१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेवानिको न्यारोबडी सात महिनामा पाँच महिना ग्राउन्डेड

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१९:oo
  •  इन्जिन फेर्न भनेर इजरायल पठाएको३२ दिनसम्म पनि फर्किएन एकेएक्स
  •  ६५ दिनसम्ममा मर्मत गर्ने भनेर दिइएको इन्जिन आइएआईले१४९ दिनसम्म पनि बनाइदिएन
  •  चालू आवमै ३१ असारदेखि ११ असोजसम्म ७५ दिन र पछिल्लोपटक १३ मंसिरमा ग्राउन्डेड भएको पनि ७६ दिन पुग्यो  

नेपाल वायुसेवा निगम (नेवानि)को भद्रगोल व्यवस्थापनका कारण एउटा न्यारोबडी जहाज सात महिनाको अवधिमा पाँच महिनाभन्दा बढी ग्राउन्डेड भएको छ । निगमको ९एन–एकेएक्स कलसाइन नम्बरको एयरबस–३२० जहाज एकपछि अर्को इन्जिनमा समस्या आउँदा ३१ असारदेखि १ फागुनसम्म दुई सय १२ दिनमा पटक–पटक गरी एक सय ५२ दिन ग्राउन्डेड भएको हो । एकेएक्स पछिल्लो पटक १३ मंसिरमा ग्राउन्डेड भएको पनि ७७ दिन पुगिसकेको छ । यसअघि यही जहाज दायाँ पखेटाको इन्जिनमा समस्या देखिएर ३१ असारदेखि ११ असोजसम्म ७५ दिनसम्म ग्राउन्डेड गरिएको थियो ।

अहिले बायाँ पखेटाको इन्जिनमा समस्या देखिएर बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै जहाज ग्राउन्डेड अवस्थामा छ । सो जहाज कहिलेबाट नियमित उडानमा फर्किन्छ भन्नेमा निगम नेतृत्व नै अनभिज्ञ छ । इन्जिन फेर्न भन्दै २६ पुसमा इजरायल पठाएको जहाज ३३ दिनदेखि उतै थन्किएको छ । यही जहाज अघिल्लोपटक बिग्रँदा ३१ भदौमा दायाँ पखेटाको इन्जिन मर्मत गर्नलाई इजराइलमै छाडिएको थियो । सोही समयमा इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)ले उपलब्ध गराएको भाडाको इन्जिन जडान गरेर जहाज नियमित उडानमा फर्किएको थियो । 

पछिल्लोपटक बायाँ इन्जिनमा पनि समस्या आएपछि एकेएक्सका दुवै पखेटामा रहेका इन्जिनको मर्मत भइरहेका छन् । सीमित जहाज भएको नेवानिले व्यस्त सिजनमा यात्रु बोक्नुपर्ने जहाजलाई एक सय ५१ दिनसम्म पार्किङ गरेर राख्दा करिब दुई अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुँदा दैनिक करिब एक करोड १५ लाख रुपैयाँ आम्दानी गुम्ने निगमको वित्तीय विवरणले देखाउँछ । 

निगम व्यवस्थापनले १२ जुन २०२३ मा सार्वजनिक टेन्डर आह्वान गरेर लिजसहित इन्जिन मर्मत गर्न भन्दै चार वर्षसम्मका लागि आइएआईलाई मेन्टेनेन्स, रिपेयर, ओभरहल (एमआरओ) नियुक्त गरेको छ । ३१ भदौमा छाडेको इन्जिन पाँच महिना बित्दा पनि सो कम्पनीले अझै मर्मत गरिदिएको छैन । 

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल भन्छन्–इजरायली कम्पनीले इन्जिन मर्मत गर्दै छौँ भन्छ, तर कहिलेसम्म मर्मत सकिन्छ, जानकारी गराएको छैन । इन्जिन फेरेर फर्किहाल्ने भनेर जहाज इजरायल पठाइएको हो, तर अहिलेसम्म पनि मर्मत भएको छैन, न भाडामै इन्जिन पाइएको छ ।

 ३२ दिनदेखि इजरायलमा अलपत्र
निगमले जहाज ग्राउन्डेड भएको जानकारी गराएको सात दिनभित्र एमआरओ कम्पनी ‘आइएआई’ले भाडामा इन्जिन उपलब्ध गराउने र ६५ दिनसम्म इन्जिन मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, जहाज ग्राउन्डेड भएको ७७ दिनसम्म पनि आइएआईले न भाडामा इन्जिन दिएको छ, न इन्जिन मर्मत गरिदिएको छ । ३१ भदौमा मर्मत गर्न दिएको इन्जिन पाँच महिनासम्म पनि मर्मत भएको छैन । इजरायली कम्पनीले इन्जिन मर्मतमा विभिन्न समस्या देखाएर आलटाल गर्दै आइरहेको निगम स्रोतले बतायो । 

नेपालमा ग्राउन्डेड हुँदा चौतर्फी दबाब र आलोचना भएपछि इजरायलमा बनाउन दिएको इन्जिन मर्मत नहुँदै निगम व्यवस्थापनले आलोचनाबाट जोगिन इन्जिन फेर्न भन्दै जहाज इजरायल पठाएको छ । २६ पुसमा इजरायल पठाएको जहाज कहिले फर्किन्छ ? निगम व्यवस्थापनलाई नै जानकारी छैन । आइएआईले न निगमको इन्जिन मर्मत गरिदिएको छ, न भाडाको इन्जिन नै उपलब्ध गराएको छ । इजरायली कम्पनीले भाडामा इन्जिन नपाउँदा उपलब्ध गराउन नसकेको भन्दै पन्छिँदै आइरहेको छ । 

‘कम्पनीले इन्जिन मर्मत गर्दै छौँ भन्छ, तर कहिलेसम्म मर्मत सकिन्छ, जानकारी गराएको छैन,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘इन्जिन फेरेर फर्किहाल्ने भनेर जहाज इजरायल पठाइएको हो, तर अहिलेसम्म पनि मर्मत भएको छैन, न भाडामै इन्जिन पाइएको छ ।’ 

अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी छन् । वाइडबडी जहाज जापान, कोरिया, अस्ट्रेलिया, युरोपजस्ता लामो दूरी गन्तव्यमा उडान गर्ने भनेर खरिद गरिएको हो । दुईवटा न्यारोबडीमध्ये एउटा जहाज महिनौँदेखि ग्राउन्डेड हुँदा निगमले न्यारोबडी उडाउने गन्तव्यमा पनि वाइडबडी जहाज उडाउनुपर्ने बाध्यता छ । 
निगम स्रोतका अनुसार आइएआईले जहाजको इन्जिन मार्च नलागेसम्म नबन्ने जानकारी पहिल्यै गराइसकेको थियो । तर, जहाज विमानस्थलको ह्यांगरमा पार्किङ गरेर राख्दा नेतृत्वको तीव्र आलोचना भएपछि इन्जिन फेर्न भन्दै हतार–हतार जहाज इजरायल पठाएको स्रोतको दाबी छ ।  

 यसअघि सात महिना झुलाइयो
२८ डिसेम्बर २०२१ मा कतारको दोहामा ग्राउन्डेड भएको जहाजको बायाँ इन्जिन मर्मत गर्न आइएआईले करिब सात महिना लगाएको थियो । सम्झौता कार्यान्वयन नगर्ने कम्पनीलाई निगम नेतृत्वले ‘ब्ल्याक लिस्टेड’ गर्नुपर्ने थियो । तर, यसै वर्ष उल्टै इन्जिन लिजसहित मर्मतका लागि चार वर्षसम्म एमआरओ नियुक्त गरेर पुरस्कृत गरेको छ । जहाजको इन्जिन मर्मत गर्न र भाडामा लिनका लागि एउटै कम्पनीलाई एमआरओ नियुक्त गर्न नहुने सार्वजनिक खरिद ऐनमा व्यवस्था रहेको स्रोतको भनाइ छ । 

ad
ad