१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार, मूल्यवृद्धि वाञ्छित सीमाभित्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:३३:oo

चालू आर्थिक वर्ष ०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन्। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको सुरुवाती ६ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो।
     
गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर रु. सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो। 

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या दुई लाख सात हजार नौ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार चार सय ३५ छ।
     
यो अवधिसम्ममा शोधनान्तर स्थिति रु. दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ। कुल विदेशी विनिमय सञ्चिति रु. १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। सरकारको खर्च रु. पाँच पाँच खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु. चार खर्ब ९६ अर्ब ५० करोड रहेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ। 

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ ले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम भएको छ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। 

गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो। चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने सरकारको लक्ष्य छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत छ।

राष्ट्र बैंकका अनुसार पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकांकमा समेत क्रमशः कमी आइरहेको देखिएको छ। 

‘वार्षिक विन्दुगत आधारमा ०८० पुस महिनामा आयात मूल्य सूचकांक, तलब तथा ज्यालादर र थोक मूल्य सूचकांकको वृद्धिदरमा समेत कमी आएको छ। फलस्वरूप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रूपमा कम दबाब पर्न गएको छ,’ राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनेको छ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ। मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने ३५.६० प्रतिशतले बढेको छ। 

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ। मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ।

गत पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत छ। यो अवधिमा तराईको मूल्यवृद्धि ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ६.५७ प्रतिशत छ।

चालू आर्थिक वर्षको पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो । गत पुसमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.१६ प्रतिशत, मध्यवर्ती वस्तुको १.९९ प्रतिशत र पुँजीगत वस्तु २.७१ प्रतिशत छ। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ।

यो अवधिमा आयात ३.१, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ। 
 

ad
ad