागि सूचीकृत अस्पतालमा आवश्यक उपचार गराउँदा विपन्न नागरिक कोषले एक लाखसम्मको खर्च व्यहोर्दै आएको छ । नर्सिङ महाशाखाको तथ्यांकअनुसार पछिल्लो वर्ष मात्रै ९२ जनाले यस्तो सेवा लिएका छन् । 

विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौला प्रत्यारोपणका लागि प्रत्येक बिरामीलाई साढे पाँच लाखबराबरको उपचार खर्च सरकारले उपलब्ध गराउँदै आएको छ । विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार प्रत्यारोपण गर्नुपूर्व स्वास्थ्य परीक्षणका लागि ५० हजार, प्रत्यारोपणका लागि चार लाख र प्रत्यारोपणपछि औषधिलगायत अन्य सेवाका लागि एक लाखबराबरको सेवा पाइरहेका हुन् । यी विभिन्न सेवा लिइरहेका बिरामी आठ हजारको हाराहारीमा रहेको महाशाखा प्रमुख हीरा निरौला बताउँछिन् । 

‘विपन्न नागरिक कोषमार्फत सेवा लिनेको संख्या बर्सेनि बढिरहेको छ,’ उनले भनिन्, ‘मिर्गौला फेल मात्रै नभएर मिर्गौलासम्बन्धी अन्य समस्या लिएर आउने प्रभावितको संख्या पनि बढ्दो छ ।’सरकारी अस्पतालमा प्रत्यारोपणको पालो कुरेर बसेका बिरामीहरू नै सयौँको संख्यामा रहेको चिकित्सकहरू बताउँछन् । सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिरहेको भक्तपुरको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा मात्रै प्रत्यारोपणका लागि सयभन्दा बढी पालोमा छन् । यसैगरी, त्रिवि शिक्षण अस्पतालमा पनि प्रत्यारोपणका लागि ८९ जना पालो कुरेर बसेका छन् ।

मिर्गौला फेल मात्रै नभई मिर्गौला फेल हुन सक्ने उच्च जोखिममा रहेका व्यक्तिहरूको संख्या पनि अत्यधिक रहेको विभागको तथ्यांकले देखाउँछ । मिर्गौला फेल हुने मुख्य कारणमा रहेका मधुमेह र उच्च रक्तचापजस्ता समस्या नेपालमा उच्च रहेको छ । पछिल्लो वर्षको तथ्यांकअनुसार ६ लाख ३० हजार दुई सय ९९ जनामा उच्च रक्तचाप र तीन लाख १२ हजार तीन सय ७० जनामा मधुमेहको समस्या देखिएको थियो । त्यस्तै, मिर्गौलामा पत्थरी, संक्रमण, सिस्टलगायतको संख्या उच्च रहेको बताउँछिन्, डा. श्रेष्ठ । उनका अनुसार उच्च मधुमेह, उच्च रक्तचापका साथै मिर्गौलामा देखिने यस्ता जटिल समस्याका कारण मिर्गौला फेल हुने दर बढाइरहेको हो । 

पछिल्लो समय साउदी, दुबई, कतारलगायतका देशमा काम गर्न जाने युवाहरूमा मिर्गौला फेल हुने दर उच्च रहेको पाइएको चिकित्सकहरू बताउँछन् । वैदेशिक रोजगार विभागले मात्रै प्रत्येक हप्ताजसो दुईदेखि तीनजनाको उपचारका लागि सिफारिस पठाउने गरेको छ । साथै, प्रत्यारोपण केन्द्रमा हाल शल्यक्रिया गरिरहेकामध्ये झन्डै २५ प्रतिशत वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको डा. श्रेष्ठले बताइन् । 

सरकारसँग छैन  मिर्गौलापीडितको यकिन तथ्यांक
हाल देशभर डायलाइसिस गराइरहेका र प्रत्यारोपणपश्चात् पनि नियमित उपचारमा रहेकाहरूको तथ्यांकको आधारमा देशभर ३५ हजारभन्दा बढी मिर्गौलापीडित रहेको अनुमान स्वास्थ्य मन्त्रालयको छ । तर, हालसम्म हेमोडायलाइसिस, पेरिटोनियल डायलाइसिस, एक्युट किड्नी इन्जुरीको तत्कालीन उपचार गरी जम्मा सात हजार ५६४ जना मात्रै उपचारको पहुँचमा छन् । यसबाहेक सरकारी र निजी अस्पतालमा गरी हालसम्म २१ सय ८० जनाको प्रत्यारोपण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

हेमोडायलाइसिसलगायतका सेवाहरू देशभरि भइरहे पनि प्रत्यारोपण भने १५ अस्पतालमा मात्र हुँदा बिरामीहरू अस्पतालमै लाइन बस्न बाध्य छन् । तर, सेवा दिने अस्पतालहरू सरकारीभन्दा निजी बढी हुँदा विपन्नले समयमा उपचार पाइरहेका छैनन् । मिर्गाैलासम्बन्धी जटिल समस्याका प्रभावित बिरामी कति छन् भन्ने तथ्यांक सरकारसँग पनि नभएको बताउँछिन् मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठ । भन्छिन्, ‘नेपालमा बिरामीको रजिस्ट्री गर्ने चलन नै छैन । फ्रिमा डायलाइसिस गर्नेको संख्या विभागले राखे पनि अन्य बिरामीको तथ्यांक कसैसँग उपलब्ध छैन ।’

ad
ad