गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा क्षति पुगेपछि कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ ।
वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा. ५प ५२९७ नम्बरको ट्रकमा आगालागी भएको हो । कर्णाली पुलमाथि गुडिरहेका वेला एक्कासि ट्रकमा आगलागी हुँदा पुलका लट्ठामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पुलको दुवैतिरका गरी करिब १४ वटा लट्ठामा सामान्य क्षति पुगेको चिसापानी प्रहरीले जनाएको छ । लट्ठाको बाहिरी भागको प्लास्टिक जलेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
आगलागीबाट ट्रक र त्यसमा रहेको सामान पूर्ण रूपमा नष्ट भएको उनले बताए । आगलागी भएपछि पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको छ ।
आगलागीले क्षतिग्रस्त ट्रक र सामान हटाउने काम भइरहेको छ । लम्कीबाट गएको दमकलको सहयोगबाट आगलागी नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पुलका लट्ठाको बाहिरी भागको प्लास्टिक जलेको र आगलागी भएको ट्रक पनि पुलमै रहेकाले पुलमा यातायातका साधन आवतजावत बन्द गरिएको बताए ।
प्रहरीका अनुसार त्यहाँबाट ओहोरदोहोर गर्ने यातायातका साधनलाई हुलाकी राजमार्गअन्तर्गत टीकापुर–कोठियाघाटको बाटोबाट ‘डाइभर्ट’ गरिएको छ ।
सडक डिभिजनको प्राविधिक टोलीले निरीक्षण गरेपछि पुलमा यातायात सुचारु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘लट्ठामा सामान्य क्षति पुगेको देखिएको छ, कति क्षति भयो, मालबाहक साधन चलाउन मिल्ने-नमिल्ने प्राविधिकले परीक्षण गरेपछि थाहा होला,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने ।
आगलागीबाट ट्रक भने पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।