१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आयोजक बागमतीलाई पन्छाउँदै आर्मी सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३o:oo

नेपाल त्रिभुवन क्लब छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मकवानपुरको बागमती गाउँपालिकामा चलिरहेको प्रतियोगिताको आइतबार भएको अन्तिम क्वार्टरफाइनलमा आर्मीले आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

आर्मीको जितमा जिलेस्पीजंग कार्की, रास बुढामगर, फत्तेमान घले र कमल थापाले एक–एक गोल गरे । आर्मीले कमजोर प्रतिद्वन्द्वी बागमतीविरुद्ध पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको २६औँ मिनेटमा जिलेस्पीले आर्मीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा बागमतीले कडा डिफेन्स रणनीति अपनाएको थियो । जसका कारण आर्मीले थप गोल गर्न सकेन । 

मध्यान्तरपछि आर्मीले खेलमा सुधार गरेको थियो । खेलको ५३औँ मिनेटमा रासले आर्मीलाई २–० को स्थितिमा राखे । खेलको ६३औँ  मिनेटमा फत्तेमानले सहजै डिबक्सबाट गोल गर्दा आर्मी ३–० को बलियो स्थितिमा पुग्यो । खेलको कुनै पनि समयमा बागमतीले आर्मीविरुद्ध चुनौती दिन सकेन । एक पक्षीय दबाब राखेको आमीले खेलको ७५औँ मिनेटमा ४–० को अग्रता लियो । यसपटक आर्मीलाई कमलले गोल गरे । 

बागमतीविरुद्धको खेलमा आर्मीका फत्तेमान म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । अब प्रतियोगिताको सोमबारदेखि सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा मच्छिन्द्र क्लबले न्युरोड टिमको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा आर्मीको भेट एपिएफसँग हुने आयोजकले जनाएको छ । मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । 

ad
ad