१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताविनै सञ्चालनमा’

Read Time : > 2 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कुल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८.२३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१.८ प्रतिशत प्रतिष्ठान दर्ताविनै सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्यांक देखाएको हो। सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताविनै सञ्चालन भइरहेको देखिएको छ।

त्यस्तै, कोशी प्रदेशका ३८.५, कर्णालीका ३३.८, सुदूरपश्चिमका २८.८, लुम्बिनीका २६.९, गण्डकीका २५.१ र बागमतीका २४.७ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताविनै सञ्चालन भइरहेका छन्।

थोक व्यापार गर्ने ६.४२, खुद्रा व्यापार गर्ने ३३.३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२.५४ प्रतिशत संस्था दर्ताविनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ।

सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार ६ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार ६ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन्। दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४.२ प्रतिशत पुरुष र २५.८ प्रतिशत महिलाको नाममा छन्।

व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२.९ प्रतिशत रहेका छन्। त्यस्तै, लुम्बिनी प्रदेशका १६.४, कोशीका १६.८, मधेशका १४.३, गण्डकीका ९.५, सुदूरपश्चिमका ५.९ र कर्णालीका ४.२ प्रतिशत रहेका छन्। व्यापारमा जोडिएका कुल व्यक्तिको संख्यामध्ये खुद्रा व्यापारमा मात्र ८८.६५ प्रतिशत व्यक्ति आबद्ध रहेका सर्वेक्षणबाट देखिएको छ।

व्यापार–व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ। सर्वेक्षणले यस क्षेत्रमा तलब, ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब, ज्याला र अन्य सुविधा नलिई परिवारका सदस्य नै काममा संलग्न रहेका व्यक्तिको संख्या बढी रहेको देखिएको छ। यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब, ज्याला र अन्य सुविधा पाउने कामदारको संख्या दुई लाख १९ हजार पाँच सय ५१ छ। जसमा महिला ४५ हजार नौजना अर्थात् २०.५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ जना आर्थत् ६०.६० प्रतिशत छन्।

तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब, ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक रु. ६ लाख चार हजार नौ सय १२ खर्च हुने गरेको देखिएको छ। त्यस्तै, प्रतिकामदार औसत वार्षिक रु. दुई लाख आठ हजार चार सय ९४ खर्च देखिन्छ।

होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन तथा मर्मतसम्भार व्यापार गरी तीनवटा क्षेत्रमा विभाजन गरी अध्ययन गरिएको छ। जसमा सबैभन्दा धेरै मुनाफा (मार्जिन) सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ। यस क्षेत्रमा २४.०२ प्रतिशत मार्जिन देखिएको छ। त्यस्तै, होलसेल व्यापारमा १३.०१ र खुद्रा व्यापारमा १८.२८ प्रतिशत मार्जिन रहने गरेको देखिएको छ। समग्रमा व्यापारमा १८.५३ प्रतिशत मार्जिन रहेको सर्वेक्षणले देखाएको छ।

व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च जम्मा रु. एक खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च रु. दुई लाख ६४ हजार देखिएको छ । यस सर्वेक्षणको प्रमुख उद्देश्य विभिन्न वस्तुहरूको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर (ट्रेड मार्जिन) अनुमान र व्यापारिक प्रतिष्ठानको रोजगारी, तलब र ज्याला, पुँजी निर्माण आदि तथ्यांक आकलन गर्नु रहेको कार्यालयले जनाएको छ।

यो सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रियस्तरको सर्वेक्षण हो। सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिक रूपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको छ। कुल १५ हजार दुई ९९ व्यापारिक प्रतिष्ठानबाट लिइएको तथ्यांक र सर्वेक्षणका आधारमा यो अध्ययनको नतिजा निकालिएको कार्यालयले जनाएको छ।

ad
ad