१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नकुहिने फोहाेर वर्गीकरण गरेर बिक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३६:oo

धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहाेर संकलन हुँदै आएको छ। संकलित कुहिने फोेहाेरबाट मल तथा बायोग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहाेर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो।

झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहाेर संकलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ। 

नगरले बजार क्षेत्रका नौवटा वडाबाट संकलन गरिएको फोहाेर सूक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरेको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए।धनगढी– २ मा एक बिघा जग्गा वार्षिक रु. ८८ हजार आठ सय ८८ मा भाडामा लिएर सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरिएको उनले जानकारी दिए।  

सो वर्गीकरण केन्द्रमा रु. १९ लाखका उपकरण तथा संरचना निर्माण गर्नुका साथै रु. सात लाखको घेरबारसमेत गरिएको जनाइएको छ। अवस्थीका अनुसार उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुईजना प्राविधिकसहित १२ जनाले गत वैशाखदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएका छन्। 

केन्द्रले रु. १३ लाख ५१ हजारमा नकुहिने फोहाेर बिक्रीका लागि तयार गरी बोलपत्र आह्वान गरिसकेको उनले जानकारी दिए। उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले पहिलोपटक फोहाेर बिक्रीबाट रु. १३ लाख ५१ हजार आम्दानी हुने बताए। उनका अनुसार वर्गीकृत फोहाेरलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढेको छ। 

विगतका वर्षमा उपमहानगरले बजार क्षेत्रबाट संकलन भएको फोहाेर नदी किनार तथा जंगल क्षेत्रमा थुपार्दै आएकामा पहिलोपटक सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएर आम्दानी गर्ने भएको हो। उक्त आम्दानीबाट केन्द्रका कर्मचारी, विद्युत् शुल्क, फोहाेर संकलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको व्यवस्थापन गर्ने उपमहानगरपालिकाको योजना छ।

ad
ad