ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटरेबल पुल बनेको छ। कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको संयुक्त लगानीमा फावाखोलामा मोटरेबल पक्की पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए।
जिल्ला सदरमुकाम फुङ्लिङ–नाङ्खोल्याङ–थेचम्बु–थुम्बेदिन–कञ्चनजंघा सडकअन्तर्गत फावाखोलामा सो मोटरेबल पुल निर्माण गरिएको हो। प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको कुल चार करोड २९ लाख रुपैयाँको लागतमा वडा नम्बर २ थेचम्बु र वडा नम्बर ५ चाक्सीबोटे जोड्ने गरी फावाखोलामा पुल निर्माण गरिएको उनले बताए।
पुलको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू र गाउँपालिका अध्यक्ष सुब्बाले संयुक्त रूपमा उद्घाटन गरेका छन्। पुलको उद्घाटन गर्दै मन्त्री जबेगूले मोटर गुड्ने पुलको अभावमा यातायात सुविधाबाट वञ्चित जनतालाई राहत मिल्ने विश्वास व्यक्त गरे।
मोटरेबल पुल निर्माणसँगै सडकको पनि स्तरोन्नति आवश्यक देखिएकाले चालू आर्थिक वर्षभित्रै सडक स्तरोन्नति तथा मर्मत–सुधार गर्न कोशी प्रदेश सरकारका तर्फबाट १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने उनको प्रतिबद्धता छ।
लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहेको सो पक्की पुल थेबे जेभी एसएस कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो। २०७९ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी पाथीभरा याङ्वरक गाउँपालिका र निर्माण कम्पनीबीच ०७६ असार १५ मा सम्झौता भएको थियो।