एक बालकले पितासित फल खाने जिद्दी गरे पनि साथमा पैसा नभएकाले उनले छोराको इच्छा तत्काल पूरा गर्न सकेनन् । भारी बोक्ने काम गर्ने पिताले अर्को दिन केही पैसा कमाएपछि छोराको इच्छा पूरा गर्न उनलाई फलफूल किनेर ल्याउन अह्राए । बालक पनि पैसा पाएपछि दंग पर्दै बजारतिर गए ।
बालकले बाटामा केही यस्ता मानिस देखे, जसको शरीरमा एकसरो लुगासम्म थिएन । उनीहरूलाई देख्दा कैयौँ दिनदेखि केही खाएका छैनन् जस्तो लाथ्यो । फलफूल किन्ने खुसियालीमा रमाउँदै, उफ्रिँदै बजारतिर लागेका बालकले ती मानिसलाई देखेपछि उनको मन दुःखी भयो । उनलाई ती मानिसको दुःख देख्दा फलफूल खान मन लागेन । उनले फलफूल किन्ने सोच त्यागिदिए र साथमा ल्याएको पैसा तिनै मानिसलाई दिएर घर फर्किए ।
फलफूल नकिनी छोरा घर फर्किएपछि पिताले सोधे– खै त फलफूल ? कि सबै उतै खायौ ? बालकले सबै यथार्थ विवरण पितालाई सुनाए । उनले भने– बाबा, ती मानिस त हामीभन्दा पनि दुःखी देखिन्थे । तिनको शरीरमा त लुगा पनि थिएन । त्यसैले, मलाई फलफूल खान मन लागेन । अनि, सबै पैसा उनीहरूलाई दिएँ । बालकका कुरा सुनेर पिता निकै खुसी भए । उनले भने– बाबु, आज तिमीले सामान्य फल होइन, अमर फल प्राप्त गरेका छौ । तिमी जीवनमा ठूला मानिस बन्नेछौ ।