१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
देश/विदेश
२o८१ बैशाख १९ बुधबार o९:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लालसागर संकट र बिआरआईको महत्व

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o९:oo

शनिबारका दिन प्रतिष्ठित अमेरिकी पत्रिका ‘फरेन पोलिसी’मा ‘चीन समयभन्दा अगाडि छ र यसलाई लालसागर संकटले प्रमाणित गर्छ’ नामक शीर्षकमा लेख छापिएको थियो । सो लेखमा भनिएको छ, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कुनै भयावह षड्यन्त्र थिएन । यो अनिश्चितता र अवरोधको युगमा हरेक राष्ट्रलाई आवश्यक पर्ने एक खाका थियो ।’ यो लेख एक अमेरिकी विद्वान्ले लेखेका हुन् । यसले वर्तमान विश्वव्यापी अवस्था र चीनसँगको सम्बन्धप्रति अमेरिका र पश्चिमा मुलुकका केहीले आत्म–प्रतिबिम्ब गरेको संकेत गर्छ । लालसागर क्षेत्रमा द्वन्द्वका कारण एसिया र युरोपबीच मालवाहक जहाजको ढुवानी मूल्य दोब्बर भएको छ । यो अवस्थामा लेख आउनु एकदमै सोचनीय छ ।

बेल्ट एन्ड रोड इनिसिएटिभप्रति अमेरिका र पश्चिमा राष्ट्रको समग्र दृष्टिकोण मित्रवत् छैन र चीनलाई नियन्त्रण गर्ने अमेरिकी रणनीति अघि बढ्दै गर्दा यो दृष्टिकोण झन् बिग्रिँदै गएको छ । यस्तो माहोलमा फोरेन पोलिसी पत्रिकाका लागि वस्तुनिष्ठता र तर्कसंगततालाई आत्मसात् गर्ने बिआरआईको महत्वलाई चिन्ने र पुष्टि गर्ने लेख प्रकाशित हुनु दुर्लभ घटना हो र यो सहज छैन । उसो त यसले अमेरिका र पश्चिमा जनमतमा परिवर्तन भएको भन्ने तथ्यको प्रतिनिधित्व गर्न सक्दैन, तर यसले कम्तीमा बिआरआई साझेदारीको तथ्य र सत्यलाई पूर्ण रूपमा लुकाउन र विकृत गर्न सकिँदैन भन्ने संकेत गर्छ ।

फोरेन पोलिसीको लेखको दृष्टिकोण एकदमै स्पष्ट छ, अर्थात् बिआरआई साझेदारी कुनै भयावह षड्यन्त्र नभई अनिश्चितता र अवरोधको युगमा हरेक राष्ट्रलाई आवश्यक पर्ने एक खाका हो । लालसागर संकटलाई उदाहरणका रूपमा लिँदै सो लेखले एउटा विशेष चुनौतीलाई औँल्याउँछ । गम्भीर अविश्वास र अप्रत्याशित संकटले ग्रस्त विश्वमा विश्वव्यापी सार्वजनिक हितमा अर्थपूर्ण सामूहिक कार्य गर्नका लागि एउटा स्पष्ट मार्ग छ । त्यो मार्ग भनेको माग पूरा गर्न आपूर्तिका लागि थप मार्गको निर्माण गर्नु नै हो । र, बिआरआईले ठ्याक्कै यही गरिरहेको छ । चीन एक यस्तो देश हो, जसले वर्षौंदेखि मार्ग निर्माण गर्नुपर्छ भन्ने थाहा पाएको छ र यसमा काम गरेको छ भन्ने लेखमा उल्लेख छ ।

बिआरआई साझेदारी कुनै भयावह षड्यन्त्र नभई अनिश्चितता र अवरोधको युगमा हरेक राष्ट्रलाई आवश्यक पर्ने एक खाका हो

संयोगवश, अमेरिकी पत्रिका द डिप्लोमेटले हालै एउटा लेख प्रकाशित गरेको छ । यसले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र पश्चिमी देशको पूर्वाधार सहायता कार्यक्रमबीच साझेदारीको सम्भावनालाई विचार गरेको छ । स्पष्ट प्रतिस्पर्धी हुनुको सट्टा बिआरआई र पश्चिमा पहल एक–अर्काका पूरक हुन सक्छन् । लेखले ‘पहलले प्रस्तावक र आयोजक देशको हितमा दिइएको प्रस्तावको सकारात्मक नतिजालाई कसरी लाभान्वित गर्न सक्छ’ र ‘आर्थिक पहलको विशुद्ध प्रतिस्पर्धात्मक ढाँचा सफल हुने सम्भावना छैन’ भनेर औँल्याएको छ ।

शब्द सूक्ष्म छन् तर यसले व्यक्त गर्न चाहेको कुरा स्पष्ट छ, अर्थात् विश्वव्यापी पूर्वाधार सम्पर्कका मामिलामा द्वन्द्वात्मक सोच वा रबैया सम्भव छैन । यी दुई लेखले स्पष्ट वास्तविकतालाई सीधा अवलोकन र स्वीकार गर्छन्, अर्थात् कुनै पनि थपघट वा पक्षपातपूर्ण व्याख्याविना दुवै लेखले परिप्रेक्ष्य प्रस्तुत गरेका छन् । हामी आशा गर्छौं कि यी दुवै लेखले पश्चिमा संसारमा सकारात्मक प्रभाव पार्न सकून् । 

उथलपुथलपूर्ण अन्तर्राष्ट्रिय अवस्था, दोहोरिइरहने क्षेत्रीय संकट र विश्वले सामना गरिरहेका विभिन्न विश्वव्यापी समस्याबीच हामी छौँ । बेल्ट एन्ड रोड इनिसिएटिभले एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकाबीचको कनेक्टिभिटी र सहकारी विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यसले उल्लिखित समस्याको आधारभूत समाधान प्रदान गर्छ । यसविपरीत, अमेरिका र उसका सहयोगी विश्वलाई सैन्य, कूटनीतिक र आर्थिक क्षेत्रमा विभाजित गर्न, टकरावलाई प्रोत्साहन गर्न र निरन्तर संकट सिर्जना गर्न केन्द्रित छन् । चीन र पश्चिमा विश्वले विश्वव्यापी संकटलाई फरक–फरक दृष्टिकोणले हेर्छन्, प्रत्येकका फरक लक्ष्य र स्पष्ट रूपमा फरक परिणाम छन् । लालसागर संकटबाहेकका अन्य धेरै उदाहरणमा पनि यो भिन्नता चित्रित हुने गर्छन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभले सम्पर्क सञ्चारको सामथ्र्य देखाएको छ । यसले विभिन्न देशका लागि थप विकासका अवसर सिर्जना गर्दै र जोखिमविरुद्ध व्यावहारिक कवचको काम गरिरहेको छ । धेरैभन्दा धेरै मानिसले बिआरआईको मूल्य र विश्वव्यापी महत्व महसुस गरिरहेका छन् । विश्वव्यापी शासन प्रणालीले संरचनागत झट्का सामना गरिरहँदा बिआरआई सतहमा आयो र सबैभन्दा महत्वपूर्ण विश्वव्यापी सार्वजनिक वस्तुमध्ये एक बन्यो । अमेरिकाको वर्तमान उदासीनता र युरोपको शक्तिहीन अडानलाई ध्यानमा राख्दै गर्दा चीनले यस्तो महत्वपूर्ण सार्वजनिक उत्पादन प्रस्ताव गर्नमा अग्रणी भूमिका निर्वाह गर्नु ऐतिहासिक रूपमा अपरिहार्य छ ।

बेल्ट एन्ड रोड इनिसिएटिभलाई कमजोर पार्ने प्रयास गर्ने केही व्यक्तिले जित र हारमा मात्रै केन्द्रित जिरो–सम गेम (एकको हारमा अर्काको जित) मानसिकता अपनाइरहेका छन् । यी व्यक्ति केही पश्चिमी देशमा जनमत र राजनीतिक अभियानलाई प्रभाव पार्ने काममा संलग्न छन् । फरेन पोलिसीको लेखले यी व्यक्तिका प्रभावित पार्ने कामले विश्व र विश्वव्यापी हितलाई कमजोर बनाउँदै छ भन्ने स्पष्ट पारेको छ । पश्चिमा सम्भ्रान्तसहित अन्य मानिसको बढ्दो संख्याले बिस्तारै बिआरआईको महत्व बुझ्नेछन् । सम्पर्कको माध्यमबाट साझा विकासलाई सहकार्य गरेर मात्रै हामीले विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छौँ । विश्व शान्ति र समृद्धि कायम राख्न यो दृष्टिकोण आवश्यक छ ।

(ग्लोबल टाइम्सको २२ जनवरीको सम्पादकीय) 

ad
ad