१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सहिद स्मृति मकवानपुर गोल्डकप : एपिएफसँग थ्री स्टारको फराकिलो हार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:४२:oo

नेपाल एपिएफ फुटबल क्लबले छैटौेँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । 

प्रतियोगिताको मंंगलबार अन्तिम क्वार्टरफाइनलमा थ्री स्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । गत शनिबार थ्री स्टार २३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको थियो । 

आहा रारा गोल्डकपको उपाधि विजेता आर्मी र उपविजेता थ्री स्टार मकवानपुर फुटबल प्रतियोगिताको आ–आफ्ना पहिलो खेलबाट बाहिरिएका छन् । आहा राराको विजेता त्रिभुवन आर्मी सोमबार धनकुटाको राजारानी क्लबसँग सडन डेथमा पराजित भएको थियो । 

हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालामा भएको एकपक्षीय खेलमा एपिएफका लागि विदेशी खेलाडी एनिसेन्ट, सर्ज संग, अनिष महर्जन र प्रदीप लामाले समान एक गोल गरेका थिए । 

एपिएफले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्यो । खेलको ४४औँ मिनेटसम्म थ्री स्टार र एपिएफबीच गोलरहित खेल चलिरहेको थियो । खेलको ४५औँ मिनेटमा एपिएफले १–० को अग्रता लियो । 

एनिसेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै एपिएफलाई अग्रता दिलाए । थ्री स्टारका डिफेन्डर जीवन गुरुङले प्रदीपलाई फल गरेपछि एपिएफले डिबक्स अगाडि फ्रिकिक पाएको थियो । 

पहिलो हाफको तुलनामा दोस्रोमा थ्री स्टारको खेल बिग्रियो । खेलाडीहरू थकित देखिन्थे । एपिएफले थ्री स्टारको एकपछि अर्को गल्तीको फाइदा लिँदै मध्यान्तरपछि सहजै तीन गोल थप्यो । 

खेलको ५८औँ मिनेटमा प्रदीपले २–० का लागि गोल गरे । प्रदीपको प्रहार थ्री स्टारका गोलरक्षक अभिषेक बरालको हातमा लाग्दै गोल भएको थियो ।
खेलको ७७औँ मिनेटमा विदेशी खेलाडी सर्जसँगले एपिएफको अग्रता ४–० पुर्याए । 

एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीहरूले आफ्नो रणनीतिअनुसार नै खेल्दा परिणाम सुखद आएको प्रतिक्रिया दिएका छन् । थ्री स्टारका प्रशिक्षक विक्रम लामाले राम्रो खेल्दाखेल्दै पनि पराजित भएको बताए । 

प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । प्रतियोगिताको बुधबार पहिलो सेमिफाइनलमा न्युरोड टिमले राजारानी क्लबको सामना गर्नेछ । बिहीबार सर्लाहीको बागमती र एपिएफ क्लबबीच खेल हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ad
ad