१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग
२o८१ जेठ २ बुधबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

४५ करोड माग, बजेट नआए चैतदेखि काम ठप्प हुने

हुलाकी राजमार्गअन्तर्गत कैलालीमा सडक र पुल गरी १७ वटा खण्ड तथा कञ्चनपुरमा ६ वटा खण्डमा छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२o:oo

कैलाली–कञ्चनपुर खण्डको हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

बजेट अभावका कारण कैलाली–कञ्चनपुर खण्डको निर्माणाधीन हुलाकी राजमार्गको काम ठप्प हुने अवस्थामा पुगेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित बजेट सकिन लागेकाले चैतदेखि निर्माण कम्पनीलाई कामको भुक्तानी दिन नसक्ने अवस्था निम्तिएको हो । 

दुई जिल्लामा आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा ३९ करोड बजेट छुट्याएको थियो । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार त्यसमध्ये करिब साढे ३५ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी रहेको रकम अहिले भएको कामको भुक्तानी दिन पनि नपुग्ने आयोजना प्रमुख पारस हमालले बताए । ‘निर्माण कम्पनीहरूले गरेको कामको बिल पेस गरे बाँकी रकम भुक्तानीका लागि पनि पुग्दैन,’ उनले भने, ‘थप बजेट आएन भने चैतदेखि काम ठप्प हुने स्थिति छ ।’ 

पारस हमाल, 
प्रमुख, हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढी

निर्माण कम्पनीहरूले गरेको कामको बिल पेस गरे बाँकी रकम भुक्तानीका लागि पनि पुग्दैन । काम रोकिने अवस्था आउन नदिन केन्द्रसँग थप ४५ करोड रुपैयाँ बजेट निकासाको माग गरेका छौँ । थप बजेट आएन भने चैतदेखि काम ठप्प हुने स्थिति छ । बजेट अभावले काम प्रभावित बन्दा आयोजनाको अवधि थप लम्बिन सक्छ ।

बिल पेस भएको साढे दुई करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । धनगढी खण्डमा मात्र तीन किलोमिटर कालोपत्रे गरेको तीन करोड रुपैयाँको बिल पेस भएको छैन । विकास निर्माणका काम हुने मुख्य सिजनमै बजेट अभावले काम प्रभावित बन्दा आयोजनाको अवधि थप लम्बिन सक्ने बताइएको छ । ‘अन्य खण्डमा पनि भएको कामको बिल पेस हुने क्रममा छ । सबै प्याकेजको बिल आए भुक्तानीका लागि बजेट पुग्दैन, बजेट भुक्तानी नभए निर्माण कम्पनीले काम रोक्छन्,’ आयोजना प्रमुख हमालले भने, ‘यसबारे केन्द्रमा जानकारी गराइसकेका छौँ ।’ काम रोकिने अवस्था आउन नदिन केन्द्रसँग थप ४५ करोड रुपैयाँ बजेट निकासाको माग गरिएको आयोजना कार्यालयले जनाएको छ । 

हुलाकी राजमार्गअन्तर्गत कैलालीमा सडक र पुल गरी १७ वटा खण्ड तथा कञ्चनपुरमा ६ वटा खण्डमा छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ । कैलालीमा धनगढी क्याम्पस चोकदेखि टीकापुर सत्तीसम्म राजमार्गको ६९ किलोमिटरमध्ये करिब ५१ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । जसको लागत एक अर्ब ८३ करोड रुपैयाँ छ । यो सडकलाई पाँचवटा खण्डमा छुट्याएर काम भइरहेकोमा हालसम्म समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको आयोजना कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतले जानकारी दिए । 

धनगढी क्षेत्रमा करिब १७ किलोमिटर सडक कालोपत्रे भइसकेको उनले बताए । ६९ किलोमिटरमध्ये कैलारी गाउँपालिकाको बसन्ता जैविक क्षेत्रमा करिब १८ किलोमिटर राजमार्ग यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । हुलाकी राजमार्गकै ‘लिंक रोड’का रूपमा पूर्व–पश्चिम राजमार्गको लम्कीदेखि सत्तीसम्मको २९.७ किलोमिटर सडक एक अर्ब १८ करोड रुपैयाँको लागतमा निर्माणाधीन छ । यसको तीनवटा प्याकेजमध्ये पहिलो प्याकेजको आठ किलोमिटर खण्ड कालोपत्रे पूरा भएको छ । दोस्रो र तेस्रो खण्डमा क्रमशः ४५ र २७ प्रतिशत भौतिक प्रगति रहेको इन्जिनियर कठायतले जानकारी दिए ।

‘काम हुने वेला यही हो, तर अहिले नै बजेट अभाव भएको छ,’ उनले भने, ‘अहिले भइरहेको कामको भुक्तानी दिन सक्ने बजेट छैन । भुक्तानी नपाए निर्माण कम्पनीले काम रोक्छन् ।’ हुलाकी राजमार्गअन्तर्गत कैलालीमा दुईवटा पुल र एक किलोमिटर तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

कञ्चनपुरमा तीनवटै सडकखण्ड अधुरा
दुवै जिल्लामा राजमार्ग निर्माणको काम सुस्त छ । कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी राजमार्ग निर्माणको काम सात वर्षदेखि पूरा भएको छैन । हालसम्म साढे ३७ किलोमिटर मात्र कालोपत्रे भएको इन्जिनियर कठायतले जानकारी दिए । तीनवटा खण्डमध्ये कुनै पनि खण्डको काम पूर्ण रूपमा सम्पन्न भएको छैन । पहिलो खण्डमा राजमार्ग कालोपत्रे गरिए पनि शाखा सडकखण्ड कालोपत्रे गर्ने, ट्राफिक संकेत राख्नेलगायत काम अधुरै छन् । राजमार्गसँग जोडिएका शाखा सडक २० मिटरसम्म कालोपत्रे गर्ने स्टिमेट छ ।

दोस्रो खण्डको २० किलोमिटरमध्ये साढे नौ किलोमिटर र तेस्रो खण्डको साढे २२ किलोमिटरमध्ये साढे आठ किलोमिटर कालोपत्रे भएको आयोजना कार्यालयले जनाएको छ । एक अर्ब १६ करोड लागत रहेको कञ्चनपुरको समग्र भौतिक प्रगति ७१ प्रतिशत रहेको इन्जिनियर कठायतले बताए । 

निर्धारितभन्दा दोब्बर बढी समय बित्दा पनि काम सम्पन्न नगरेका निर्माण कम्पनीले छैटौँपटक म्याद थपका लागि निवेदन दिएका छन् । तीनवटै खण्डको म्याद गत असारमा सकिएको छ ।

ad
ad