Skip This
ब्याजदर बढ्दा बिमा कम्पनीलाई फाइदा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण ५ शनिबार o७:३८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर बढ्दा बिमा कम्पनीलाई फाइदा

३०.५१ प्रतिशतले बढ्यो जीवन र निर्जीवन बिमा कम्पनीको नाफा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार o७:३८:oo

चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा १४ जीवन र १४ निर्जीवन बिमा कम्पनीको नाफा ३०.५१ प्रतिशतले बढेको छ । बिमा कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । 

गत आवको ६ महिनामा यस्ता बिमा कम्पनीहरूले चार अर्ब ६६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालू आवको ६ महिनामा त्योभन्दा एक अर्ब ४२ करोड ४६ लाख बढी अर्थात् ६ अर्ब नौ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । 

समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीहरूको खुद नाफा ४२.६५ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा उनीहरूको खुद नाफा दुई अर्ब १० करोड ९० लाख रुपैयाँ थियो, यसपालि त्यो नाफा तीन अर्ब ८५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा जीवन बिमा कम्पनीको खुद नाफा भने २०.५१ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा उनीहरूले दुई अर्ब ५५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालू आवको ६ महिनामा तीन अर्ब आठ करोड ४१ लाख नाफा कमाएका छन् ।

बिमा कम्पनीहरूको यो नाफा बिमांकीय मूल्यांकनभन्दा अघिको हो । बिमांकीय मूल्यांकन गर्दा कम्पनीको बिमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यसले गर्दा बिमा कम्पनीहरूको नाफा थप बढ्नेछ । 

समीक्षा अवधिमा निर्जीवन व्यवसाय (बिमाशुल्क) ३.१९ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा २० अर्ब आठ करोड रहेको निर्जीवन बिमाशुल्क अहिले १९ अर्ब ४४ करोडमा झरेको छ । यसैगरी, जीवन बिमातर्फ पनि पहिलो व्यवसाय २.५५ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा १४ अर्ब १७ करोड रहेको प्रथम जीवन बिमा शुल्क अहिले १३ अर्ब ८१ करोड ६७ लाखमा सीमित भएको छ । कुल जीवन बिमा व्यवसाय भने ३.५८ प्रतिशतले मात्रै बढेको छ । गत आवको ६ महिनामा ७१ अर्ब ६५ करोड रहेको जीवन बिमाशुल्क अहिले ७४ अर्ब २२ करोडमा पुगेको छ । पहिला–पहिला दोहोरो अंकमा बढ्दै गएको बिमा व्यवसायमा गत आवदेखि भने संकुचन आएको छ । तर, सोही व्यवसाय गर्ने कम्पनीको नाफामा भने उच्च वृद्धि देखिएको हो । 

समीक्षा अवधिमा जीवन बिमातर्फ नेपाल लाइफले सबैभन्दा धेरै नाफा कमाएको छ, उक्त कम्पनीले ४२ करोड ७७ लाख नाफा कमाएको छ । दोस्रो नम्बरमा भने हिमालयन लाइफ रहेको छ, उक्त कम्पनीले ३४ करोड ६० लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सन नेपाल लाइफले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

निर्जीवनतर्फ सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स देखिएको छ, उक्त कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने राष्ट्रिय बिमा कम्पनी छ, उक्त कम्पनीले ४२ करोड ७२ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ३६ करोड नौ लाख नाफा कमाएको छ । 

घाटामा नेसनल इन्स्योरेन्स 
बिमा क्षेत्रको औसत नाफा बढ्दा नेसनल इन्स्योरेन्स भने घाटामा देखिएको छ । समीक्षा अवधिमा यो कम्पनी एक करोड सात लाख ५५ हजार रुपैयाँले घाटामा छ । गत आवको यसै अवधिमा यो कम्पनी १६ करोड ९१ लाख २१ हजार रुपैयाँले नाफामा थियो । यो विदेशी कम्पनी हो । 

कसरी बढ्यो नाफा ?
विशेष गरी बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदा बिमा कम्पनीहरूको नाफा बढेको हो । गत आवमा देखिएको तरलता अभावको अवस्थालाई दृष्टिगत गर्दै बैंकहरूले बढाएको ब्याजदर अझै पनि उच्च नै छ । त्यसकारण बिमा कम्पनीहरूमा ब्याजमार्फत हुने आम्दानी पनि उच्च छ । त्यसैले नाफा बढ्नमा सहयोग पुगेको निर्जीवन बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।  बिमा कम्पनीको आम्दानीको मुख्य स्रोत लगानीबाट आउने प्रतिफल हो । बिमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजीमध्ये ७० प्रतिशतभन्दा बढी पैसा बैंकको मुद्दती निक्षेपमा राख्छन् । त्यो अवस्थामा मुद्दती निक्षेपबापत आउने ब्याज आम्दानी नै बिमा कम्पनीको मुख्य आम्दानीको स्रोत हो । तसर्थ, ब्याजदरमा हुने परिवर्तनले बिमा कम्पनीको नाफा प्रभावित बनाउँछ । यस्तै, मर्जरका कारण कम्पनीहरूको शाखा संख्या, कर्मचारी संख्या घट्दा खर्चसमेत घटेकोले नाफा बढेको हुन सक्ने नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।