१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शशी थरुर
२o८१ बैशाख २२ शनिबार १o:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीनपरस्त बन्दै गएको माल्दिभ्स

Read Time : > 2 मिनेट
शशी थरुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२१:oo

युक्रेन र गाजायुद्धभन्दा धेरै टाढा अरेबियन समुद्रको एक कुनामा भारत र माल्दिभ्सबीच अनौठो कूटनीतिक द्वन्द्व भड्केको छ । यो द्वन्द्व भारतको रणनीतिक स्वार्थका लागि खतरनाक छ । भारत र माल्दिभ्स वास्तवमा शत्रुराष्ट्र नहुनुपर्ने हो । भारत माल्दिभ्सभन्दा एक हजार एक सय गुणा ठूलो छ । भारतको जनसंख्या एक अर्ब ४० करोड रहेको छ भने माल्दिभ्सको जम्मा पाँच लाख । 

वास्तवमा सबै किसिमका संकटका लागि माल्दिभ्स आफ्नो सबैभन्दा निकट छिमेकी भारतमा निर्भर थियो । जब सन् १९८८ मा श्रीलंकाली लडाकुले माल्दिभ्समा ‘कु’ प्रयास गरे, तब भारतीय ‘प्याराट्रुपर्स’ले त्यसलाई असफल पारे । सन् २००४ मा जब सुनामीले उसलाई असर गर्‍यो, तब भारतीय जहाज र राहत कार्यकर्ताले उद्धारमा सहयोग गरे । र, जब माल्दिभ्सको एक मात्र समुद्री पानी शुद्धीकरण प्लान्ट सन् २०१४ बिग्रिँदा भारतले हवाईजहाज र नेभी ट्यांकरबाट खानेपानी आपूर्ति गर्‍यो ।

यसले मुलुकबीचको द्विपक्षीय समर्थनको गम्भीरता झल्काउँछ । सन् १९६५ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि माल्दिभ्सको सार्वभौमसत्तालाई सबैभन्दा पहिले मान्यता दिने मुलुक भारत नै थियो । त्यसयता दुई मुलुकबीच रणनीतिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रमा बहुआयामिक सम्बन्ध कायम हुँदै आएको छ । दुवै मुलुकबीच साझा समुद्री सीमा छ । यस अर्थमा हिन्द महासागर क्षेत्रमा भारतले कायम गरिरहेको सुरक्षा व्यवस्था माल्दिभ्सका लागि पनि महत्वपूर्ण छ । यसका अतिरिक्त माल्दिभ्स र भारत सार्क एवं साफ्टाका संस्थापक सदस्य हुन् । दुवै देशबीच शताब्दीयौँ लामो जातीय, भाषिक, सांस्कृतिक एवं धार्मिक सम्बन्ध पनि छ । 

यी तमाम कुरालाई हेर्दा दुवै मुलुकबीच गहिरो सम्बन्ध छ भन्ने आकलन गर्न सकिन्छ । तर, जब भूराजनीतिको विषय प्रवेश गर्छ, तब मेलमिलापभन्दा आक्रोशले बढी ठाउँ लिन्छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजु भारतविरोधी भाष्य फैलाएर गत सेप्टेम्बरमा राष्ट्रपति पदमा विजयी भए । कार्यकाल सम्हाल्दै उनले ‘भारतलाई बाहिर’ भन्ने नारा लागू गरे । मुइजु निर्वाचित भएपछि भारत भ्रमण नगर्ने पहिलो राष्ट्रपति हुन् । भारत भ्रमणको सट्टा उनी दिनानुदिन इस्लामवादी बन्दै गएको र भारतसँग चिसो सम्बन्ध भएको रिसेप तैड्ढयप एर्दोगानको टर्की पुगे । त्यसपछि उनी भारतको मुख्य प्रतिद्वन्द्वी चीन गए । 

सामाजिक सञ्जालले पनि कूटनीतिक तनावलाई बढायो । भारतका केही ‘इन्फ्लुएन्सर’ भारतको लक्षद्वीप टापुको पर्यटनको प्रचार गरिरहेका थिए र यसलाई माल्दिभ्सको पर्यटनको बहिष्कारका रूपमा बुझियो । र, जवाफमा माल्दिभ्सका विभिन्न मन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चटके’, ‘आतंककारी’जस्ता संज्ञा दिएर अपमान गरे । यसले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई आक्रोशित बनायो र सामाजिक सञ्जालको द्वन्द्व नियन्त्रणबाहिर गयो । पछि ती मन्त्रीलाई निलम्बन गरियो ।

मुइजुको चीन भ्रमणअघि भारतीय प्रधानमन्त्रीको अपमान कुनै संयोग होइन । वास्तवमा चीन माल्दिभ्सको संरक्षक राज्य बनेर हिन्द महासागर क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । चीन भ्रमणका क्रममा मुइजुले आफ्नो मुलुक चीनको ‘निकटस्थ विकास साझेदार’ रहेको जनाए । भ्रमणका क्रममा मुइजुले व्यापार सम्बन्ध भारततर्फ भारी मात्रामा ढल्किएकाले व्यापार सन्तुलन गर्नेसमेत जनाए । उनले चीन कोभिड–१९ महामारीभन्दा पहिले माल्दिभ्सको सबैभन्दा ठूलो बजार रहेको स्मरण गराउँदै चिनियाँ नीति–निर्मातालाई सो बजार अवस्थालाई ब्युँताउन आग्रह गरे । 

माल्दिभ्सको संरक्षक राज्य बनेर चीनले हिन्द महासागर क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ

चीन र माल्दिभ्सले ‘बृहत् रणनीतिक सहकार्य साझेदारी’सँगै द्विपक्षीय सम्बन्धलाई उकासेका छन् । मुइजुले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा हिस्सा लिएका छन् । यसले चीनलाई माल्दिभ्स र वरिपरिका क्षेत्रमा डिजिटल एवं भौतिक निगरानीको सुविधा दिनेछ । र, पहिल्यैदेखि चिनियाँ अनुसन्धान जहाज जियाङ याङ होङ ०३ माल्दिभ्सको जल क्षेत्रमा विचरण गरिरहेको छ । चीनको ऋणको पासोलाई मध्यनजर गर्दै भारतले माल्दिभ्सको यो रणनीतिक छनोटप्रति सावधान रहन भनेको थियो । तर, भारतको सुझावलाई मुइजुले आफ्नो मुलुकको स्वतन्त्रता दाबी गर्ने अठोटलाई बढाएको देखिन्छ । माल्दिभ्सले अहिले हाइड्रोग्राफिक सर्वेक्षणमा जोडिनबाट इन्कार गरेको छ र माल्दिभ्स, भारत, मौरिसस र श्रीलंकालाई एक ठाउँमा ल्याउने ‘कोलोम्बो सेक्युरिटी कनक्लेभ’लाई पनि बहिष्कार गरेको छ ।  

यसबाहेक मुइजुले माल्दिभ्समा रहेका भारतीय सैन्य दस्ता हटाउने वाचा पनि पूरा गरेका छन् । भारतले अब १५ मार्चभित्र ध्रुव एड्भान्स्ड लाइट हेलिकोप्टर र डोर्नियर विमान सञ्चालनका लागि तैनाथ गरिएका सेना माल्दिभ्सबाट झिक्नुपर्नेछ । यी हेलिकोप्टरबाट टापुमा रहेका बिरामीलाई राजधानी मालेमा रहेका अस्पतालमा पुर्‍याइन्थ्यो । यी हेलिकोप्टरले पाँच सयभन्दा बढी माल्दिभ्सका जनताको ज्यान जोगाएका थिए । माल्दिभ्सका सेनाले डोर्नियर जहाजको प्रयोग गरेर शंकास्पद जहाज, हतियार एवं लागुऔषध तस्करलाई समात्ने गथ्र्यो । भारतले अब सेनाको सट्टा आमप्राविधिकलाई ‘प्राविधिक सहयोग’का लागि पठाउनुपर्नेछ ।   

अब माल्दिभ्सले समुद्री क्षेत्रको निगरानी गर्न डोर्नियरको सट्टा टर्कीको सैन्य ड्रोन प्रयोग गर्नेछ । मुइजुले आफ्नो टर्की भ्रमणमा तीन करोड ७० लाख डलरबराबरको ड्रोन खरिद गर्ने सम्झौता गरेका थिए । एर्दोगानले झैँ मुइजु पनि आफ्नो मुलुकलाई खुलेरै इस्लामवादी दिशातर्फ डोर्‍याइरहेका छन् । माल्दिभ्सका जिहादी इराक र सिरियामा युद्ध लड्न इस्लामिक स्टेटमा भर्ती भएका छन् । माल्दिभ्सले पर्यटकीय रिसोर्टबाहिर क्रिसमस मनाउन प्रतिबन्ध लगायो । यदि माल्दिभ्सले आफ्नो रबैया सुधार्दैन भने भारतको छिमेकी यस्तो चीनपरस्त मुलुक हुनेछ, जसले इस्लामिक उग्रवादलाई बढावा दिनेछ, यसले भारतको रणनीतिक स्वार्थमा धक्का पुर्‍याउनेछ । यस अवस्थामा भारतले चुप लाग्नु ठीक हुँदैन ।  
(थरुर भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad