Skip This
बारा विस्फोट अपडेट : ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु, तीनजना  घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण १५ मंगलबार ११:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बारा विस्फोट अपडेट : ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु, तीनजना  घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार ११:o७:oo

निजगढ नगरपालिका– ७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र  पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजतको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये तीनजनाको उपचारको क्रममा मृत्यु भएको हो । 

निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । 

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवानको अवस्था सामान्य छ भने थापा उपचारपछि घर फर्किएका छन् ।

विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ । यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विस्फोटक वस्तु निकै शक्तिशाली रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनले भने, ‘खुला स्थानमा विस्फोट भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ ।’

विस्फोटबाट कारखानानजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।