१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंकहरूको नाफा ९.९४ प्रतिशतले खुम्चियो

चार वाणिज्य बैंकले मात्रै नाफा बढाए, कर्जाको माग नहुँदा बैंकहरूको नाफा प्रभावित, नौ बैंकको निष्क्रिय कर्जाको अनुपात ४ प्रतिशतभन्दा माथि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४४:oo

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा खस्किएको छ । २० वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा २८ अर्ब ७६ करोड कायम भएको छ । गत वर्ष यही अवधिमा २२ बैंकहरूको कुल खुद नाफा ३३ अर्ब ७५ करोड थियो ।

जुन नाफाको तथ्यलाई आधार लिने हो भने खुद नाफा १५ प्रतिशतले घटेको देखिन्छ । यद्यपि, अहिले वाणिज्य बैंकहरू एक–आपसमा गाभिएर २० मा सीमित भएका छन् । हाल कायम वाणिज्य बैंकहरूको नाफालाई समायोजन गरी बैंकहरूले तयार पारेको तथ्यांकअनुसार गत आवको पहिलो ६ महिनाको तुलनामा ९.९४ प्रतिशतले खुद नाफा घटेको हो । गत आवको पुससम्ममा २० वाणिज्य बैंकहरूको खुद नाफा ३१ अर्ब ९४ करोड हुन आउँछ । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समय कर्जाको माग बढ्न नसक्दा नाफा संकुचित भएकाले समग्र बैंकहरूको सूचकमा प्रभाव परेको बताए । उनले भने, ‘पछिल्लो समय बिजनेस बढ्न नसकेको अवस्थामा बैंकको नाफा पनि बढ्न नसक्नु स्वाभाविक छ । कर्जाको वृद्धि हुन सकेको छैन । ८० प्रतिशतको कर्जा निक्षेपको सीमाभित्र बसेका छौँ । यस्तो समयमा पनि हामी बैंकले नाफा कमाउन सकिरहेका छौँ । नाफामा संकुचन आउँदा प्रतिसेयर आम्दानीमा गिरावट आइरहेकै छ ।’

नेपाल राष्ट्र बैंकका अनुसार २ माघसम्म बैंकहरूमा निक्षेप संकलन ५४ खर्ब १८ अर्ब र कर्जा प्रवाह ४४ खर्ब ८४ अर्ब पुगेको छ । कर्जा निक्षेपको अनुपात ८०.३९ प्रतिशत कायम छ । स्थानीय तहको सञ्चित कोषको मौज्दात रकममध्ये ६० प्रतिशत बैंकहरूले निक्षेपका रूपमा गणना गर्न पाउने व्यवस्था छ । बैंकहरूले कर्जा विस्तार गर्न नसकिरहेको समयमा सरकारले यस्तो रकम बैंकहरूलाई कर्जा लगानीका रूपमा प्रयोग गर्न छुट दिइरहेकै छ । समग्रमा बैंकहरूको नाफा संकुचित देखिए पनि चार बैंकहरूको नाफा वृद्धि भएको छ । कृषि विकास बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र प्राइम कमर्सियल बैंकको खुद नाफामा वृद्धि भएको छ । गत आवको पुससम्ममा नोक्सानी व्यहोरेको कृषि विकास बैंकले सुधार गरेर चालू आवमा एक अर्ब ३५ करोडको खुद नाफा आर्जन गरेको छ । 

कुल कर्जामा निष्क्रिय कर्जाको अनुपातमा समेत सुधार आएपछि यो बैंकको नाफामा सुधार भएको देखिन्छ । पोहोर ४.५२ प्रतिशत कायम यस्तो अनुपात घटेर ३.०२ प्रतिशत पुगेको छ । त्यस्तै, एभरेष्ट बैंकको खुद नाफा बढेर एक अर्ब ७१ करोड पुगेको छ । तर, यो बैंकको निष्क्रिय कर्जाको अनुपातमा भने वृद्धि भएको छ । पोहोर ०.५५ प्रतिशत कायम रहेको यस्तो अनुपात बढेर ०.७७ प्रतिशत पुगेको छ । हिमालयन बैंकको खुद नाफा बढेर एक अर्ब ५० करोड पुगेको छ ।

यो बैंकको पनि निष्क्रिय कर्जाको अनुपात बढेर ४.९५ प्रतिशत पुगेको छ । प्राइम बैंकको खुद नाफा एक अर्ब ६५ करोडबाट बढेर दुई अर्ब १८ करोड पुगेको छ । यद्यपि, निष्क्रिय कर्जाको अनुपात दोब्बरले बढेर ४.०७ प्रतिशत कायम छ । तर, सबैभन्दा बढी नबिल बैंकले तीन अर्ब २० करोड कमाएको छ । दोस्रोमा प्राइम कमर्सियल, तेस्रोमा ग्लोबल आइएमई र चौथोमा राष्ट्रिय वाणिज्य बैंक छन् । सबैभन्दा कम नाफा गर्नेमा नेपाल बैंकको ५९ करोड मात्रै छ । 

 निष्क्रिय कर्जाको अनुपात बढ्यो
कुल कर्जामा निष्क्रिय कर्जाको औसत अनुपात पोहोर पुससम्म २.२९ प्रतिशत कायम रहेकोमा चालू आवमा बढेर ३.३९ प्रतिशत पुगेको छ । आर्थिक गतिविधि शिथिल बनेर व्यावसायिक गतिविधि बढ्न नसक्दा बैंकहरूको कर्जा असुलीसमेत प्रभावित छ । जसले यस्तो अनुपात बढ्दै गइरहेको छ । निष्क्रिय कर्जाको अनुपात बढ्दा बैंकहरूको नाफामा समेत असर परेको हो । 

२० मध्ये नौ बैंकहरूको निष्क्रिय कर्जाको अनुपात ४ प्रतिशतभन्दा माथि छ । कुमारी, हिमालयन र प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात झन्डै ५ प्रतिशतकै आसपास छ । नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी सन्राइज, नेपाल बैंक, सिटिजन्स इन्टरनेसनल र प्राइम बैंकको यस्तो अनुपात ४ प्रतिशतमाथि छ । 

पहिलो त्रैमासभन्दा सुधार छ
सुनील केसी, अध्यक्ष, नेपाल बैंकर्स संघ

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकभन्दा दोस्रो त्रैमासिकको वित्तीय विवरणमा केही सुधार देखिन्छ । पहिलो त्रैमासको भन्दा १५ अर्ब २९ करोडले खुद नाफामा वृद्धि भएको छ । पछिल्लो समय बिजनेस बढ्न नसकेको अवस्थामा बैंकको नाफा पनि बढ्न नसक्नु स्वाभाविक छ । कर्जाको वृद्धिदर हुन सकेको छैन । 

ad
ad