१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अनुदानको ट्र्याक्टर पारिदिने प्रलोभनमा एक करोड ३३ लाख ठगी गर्ने कर्मचारी फरार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:४२:oo

मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमातहत रहेको कृषि ज्ञान केन्द्र सिराहामा करार सेवामा कार्यरत कार्यालय सहयोगीले ५० प्रतिशत अनुदानको ट्र्याक्टर पारिदिन्छु भन्दै दर्जनौँ किसानसँग करोडौँ रकम असुलेर फरार भएका छन् । 

कृषि ज्ञान केन्द्र सिराहामा करार सेवामा कार्यरत अजयकुमार कर्ण

सिराहा नगरपालिका– १० नरहैया गाउँका करिब २७ वर्षीय अजयकुमार कर्ण सिराहाको औरही, लक्ष्मीपुर पतारी, अर्नमा, बरियारपट्टि गाउँपालिका तथा धनगढीमाई, मिर्चैया नगर क्षेत्रका दर्जनौँ किसानसँग एक करोड ३३ लाखभन्दा बढी रकम ठगी गरी फरार भएका हुन् । स्थानीय अगुवामार्फत किसानसँग रकम कुम्ल्याएर सम्पर्कविहीन भएपछि आफूहरू अप्ठ्यारोमा परेको औरही गाउँपालिका– २ तुलसीपुरकी ४० वर्षीया पुनिताकुमारी महतोले गुनासो गरिन् । 

‘कामविशेषले जिल्ला सदरमुकाम गएका वेला कृषि ज्ञान केन्द्रमा कार्यरत कर्णसँग भेट हुँदा ५० प्रतिशत अनुदानको ट्र्याक्टर आएको छ, मिलाइदिन्छु भन्दै ५० प्रतिशत रकम जम्मा गर्न भने,’ उनले भनिन्, ‘आफ्नै गाउँका किसानलाई नै राम्रो हुन्छ भन्ठानेर गत असोजको तेस्रो हप्ता चारजना किसानको ३७ लाख ६५ हजार रुपैयाँ उठाएर दिएँ । रकम हात पारेपछि उनी सम्पर्कविहीन भएका छन् ।’ 

पीडित पुनिताकुमारी महतो (तस्बिरमा दायाँ) भन्छिन्–कामविशेषले जिल्ला सदरमुकाम गएका वेला कृषि ज्ञान केन्द्रमा कार्यरत अजयकुमार कर्णसँग भेट हुँदा ५० प्रतिशत अनुदानको ट्र्याक्टर आएको छ, मिलाइदिन्छु भन्दै ५० प्रतिशत रकम जम्मा गर्न भने । आफ्नै गाउँका किसानलाई नै राम्रो हुन्छ भन्ठानेर गत असोजको तेस्रो हप्ता चारजना किसानको ३७ लाख ६५ हजार रुपैयाँ उठाएर दिएँ । रकम हात पारेपछि उनी सम्पर्कविहीन भएका छन् ।

महतोका अनुसार उनको माध्यमले बरियारपट्टि खरुकियाहीका लालु यादव, औरही गाउँपालिका– १ दरहैयाका उमेश यादव, सिराहाका प्रेमकुमार यादवसहित चारजनाले अनुदानबापत दिएको ३७ लाख ६५ हजार रुपैयाँ कर्णले लिएका छन् । त्यस्तै, अर्नमा– ४ गौरीपुरका मनोजकुमार यादवसँग बैंकमार्फत सात लाख ५० हजार लिएका कर्णले उनीमार्फत औरही– ५ का सुदीपकुमार यादवसँग पाँच लाख र बलिराम यादवसँग सात लाख, अर्नमा– ३ का अरबिन्दकुमार महतोबाट नौ लाख, कल्याणपुर– ४ का दिलीपकुमार यादवबाट आठ लाख ७५ हजार रुपैयाँ लिएका छन् । 

त्यस्तै, मिर्चैया नगरपालिका– ११ सोनीका कुलेश्वर यादवसँग आठ लाख ५० हजार, जिझौलका सन्तोषकुमार यादवसँग सात लाख ६० हजार, गोविन्दपुरका चन्देश्वर यादवसँग पाँच लाख, लक्ष्मीपुरपतारीका दिनेशप्रसाद यादवसँग आठ लाख ५० हजार, धनगढीमाईका सत्यकुमार यादवसँग सात लाख गरी नगद तथा बैंकमार्फत ९६ लाख रुपैयाँ लिएको यादवले बताए । कर्णले अनुदानबापतको ट्र्याक्टर पारिदिन्छु भन्दै जिल्लाका अन्य ठाउँका समेत गरी करिब एक सय किसानको रकम बुझेको स्थानीयले बताएका छन् । 

५० प्रतिशत रकम नगदै बुझेका कर्णले ट्र्याक्टर नआए आफूले दिएको चेक साटेर रकम असुल्नु भन्दै किसानलाई ग्लोबल आइएमई, नबिल, माछापुच्छ्रे  बैंकको चेकमा रकम भरेर हस्ताक्षर गरेर दिएका छन् । त्यसरी दिएको चेक पटकपटक सम्बन्धित बैंकमा साट्न जाँदा रकम नरहेको पाइएपछि बाध्य भएर चेक अनादरको मुद्दमा जानुपरेको पीडितहरूले बताए । 

पीडित पुनिताकुमारी महतोले आफूमार्फत नगद लिएका कर्णले गत १९ असोजमा नबिल बैंकको ३० लाख र २० गते ग्लोबल आइएमई बैंकको सात लाख ६५ हजार रुपैयाँको चेक दिएको सुनाइन् । ‘कैयौँपल्ट रकम साट्न गए पनि खातामा रकम नरहेकाले बाध्य भएर जिल्ला प्रहरी कार्यालयमा चेक अनादरको जाहेरी दिएकी छु,’ उनले भनिन् । 

प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले फरार रहेका कर्णको खोजी जारी रहेको बताए । ‘फरार कर्णको विषयमा अध्ययन भइरहेको र पीडितहरूले दिएको निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइनेछ,’ उनले भने । 

साउनदेखि कार्यालयमा गयल
कृषि ज्ञान केन्द्र सिराहाका सूचना अधिकारी परमानन्द चौधरीले चालू आर्थिक वर्षको साउनदेखि नै करार सेवाका कार्यालय सहयोगी कर्ण कार्यालयमा गयल रहेको जानकारी दिए । ०७७ देखि कार्यालय सहयोगीको रूपमा करार सेवामा काम थालेका कर्णलाई खोज्दै कार्यालयमा मानिस आउन थालेपछि शंका लागेर सोधखोजसहित कडाइ गरिएको उनले बताए । ‘कार्यालयमा आउने मानिस के कामले आएका हुन्, कार्यालय प्रमुखसँग भेटाउनु भन्न थालेपछि बजारतिर भेट्दा रहेछन्,’ उनले भने, ‘त्यो कुरा पनि थाहा पाएपछि कडाइ गर्‍यौँ, त्यसपछि कार्यालय नै आउन छोडे ।’ गत साउनयता उनको करार सेवा पनि थप नभएपछि कार्यालय आएका छैनन्, उनी कहाँ के काम गर्दै छन्, आफूहरूलाई थाहा नभएको उनले बताए । 

ad
ad