१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ४ शुक्रबार १७:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन्तला र कागती गोड्दागोड्दै सांसद भएको हुँ : राष्ट्रपति

Read Time : > 1 मिनेट
२०८० फाल्गुण ४ शुक्रबार १७:१९:००

राष्ट्रपति रामचन्द्र पौडेलले आफू सुन्तला र कागती गोड्दागोड्दै कोदालो बिसाएर सांसद भएर आएको बताएका छन्। बृहत् काभ्रे कृषि महोत्सव उद्घाटन गर्न काभ्रे आएका राष्ट्रपति  पौडेलले कृषि कर्म गर्दागर्दै राजनीतिमा लागेको बताएका हुन्।

शुक्रबार जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय काभ्रे, पशु सेवा कार्यालय काभ्रे र बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापनमा, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा बृहत् काभ्रे कृषि महोत्सव– २०८० सुरु भएकाे छ। 

‘म सुन्तला र कागती गोड्दागोड्दै कोदालो राखेर सांसद भएको व्यक्ति हुँ। मलाई कृषिको माया लाग्छ। कृषिविना जीवित रहन सकिँदैन,’ राष्ट्रपति पौडेलले कार्यक्रमलाई सम्बाेधन गर्दै भने, ‘सारा जनतालाई पाल्ने कृषक हुन्। किसानलाई ‘स्यालुट’ गर्न म यहाँ आएको हुँ।’ 

आफूले कृषि क्रान्तिको कुरा गर्ने गरेको २५/३० वर्ष भएको, तर त्यसभन्दा अगाडि नै काभ्रेमा कृषि क्रान्ति सुरु भइसकेको उनले बताए। 

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको पनि बताएका छन्। 

उनले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको बताए। 

उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

काभ्रे जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै उनले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेसा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

‘विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र उखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकाडाेजस्ता ‘हाई भ्यालु फ्रुटको विकासमा जोड दिनुपर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्छ,’ राष्ट्रपति पौडेलले भने।  

अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारका लागि यसको उपयोग गरी सम्पूर्ण सूचना देशभरिका कृषकलाई मोबाइलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचो रहेकाे उनको भनाइ छ।

विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने उनले बताए। 

पौडेलले राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरू चार–पाँचवटा बजार आवश्यक भएको बताए। 

६ कृषक लाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ६ जना कृषकलाई सम्मान गरेका छन्। काभ्रेका तीनजना र सिन्धुपाल्चोक जिल्लाका तीनजना कृषकलाई सम्मानपत्र, दोसल्लासहित नगदले सम्मान गरेका हुन्। 

सम्मानित हुनेहरूमा काभ्रे जिल्लाबाट आलु र आलु बिउ उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै पनौती– ३ का राजेन्द्र थापा, उत्कृष्ट आलु र तरकारी खेती गरेको भन्दै पाँचखाल– १२ का बद्रीप्रसाद ढुंगाना  र उत्कृष्ट पशुपालन गरेको भन्दै बेथानचोक–१  का रुपेश पाख्रिनलाई सम्मान गरेका हुन्। 

सिन्धुपाल्चोकबाट उत्कृष्ट ट्राउट माछापालन गरेबापत हेलम्बु गाउँपालिका– ४ का दीपककुमार लामिछाने, उत्कृष्ट पशुपालन घाँसखेती गरेबापत मेलम्ची नगरपालिका–११ का राजकुमार ढकाल र उत्कृष्ट बाख्रापालन तथा घाँसखेती गरेबापत भोटेकोशी गाउँपालिका– १ विनोद प्रधानलाई सम्मान गरेका हुन्।