
निजगढ–काठमाडौं द्रुतमार्गमा कार्यरत एकजना चिनियाँ नागरिकद्वारा स्थानीय किशोरीमाथि हातपात गरेपछि विवाद भएको छ।
मकवानपुरको बकैया गाउँपालिका– १२ भट्टेपाखामा रहेको चाइनिज क्याम्पमा खाना बनाउने मकवानपुरगढी गाउँपालिका वडा नम्बर– १ की १८ वर्षीया किशोरीलाई चिनियाँ नागरिकले हातपात गरेको भन्दै विवाद भएको हो।
चिनियाँ नागरिक ५१ वर्षीय थान काई युनले हातपात गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। मंगलबार साँझ युनले किशोरीमाथि हातपात गरेपछि स्थानीयले युनलाई समेत कुटपिट गरेका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार युनले हातपात गरेकी किशोरी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएकी छिन्। यता स्थानीयको कुटपिटबाट घाइते भएका चिनियाँ नागरिक युनको भने हेटौँडामा रहेका अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको निगरानीमा उपचार भइरहेका चिनियाँ नागरिक र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।