बागमती प्रदेश सभाको छैटौँ वर्ष पूरा : दोस्रो कार्यकाल कानुन निर्माणमा सुस्त, संसदीय समितिले अझै पूर्णता पाएन

बिहिबार, १८ माघ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश सभाको छैटौँ वर्ष पूरा हुँदै गर्दा प्रदेश सभाको दोस्रो कार्यकालले पनि एक वर्ष पूरा गरेको छ । तर, प्रदेश सभा भने संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा निकै सुस्त देखिएको छ । यसैगरी, प्रदेश सभाको संसदीय समितिले अझै नेतृत्व पाउन सकेको छैन ।

गत वर्षको १४ पुसमा शपथ लिएर १८ पुसमा पहिलो बैठक बसेका प्रदेश सभा सदस्यहरूले अहिलेसम्म दुईवटा अधिवेशनमा ५६ वटा बैठक बसी जम्मा सातवटा विधेयक पास गरेका छन् । यस अवधिमा बसेको बैठकबाट दुईवटा  विधेयक र अन्य पाँचवटा विधेयकहरू पारित भएका हुन् । जसमा दुईवटा संशोधन विधेयक र तीनवटा मूल विधेयकसमेत छन् ।
 
प्रदेश सभाको दोस्रो कार्यकालका लागि गत ४ मंसिरमा निर्वाचित भएर आएका सांसदहरूले यस अवधिमा सञ्चालन भएका हिउँदे र बर्खे गरी दुईवटा अधिवेशनबाट जम्मा सातवटा विधेयक पास गरेका हुन् । प्रदेश सभाले पहिलो हिउँदे अधिवेशनबाट चार र बर्खे अधिवेशनबाट तीनवटा विधेयक पास गरेको हो ।

यस अवधिमा प्रदेश सभाबाट पारित भएर प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइएको एउटा विधेयक भने प्रदेश प्रमुखबाट पुनर्विचारका लागि फिर्ता भयो । चिट्ठासम्बन्धी विधेयक प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुनर्विचार गर्नुपर्ने भन्दै प्रदेश सभामै फिर्ता पठाएका थिए । जुन संसद् सचिवालयमा अहिले पनि विचाराधीन अवस्थामा छ ।

गत २३ असोज राति १२ बजेबाट प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिएको थियो । तर, अहिलेसम्म हिउँदे अधिवेशन आह्वान हुन सकेको छैन । बर्खे अधिवेशन अन्त्य भएको एक सय १४ दिन बितिसकेको छ । सरकारले पर्याप्त बिजनेस दिन नसक्नु र सत्तापक्ष र प्रतिपक्षबीचको खिचातानीले प्रदेश सभाको बैठक आह्वान हुन नसकेको प्रदेश सभाका सदस्यहरूको बुझाइ छ । 

यस्तै, गत २३ असोजमा संसद् स्थगित भएयता समितिका बैठकहरूसमेत नियमित बस्न सकेका छैनन् । त्यसअघि प्रदेश सभाले समितिहरूमा पठाएका पाँचवटा विधेयक संसदीय समितिमा छलफलका लागि पठाएको थियो । जसमध्ये दुईवटा विधेयकमाथि छलफल भएर प्रतिवेदनसहित सदनबाट पारित भइसकेको छ भने तीनवटा विधेयक संसदीय समितिमै छलफलकै क्रममा छन् ।

प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संसोधन गर्न विधेयक, २०८० समितिमा नै रोकिएका छन् । यस्तै, प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने संसदमा दर्ता भएर रोकिएको छ ।
 

समितिको नेतृत्व छलफलमै सीमित, दलहरूको आ–आफ्नै अडान
यता बागमती प्रदेश सभा गठन भएको एक वर्ष पुग्दासमेत प्रदेश सभाअन्तर्गतका समितिहरू अझै नेतृत्वविहीन छन् । सरकारको नीति तथा कार्यक्रम बजेटलगायतका कामको अध्ययन, अनुगमन र निगरानी गरी आवश्यक सुझाव दिने अधिकार र दायित्व संसदीय समितिहरूसँग छ । तर, प्रदेश सभामा रहेका पाँचवटा समितिले आकार पाए पनि नेतृत्व पाउन सकेका छैनन् ।

२० असारमा गठन भएका संसदीय समितिहरू ज्येष्ठ सदस्यको नेतृत्वमा चलिरहेका छन् । संसदीय समितिको नेतृत्वको विषयमा दलहरूबीच भागबन्डा मिल्न नसक्दा समितिहरू नेतृत्वविहीन भएका हुन् । सरकारमा रहेका माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीचमा पनि समितिको नेतृत्वलाई लिएर सहमति हुन सकेको छैन । 
पाँचवटा समिति रहेको प्रदेश सभामा सबैको आ–आफ्नै दाबी छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले पाँचवटा समितिमध्ये दुईवटा कांग्रेस, एक–एकवटा माओवादी, एकीकृत समाजवादी र प्रतिपक्षी दल एमालेलाई दिने सामान्य सहमति भएको दाबी गरेका छन् । तर, उनको दाबीअनुसार पनि अहिलेसम्म समितिले भने पूर्णता पाउन सकेको छैन ।

संसदीय समितिले नेतृत्व नपाएको लामो समय भयो । समितिको नेतृत्वमा सहमति खोज्ने प्रयास भइरहेको छ । कांग्रेसले दुई र माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेले एक–एकवटा समितिको नेतृत्व पाउने गरी तयारी भएको उनकाे भनाइ छ ।

सचेतक लम्सालले १७ मंसिरमा बसेको सर्वदलीय बैठकले संसदीय समितिको नेतृत्व टुंग्याउन नसके पनि पछिल्लो समय दलहरूबीच चलिरहेको आन्तरिक छलफलबाट सहमतिनजिक पुगेको दाबी गरे । यता प्रमुख प्रतिक्षी दल एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसदीय समितिहरूको नेतृत्वको विषयमा कुनै सहमति नभएको बताए । उनले १७ मंसिरमा बसेको सर्वदलीय बैठकमा सामान्य छलफल भए पनि थप कुरा नभएको बताए ।

नेता थपलियाले प्रतिपक्षीको दबाबपछि प्रदेश सभामा समिति गठन भए पनि नेतृत्व चयन हुन नसक्दा समितिको भूमिका प्रभावकारी हुन नसकेका बताए । सत्तापक्ष जिम्मेवार नबन्दा प्रदेश सभा संसद् र संसदीय समितिहरू प्रभावहीन भएको नेता थपालियाको आरोप छ ।
प्रदेश सभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् । समितिहरूले नेतृत्व नपाउँदा न त समितिहरूको नियमित बैठकनै बस्न सकेको छ ।  न त समितिहरूले सरकारलाई आवश्यक ठाउँमा सुझाव नै दिन सकेका छन् ।
 

सुझावित समाचार