१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
खगराज भट्ट/मानबहादुर धामी
२o८१ जेठ २ बुधबार ११:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन माओवादी प्रदेश कमिटीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२७:oo

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको सुदूरपश्चिम संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन दिएको छ।

प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवको अध्यक्षतामा धनगढीमा बसेको उपलब्ध पदाधिकारी बैठकले दलको नेता फेर्ने निर्णय पार्टीको विधि र परम्पराविपरीत रहेको ठहर गर्दै त्यसलाई सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो।

माओवादीका असन्तुष्ट बहुमत प्रदेश सभा सदस्यले पार्टीको प्रदेश सहइन्चार्जसमेत रहेका खगराज भट्टलाई गत शुक्रबार दलको नेताबाट हटाएर मानबहादुर धामीलाई दलको नेता चयन गरेका थिए।

केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको दलको नेता फेर्ने निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा रहनुका साथै यो निर्णय पार्टीका हजारौँ कार्यकर्ताको मनोभावनाविपरीत रहेको प्रदेश कमिटीले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ।

माओवादी प्रदेश कमिटीका सचिव जनकबहादुर बुढाले प्रदेश पदाधिकारी बैठकका निर्णयलाई संसदीय दल र जिल्ला इन्चार्ज तथा संयोजकलाई परिपत्र गरिएको जानकारी दिए। दलको नेता र सरकारमा रहेका मन्त्री फेरबदल गर्ने विषय संसदीय दलको मात्र सरोकारको विषय नरहेकाले पार्टी प्रदेश कमिटीले निर्देशन गर्नुपरेको उनले बताए।

‘दलको नेता कसलाई बनाउने, सरकारमा कसलाई पठाउने भन्ने संसदीय दलको मात्र सरोकारको विषय होइन। यस्ता विषयमा पार्टीले आवश्यक निर्देशन दिनसक्ने विधानमै व्यवस्था छ,’ उनले भने, ‘जे भएको छ बेठीक भएको छ। अहिले दलको नेता परिवर्तन गर्नुहुँदैन भन्ने पार्टी प्रदेशको स्पष्ट धारणा हो।’

पार्टी केन्द्रीय नेतृत्वको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता फेर्न निर्णय भएको उनले बताए । सिनियर नेताले दलको नेतृत्व गर्ने पार्टी नीतिअनुसार नै पार्टी अध्यक्षसमेतको निर्देशनमा खगराज भट्टलाई दलको नेता बनाइएको सचिव बुढाले बताए।

‘केन्द्रको निर्देशनअनुसार खगराज भट्ट दलको नेता बन्नुभएको हो । मन्त्री बनाउने विषय केन्द्रकै निर्देशनअनुसार भएका हुन्। अहिले पनि पार्टी नेतृत्वबाट सरकार सञ्चालनदेखि असन्तुष्टिका वियष मेरै उपस्थितिमा म टुग्याउँछु, बैठकहरू नगर्नोस् भन्ने प्रस्ट निर्देशन हुँदाहुँदै पनि त्यो लत्याइएको छ। संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर अविलम्ब समाधानका लागि केन्द्रीय कार्यालयको उपस्थितिमा छलफल गर्नसमेत पार्टी नेतृत्वलाई आग्रह गर्ने निर्णय माओवादी प्रदेश पदाधिकारी बैठकले गरेको छ,’ उनले भने।

पार्टी प्रदेश कमिटीका उपाध्यक्षसमेत रहेका दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा गत शुक्रबार बसेको माओवादीका असन्तुष्ट बहुमत प्रदेश सभा सदस्यको बैठकले भट्टलाई दलको नेताबाट हटाएर धामीलाई चयन गरेको थियो । प्रदेश सभामा माओवादीका सभामुखबाहेक १० सदस्यमध्ये ६ जनाको उक्त बैठकमा सहभागी थिए।

दलका नेताले संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउन नसकेको असन्तुष्ट सांसदको आरोप छ । संसदीय दलको भूमिका प्रभावकारी हुन नसकेको र माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले समेत प्रभावकारी काम गर्न नसकेको भन्दै सभामुखसहित माओवादीका सात सांसदले गत पुसमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए। मन्त्री फिर्ता बोलाउनुपर्ने उनीहरूको माग थियो।

यो निर्णयसँगै माओवादी सुदूरपश्चिममा लामो समयदेखि रहेको आन्तरिक विवाद छताछुल्ल बनेको छ। नेता, कार्यकर्ताहरू सार्वजनिक रूपमै दुई कित्तामा विभाजित भएका छन्। 

 


 

ad
ad