१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनगढीको ६ लेन सडक झिलिमिली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५२:oo

‘स्ट्रिप, रोप लाइट’ जडान गरिएपछि धनगढीको ६ लेन सडक झिलिमिली बनेको छ। धनगढी उपमहानगरपालिकाले ६ लेन सडकअन्तर्गत धनगढीको भन्सार रोडदेखि मोहनपुरसम्म स्ट्रिप, रोप लाइट जडान गरेको हो। यसले रातिको समयमा सडक झिलिमिली मात्र बनेको छैन, सुन्दर र आकर्षक पनि देखिएको छ।

३१ लाख रुपैयाँको लागतमा छ लेन सडकमा दुई सय ५६ वटा पोल र एक सय ४० वटा ट्रिगार्डमा स्ट्रिप, रोप जडान गरिएको उपमहानगरले जनाएको छ। त्यस्तै, करिब तीन लाख रुपैयाँको लागतमा नेपाल–भारत सीमानजिक कैलाली भन्सारको गेटमा ‘फ्लोड लाइट’ जडान गरिएको छ।

उपमहानगरपालिकाले धनगढी विमानस्थलदेखि ६ लेन सडक जोड्ने सडकमा स्ट्रिप लाइट जडान गरेको छ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले स्ट्रिप लाइटको उद्घाटन गरे। १० लाख रुपैयाँ लागतमा उक्त लाइट जडान गरिएको हो।

नगरप्रमुख गोपाल हमालले सुदूरपश्चिम प्रवेश गर्ने हवाई मार्ग धनगढी विमानस्थल जाने सडक राति अँध्यारो रहेकाले स्ट्रिट लाइट जडान गरिएको बताए। यो सडकमा स्ट्रिप लाइट लगाउन नागरिक उड्डयन प्राधिकरणलाई पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि उपमहानगरपालिकाले आफ्नै लगानीमा लाइट जडान गरेको हमालले बताए।

स्ट्रिप, रोप लाइटले ६ लेन सडक आकर्षक देखिएको छ। उपमहानगरले विद्युत् प्राधिकरणसँगको सहकार्यमा ६ लेनको केही खण्डमा यसअघि नै स्ट्रिप लाइट जडान गरेको थियो। अहिले पोलहरूमा विभिन्न रङमा लाइटहरू जडान गरिएपछि रातिको समयमा सडक आकर्षक देखिएको छ। ‘स्ट्रिप र रोप लाइटले सहरी सुन्दरता बढाउनुका साथै सवारी दुर्घटना न्यूनीकरणमा पनि योगदान पुग्ने धनगढीका उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। सुरक्षाका दृष्टिले पनि यो उपयोगी हुने उनको भनाइ छ।

‘उज्यालो धनगढी’ अभियानअन्तर्गत धनगढीलाई उज्यालो सहर बनाउन सडकहरूमा उपमहानगरले स्ट्रिप लाइट जडानको काम गरिरहेको उनले बताइन्। हुलाकी राजमार्गअन्तर्गत क्याम्पसरोड खण्डमा पनि केही समयअघि स्ट्रिप लाइट जडान गरिएका छन्।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री देउवाले प्रदेशको एक मात्र उपमहानगरपालिका र अस्थायी राजधानी धनगढीलाई नमुना सहरका रूपमा विकास गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताए।

ad
ad