१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४o:oo

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत छ। 

सरकारले चालू आवका लागि मुद्रास्फीति ६.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ। सात महिना अवधिमा आयात २.३, निर्यात ७.१ र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ। 

यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ। त्यसैगरी, शोधनान्तर स्थिति रु. दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ।

कुल विदेशी विनिमय सञ्चिति रु. १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड छ। सात महिना अवधिको सरकारको खर्च रु. ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु. पाँच खर्ब ६७ अर्ब ४० करोड छ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन सात प्रतिशतले बढेको छ। त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत छ।
 

ad
ad