१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्वासको मतअघि नै आमने–सामने हुँदै दलहरू

बढीभन्दा बढी दलको समर्थन जुटाएर राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमार्फत गठबन्धन थप मजबुत बनाउने सत्तारूढ दलहरूको तयारी, यही निर्वाचनबाट विपक्षी गठबन्धनलाई औपचारिकता दिँदै सरकारविरोधी मोर्चा कस्ने कांग्रेसको रणनीति

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:३२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिनुभन्दा अगाडि सत्ता र विपक्षी गठबन्धनबीच रिक्त राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा शक्ति परीक्षण हुने भएको छ । मंगलबार निर्वाचन सकिएपछि विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ । 

औपचारिक रूपमा सरकारले विश्वासको मत लिनेबारे संसद् सचिवालयलाई केही जानकारी गराएको छैन । बुधबार प्रतिनिधिसभा बैठक बस्दै छ । राष्ट्रिय सभा निर्वाचनलगत्तै विश्वासको मत लिने सत्तागठबन्धन दलहरूको गृहकार्य छ । सत्तागठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभामा सुविधाजनक बहुमत छ । 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले निर्णय लिने बताए । ‘विश्वासको मत सरकारले लिने हो, सरकारले नै निर्णय गर्छ । प्रतिनिधिसभाको बैठक ३० गते छ । प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग छलफल गरेर आइतबारसम्म विश्वासको मत लिने दिन टुंग्याउनुहुन्छ । जुन दिन विश्वासको मत लिनुहुन्छ, त्यो दिन ह्विप लगाउने निर्णय दलले गरेको छ,’ उनले भने । 

नयाँ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति छ । कांग्रेसले पनि अध्यक्ष आफूले राखेर उपाध्यक्षमा विपक्षी गठबन्धनमा सहभागी हुने दललाई दिने गरी तयारी थालेको छ । समीकरण फेरबदलबाट प्रमुख प्रतिपक्षी बनेको कांग्रेसले पनि सत्तागठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएको हो । यद्यपि, शनिबार रातिसम्म कसैले पनि उम्मेदवार टुंग्याएका छैनन् । 

निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएसँगै रिक्त पदमा २९ फागुनमा निर्वाचन हुँदै छ । संसद् सचिवालयले आइतबार निर्वाचनको कार्यक्रम घोषणा हुने जनाएको छ । राष्ट्रिय सभाले पारित गरेको क्यालेन्डरअनुसार उम्मेदवार मनोनयन सोमबार हुनेछ, सम्बन्धित दलले उम्मेदवारलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव दर्ता गराउनुपर्नेछ । मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा मतविभाजनबाट निर्वाचन हुनेछ ।

एक मात्र उम्मेदवारी परेमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । राष्ट्रिय सभा नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र अध्यक्ष निर्वाचित भइसक्नुपर्छ । पाँचदलीय नयाँ गठबन्धनमा भएको सहमतिअनुसार अध्यक्ष पद पाएको माओवादीबाट तीनजना आकांक्षी छन् । संसद्को अबको बैठक ३० फागुनमा बस्दै छ । 

राष्ट्रिय सभामा दुई र प्रतिनिधिसभामा एक समिति सभापति पद रिक्त भएको छ । राष्ट्रिय सभातर्फ एमालेको नेतृत्व रहेको राष्ट्रिय सरोकार तथा समन्वय समिति र कांग्रेसले सम्हालेको दिगो विकास तथा सुशासन समितिका सभापतिको पदावधि २० फागुनमा सकिएर रिक्त, छ । यसैगरी, एकीकृत समाजवादीले सम्हालेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेपछि रिक्त छ ।

यसैगरी, प्रमुख प्रतिपक्षीको हैसियतमा एमालेले सम्हालेको सार्वजनिक लेखा समितिको सभापति अब प्रमुख प्रतिपक्षी भएको कांग्रेसले पाउनुपर्नेछ । एमालेबाट सभापति ऋषिकेश पोखरेलले छाडेपछि यहाँ कांग्रेसबाट सभापति आउनेछन् ।नियमावलीअनुसार सभापतिको निर्वाचन सभामुख र अध्यक्षले तोकेको दिन हुने व्यवस्था छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापतिको निर्वाचन मिति चैत महिनाको क्यालेन्डरमा समावेश गरिनेछ । 

अहिलेको टिमले सकारात्मक रिजल्ट दिन्छ :  प्रधानमन्त्री
नयाँ गठबन्धन बनेपछि संसद्को कार्यतालिका केही प्रभावित भए पनि अब दु्रतगतिमा अगाडि बढाउने उनले बताएका छन् । मन्त्रिपरिषद्को नयाँ टिमले सकारात्मक परिणाम निकाल्ने विश्वास उनले लिएका छन् । ‘नयाँ सहकार्यका बारेमा संसद्मा मैले जे विषय राखेँ, त्यो नै मुख्य विषय हो । अहिलेको सहकार्य ठीक छ । सुशासन, समृद्धि र सामाजिक न्यायका लागि गठबन्धन परिवर्तन गर्नुपरेको हो । मन्त्रिपरिषद्को अहिलेको टिमले सकारात्मक रिजल्ट दिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाण्डेले भने । 

उनले कांग्रेसले महासमिति बैठकबाट लिएको नीति र सरकारको काममा गरेको सहयोगले पुरानो गठबन्धनमा समस्या भएको उनले दाबी गरे । ‘बजेट कार्यान्वयमा पनि सहयोग भएन । आन्तरिक ऋण उठाऊ, बाह्य ऋण घटाऊभन्दा पनि मानेनन् । हिन्दुराष्ट्रको विषय बैठकमा प्रवेश गरायो । यसले नयाँ ढंगबाट सोच्नुपर्ने अवस्था बन्यो ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांसद राजन दाहालले भने ।

ओली–नेपाल  टेलिफोन वार्ता
एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार अबेर ओली र नेपालबीच टेलिफोन वार्ता भएको हो । ओलीले नेपाललाई टेलिफोन गरेर अविश्वास मेटाएर अगाडि बढ्न आग्रह गरेका छन् । ‘तपाईं र मेरोबीचको अविश्वास मेटाउनुपर्‍यो । अविश्वास लामो समयदेखि कायम भएको छ । त्यसलाई विश्वासमा परिणत गर्नुपर्छ ।’ ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएका छन् ।

नेपालले विश्वासको वातावरण काम र व्यवहारमा चाहेको बताए । ‘विश्वास नै सम्बन्धको आधार हो । विश्वास रहेन भने सम्बन्ध रहँदैन । त्यसकारण, विश्वास काम र व्यवहारबाट हुन्छ । विश्वास कुराबाट हुँदैन ।’ शनिबार आयोजित एक कार्यक्रममा नेपालले भने । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि नहुने पनि उनले स्मरण गरे । उनले भने, ‘हामी कसैप्रति आग्रही छैनौँ । आग्रह पार्नुपर्ने छैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैन भनिन्छ ।’ उनले भने ।

अध्यक्षमा जसको चर्चा छ
सत्तागठबन्धन : ३९
माओवादी : १८ । एमाले : १० । एकीकृत समाजवादी : ८ । जसपा : ३

पाँच दलीय नयाँ गठबन्धनले अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र हालै लुम्बिनीबाट निर्वाचित झक्कुप्रसाद सुवेदी अध्यक्षका आकांक्षी छन् । शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका छन् । एमालेलाई राष्ट्रिय सभा उपाध्यक्ष दिने सहमति भएकाले अर्यालले राजीनामा दिनुपर्नेछ ।

विपक्षी : १७
कांग्रेस : १६ । लोसपा : १ ।
माओवादीसँग गठबन्धन कायम हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी भए पनि गठबन्धन भत्किएपछि अर्काे पात्र उभ्याएर प्रतिस्पर्धा गर्ने कांग्रेसको तयारी छ । हार्ने अंकगणित रहेकाले उम्मेदवारका लागि कसैको दाबी छैन । त्यसैले कांग्रेसले आनन्द ढुंगाना वा कमला पन्तलाई अगाडि सार्ने सम्भावना छ । तर, उम्मेदवारबारे निर्णय अन्तिम समयमा सभापति शेरबहादुर देउवाले लिनेछन् ।

आज निर्वाचन कार्यक्रम घोषणा
संसद् सचिवालयले आइतबार निर्वाचनको कार्यक्रम घोषणा हुने जनाएको छ । राष्ट्रिय सभाले पारित गरेको क्यालेन्डरअनुसार उम्मेदवार मनोनयन सोमबार हुनेछ, सम्बन्धित दलले उम्मेदवारलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव दर्ता गराउनुपर्नेछ । मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा मतविभाजनबाट निर्वाचन हुनेछ । एक मात्र उम्मेदवारी परेमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । 

जनमोर्चा र वामदेव अनिर्णीत, राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त
माधव नेपाल भन्छन्– कांग्रेसलाई गाली गर्नुहुन्न
जहरसिंपौवामा शनिबार आयोजित अनेमसंघ समाजवादीको वनभोज कार्यक्रममा माधव नेपालले भने–हामी छलफलमै छौँ । फेरि धोका खाने अवस्था नबनोस् । फेरि एकले–अर्कालाई मूर्ख बनाउने स्थिति नबनोस् । विश्वासको वातावरणमा अगाडि बढ्ने हो ।

अहिले कांग्रेसलाई दोष दिएर, शत्रु बनाएर जाने गल्ती किमार्थ गर्नुहुँदैन । भोलि गएर मिल्न परिहाल्यो भने के गर्नुहुन्छ ? पर्दा त हामीकहाँ आयो त कांग्रेस, अरू पनि आए । स्वाभाविक रूपमा हामीसँग जसको बढी विचार मिल्छ, उसँग मिल्ने हो । कम्युनिस्ट शक्ति मिल्नु हाम्रा लागि खुसी हुन्छ । हाम्रो दायित्वको विषय पनि बन्छ । अपमान सहेर कोही पनि बस्दैन । सम्मानका साथ हाम्रो  भूमिका सुनिश्चित गरिसकेपछि हामी आफ्नो तरिकाबाट भूमिका निर्वाह गर्छौैँ ।

विगतको कमजोरीबाट पनि शिक्षा लिनुपर्छ । कमीकमजोरी नदोहोरिने स्थिति बनाउनुपर्छ । एक–अर्काको राय, विचारलाई बुझ्नुपर्छ । र, केही न केही मापदण्ड निर्धारण गर्नुपर्छ । हाम्रो ध्यान सरकार बनाउने खेलभन्दा पनि देश बनाउने, जनताको जीवन राम्रो बनाउने, देशलाई विकासको बाटोमा अगाडि बढाउने, जनताको मन र विश्वास जित्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने तथा जनताका सेवा र  सुविधामा समर्पित हुनेमा केन्द्रित हुनुपर्छ । यसै सिलसिलामा मिलेर जाऔँ भन्ने प्रस्ताव आइसकेपछि सकारात्मक रूपमा लियौँ ।


 

ad
ad