नेपालका राजावादीले शाहवंशीय राजामध्ये पृथ्वीनारायण शाहलाई सबैभन्दा महान् मान्छन् । अन्य राजालाई श्री ५ महाराजाधिराज मात्र भने पनि पृथ्वीनारायणलाई चाहिँ श्री ५ बडामहाराजाधिराज भनेर सम्बोधन गर्छन् । यसको मुख्य कारणचाहिँ उनले गरेको भनिएको नेपालको कथित राष्ट्रिय एकीकरण नै हो । यस्तो एकीकरण उनीपछि कसैले गरेनन् ।
केही एकीकरण वा नेपाललाई विस्तार गर्ने वा बढाउने कार्य बहादुर शाह र राम शाहले गरे । तर, तिनले पनि पृथ्वीनारायणले जति गरेनन् । तिनले गरेको यस कार्यलाई नेपालमा निर्दलीय तानाशाही निरंकुश पञ्चायती व्यवस्थाले नेपालको एकीकरण र तिनलाई एकीकरणकर्ता मान्थ्यो भने सो व्यवस्थालाई ढालेर स्थापना गरिएको बहुदलीय व्यवस्थाले पनि त्यस्तै मान्थ्यो । उनी जन्मेको दिन २७ पुसलाई पञ्चायती व्यवस्थामा त ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस’का रूपमा मनाइन्थ्यो । कस्तो विडम्बना ! अहिले पनि मानिन्छ र यहाँसम्म कि नेपालका खुंखार क्रान्तिकारी र कम्युनिस्टले पनि उनका कार्यलाई ‘एकीकरण’ र उनलाई ‘एकीकरणकर्ता’ मान्छन् । यस सानो लेखमा सोही एकीकरणबारे फरक कोणबाट चर्चा गरिनेछ ।
पृथ्वीनारायण गोरखाका राजा नरभूपाल शाह र कौशल्यावतीदेवी शाहका कोखबाट वि.सं. १७७९ साल पुस २७ गते गोरखा दरबारमा जन्मेका थिए । उनी सानै उमेरदेखि तीक्ष्ण बुद्धिका थिए । उनी बुबाको मृत्युपछि २० वर्षकै उमेरमा राजा बने । उनका चारवटी पत्नी थिए र तिनबाट ६ छोरा तथा छोरी जन्मेका थिए । .उनको ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघ १ गते निधन भयो । उनले नेपाललाई ‘चार जात ३६ वर्णको फूलबारी’ (उनले नै भनेका हुन् वा इतिहासकारहरूले लेखेका हुन्, थाहा छैन । यो भनाइ ज–जसले भने पनि वास्तवमा गलत छ, किनकि हिन्दू धर्मअनुसार ३६ वर्ण हुँदैन, चार वर्ण मात्र हुन्छन्– ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । बरु जातचाहिँ ३६ हुन सक्छ) घोषणा गरेका थिए र ‘असली हिन्दूूस्थान’ बनाउने वाचा गरेका थिए । पृथ्वीनारायण शूरवीर, दूरदर्शी र अत्यन्त महत्वाकांक्षी राजा थिए । उनी गोरखाको सानो राज्यलाई बढाउन र आफू ठूलो राज्यको राजा बन्न चाहन्थे । त्यसैले त्यसपछि सुरु भयो, उनको इच्छालाई पूरा गर्ने सिलसिला र राज्यविस्तारको अभियान ।
राज्य विस्तारका क्रममा संसारभरका राजाले जे गर्थे, पृथ्वीनारायणले पनि त्यही गरेका हुनाले उनका त्यस्ता विस्तारवादी कार्यलाई पनि ‘एकीकरण’को जामा पहिर्याइएको विषयमा सहमत हुन सकिन्न
यसका लागि उनलाई विभिन्न राज्यसँग लडाइँ लड्नुपर्ने हुन्थ्यो । त्यसैले, उनले लडाइँको अनन्त सिलसिला सुरु गरे । यस क्रममा उनले कतिपय राज्यसँग त सीधासीधै लडाइँ लडे र आफ्नो फौजी शक्ति, पराक्रम र योजनामा ती लडाइँ जिते पनि । र, जितेका सबै राज्यलाई आफ्नो राज्यमा गाभे, जुन एकदमै स्वाभाविक पनि थियो । तर, अन्य धेरै लडाइँ भने त्यसरी जितेनन् । अनेकाैँ षड्यन्त्र, छलकपट, तिकडम र चालबाजीमार्फत जिते ।
कीर्तिपुरको लडाइँमा जितेपछि त्यहाँका सैनिक र जनताको १८ धार्नी नाक–कान काटेको कुख्यात घटना इतिहासमै उल्लेख छ । कतिपय राजासँग भने कुनै निश्चित दिन, समय र ठाउँमा तिनीहरूसँग हातहतियारविनै भेट्ने कार्यक्रम मिलाउँथे, तर सो स्थानमा आफ्ना तर्फबाट भने अघिल्लै दिनमा लगेर हतियार लुकाउँथे । भोलिपल्ट जब ती राजा सहमतिअनुसार इमानदारीपूर्वक विनाहातहतियार आउँथे, उनी भटाभट ती लुकाइएका हतियार निकालेर राजा र तिनका सेनालाई छप्काउँथे अनि तिनलाई हराएर तिनको राज्यलाई आफ्नो राज्यमा गाभ्थे । यी कुरा स्वयं लेखक र इतिहासकारले लेखेका छन् ।
पृथ्वीनारायणले आफ्नो शासनकालमा जे–जति राज्य जे–जसरी जिते पनि यो स्पष्टतः राज्यविस्तार हो, एकीकरण होइन । हुन त आजभन्दा तीन सय वर्षअगाडिको युग सामन्ती युग थियो । जतिवेला विश्वभर राजारानी र रजौटा मात्र हुन्थे । त्यतिवेला राष्ट्रपति प्रणाली थिएन, झन् समाजवादी तथा साम्यवादी व्यवस्था त छँदै थिएन । ती राजा–रजौटाको काम नै लडाइँ लड्ने, जित्ने राजाले हार्ने राजाको राज्यलाई आफ्नो राज्यमा मिलाउने र राज्य–विस्तार गर्ने, आफ्ना प्रजाको हेरविचार गर्ने आदि मात्र हुन्थ्यो । यस अर्थमा पृथ्वीनारायणले गरेका कार्यलाई अस्वाभाविक मान्न सकिन्न ।
राज्य विस्तारका क्रममा संसारभरका राजाहरूले जे गर्थे, उनले पनि त्यही गरेका हुन् । त्यसैले, उनका त्यस्ता विस्तारवादी कार्यलाई पनि ‘एकीकरण’को जामा पहिर्याइएको विषयमा सहमत हुन सकिन्न । एकीकरणका लागि त एकीकरण गर्न चाहने पक्षबीच वार्ता भई आपसी सहमति र समझदारी हुनुपर्छ । एकीकरण स्वेच्छाले गरिन्छ । तर प्रस्ट छ– पृथ्वीनारायणले बिलकुल त्यसो गरेका होइनन् ।
अर्को कुरोे के छ भने पृथ्वीनारायणले जितेका धेरै राज्य नेपालका आदिवासी÷जनजातिका थिए र तिनका राज्यलाई मिलाएर नै उनले बृहत् नेपाल बनाएका हुन् । उनले तिनका स्वतन्त्र राज्यलाई आफ्नो राज्यमा गाभेर समाप्त पारे भने तिनका धर्म, भाषा, संस्कृति, इतिहास सबैलाई ध्वस्त बनाए । यसप्रकार नेपालका आदिवासी/जनजातिले न केवल राज्य गुमाए, बल्कि आफ्ना भाषा, संस्कृति, इतिहास, धर्म सबै गुमाए र अर्कै देशका प्रजा बन्न पुगे । त्यसैले, तिनका लागि यो एकीकरण हुनै सक्दैन । पृथ्वीनारायणले त राज्यविस्तार गरे, सानो गोरखा राज्यलाई ठूलो बनाए, नेपाल बनाए, सानो देशको राजाबाट ठूलो देशका राजा भए । तर, आदिवासी÷जनजातिले के पाए ? तिनको त सर्वस्व गुम्यो ! स्मरणीय छ– पृथ्वीनारायणका पुर्खा द्रव्य शाहले लमजुङका गंगाराम राना मगरको सहयोगमा गोरखाको माझकोटका राजा जयसिंह खड्का मगर र लिगलिगका राजा दलसुर घले मगरलाई छलकपटपूर्ण तरिकाले मारेर गोरखा राज्य कब्जा गरेका थिए । त्यसैले, नेपालका आदिवासी/जनजातिले पृथ्वीनारायणको राज्यविस्तारलाई एकीकरण मान्न कदापि सक्दैनन् र हुँदैन पनि ।
यस सन्दर्भमा धेरैले ध्यान नदिएको तर अत्यन्त महत्वपूर्ण पक्ष के छ भने पृथ्वीनारायणका फौजमा सैनिकहरू मुख्यतः आदिवासी/जनजाति नै थिए र उनका षड्यन्त्र, छलकपट एवं जालझेललाई व्यवहारमा र कार्यस्थलमा लागू गर्ने क्रममा तिनीहरू नै प्रयोग हुन्थे, भए । साथै, उनले आफ्नो राज्यविस्तारका क्रममा पश्चिमका मगर, गुरुङ, आदिवासी/जनजातिलाई नै पूर्वका राई, लिम्बूविरुद्ध प्रयोग गरे । यसरी पृथ्वीनारायणले आदिवासी/जनजातिलाई नै एक–आपसमा लडाए । त्यसैले पृथ्वीनारायणले गरेका कार्यको आंशिक जस–अपजस उनलाई साथ दिने आदिवासी/जनजातिले पनि अनाहकमा बोक्नुपर्ने देखिन्छ । कतिपय मान्छेको तर्क छ– पृथ्वीनारायणले त्यति वेला विश्वलाई नै उपनिवेश बनाउँदै अघि बढेको बेलायती साम्राज्यवादबाट तत्कालीन स्वतन्त्र र सार्वभौम बाइसे–चौबीसे राज्यलाई बचाए ।
उनले आफ्नो राज्यमा नमिलाएको भए तिनमा अंग्रेजले कब्जा जमाउने थिए र त्यहाँका जनतालाई गुलाम बनाउने थिए । यो वाहियात तर्क हो, किनकि कुनै चिजलाई अरूले खाइदेला भनेर आफैँले खाइदिनु अनुचित हुन्छ । अंग्रेजहरूले तिनलाई उपनिवेश बनाउँथे नै भन्ने के ग्यारन्टी ? अंग्रेजले तिनीहरूमाथि आक्रमण नै गर्ने थिएनन् कि वा तिनले अंग्रेजसँग लडेर जित्थे र आफ्नो स्वतन्त्र एवं सार्वभौम अस्तित्वलाई बचाइराख्थे कि ? के पृथ्वीनारायण शाहले ती राज्यको सुरक्षाको ठेक्का लिएका थिए र ? अर्को कुरो, ती स्वतन्त्र र सार्वभौम बाइसे–चौबीसे राज्य, जसलाई पृथ्वीनारायणले जितेर आफ्नो राज्यमा मिलाए, तिनलाई अंग्रेज वा पृथ्वीनारायण, जसले जिते पनि उही मतलब हो, स्वतन्त्रता र आफ्नो अस्तित्व अन्त्य हुनु । लडाइँपछि पो ती विजित राज्य सबै चाहेर वा नचाहेर गोरखा राज्य भए र सबै बलजफ्ती गोरखा राज्यका जनता भए, तर लडाइँअघि ती विजित राज्य र तिनका जनताको कोणबाट त गोरखा, भारत वा अंग्रेज, सबै विदेशी नै थिए नि ! त्यसैले, पृथ्वीनारायणले तिनलाई जितेर तिनको कल्याण गरेका होइनन् ।
अझ झन् नेपालका कम्युनिस्टहरूले पृथ्वीनारायणलाई मान्नु र उनले गरेको राज्यविस्तारलाई एकीकरण ठान्नु त विडम्बनापूर्ण र खेदजनक नै हुन्छ । सैद्धान्तिक एवं राजनीतिक दृष्टिले यो गलत नै हुन्छ, किनकि कम्युनिस्टहरू सिद्धान्ततः गणतन्त्रवादी नै हुन्छन् । जब कि पृथ्वीनारायण सामन्तवादका नाइके राजा भएको स्पष्ट छ । त्यसैले पृथ्वीनारायण हुन् वा कुनै पनि राजा, कम्युनिस्टले तिनलाई समर्थन गर्न सक्दैनन् र गर्न हुँदैन पनि । हुन त कतिपय राजाले केही राम्रा काम पनि गर्न सक्छन् । जस्तै– राजा महेन्द्रले अरनिको (कोदारी) राजमार्ग र पूर्व–पश्चिम राजमार्ग निर्माण गरेका थिए ।
महेन्द्रको सो कार्य निःसन्देह राम्रो हो, किनकि ती राजमार्गबाट जनतालाई धेरै सुविधा हुनुका साथै देशकै आर्थिक विकासमा पनि त्यसले ठूलो योगदान दिएको थियो । तर, त्यसको अर्थ कम्युनिस्टले पनि राजा महेन्द्रलाई समर्थन एवं जयजयकार गर्नुपर्छ भन्ने होइन र गर्नु हुँदैन पनि । कम्युनिस्टहरू राजाबाट गरिएका त्यस्ता कार्यबारे मौन बस्छन् वा बढीमा त्यस्ता कार्यलाई प्रशंसा गर्छन्, तर उसलाई महान्, प्रख्यात भनेर महिमामण्डित गर्नतिरचाहिँ कदापि लाग्दैनन् । पृथ्वीनारायणको ऐतिहासिक भौतिकवादी मूल्यांकन गर्ने बहानामा कम्युनिस्टमा देखा परेको यो चिन्तनगत त्रुटि र विचलन हो ।
आजभन्दा तीन सय वर्षअघि सामन्ती युगमा राजा पृथ्वीनारायणले जे गरे, ती त्यतिवेला आमराजा–महाराजाले गर्ने कार्य नै हुन्, तिनलाई अस्वाभाविक मान्न सकिन्न । साथै, ती कार्यलाई अहिले आएर न त रोक्न सकिन्छ, न त सच्याउन नै । त्यस्ता कामबारे सही धारणा बनाई तिनको सही र वैज्ञानिक मूल्यांकन गर्न सकिन्छ । त्यति वेला गरिएका गलत कार्यलाई पनि सही ठह¥याउने र महिमामण्डित गर्ने र ती कार्यप्रति गर्व गर्ने धृष्टताचाहिँ बिल्कुलै गर्न हुँदैन । लेखक वि.सं. २०६३ सालमा स्पेन भ्रमणमा गएका वेला राजधानी म्याड्रिडमा त्यहाँका केही बुद्धिजीवी र राजनीतिज्ञसँग भएको छलफलमा स्पेनले विगतमा पेरु, चिलीलगायत देशलाई उपनिवेश बनाएको प्रसंग उठाउँदा उनीहरूले यस्तै तटस्थ प्रकारको जवाफ दिएका थिए, ‘त्यति वेला जे भयो, त्यसबारे अहिले केही गर्न सकिन्न । तर, इतिहास नदोहोरियोस् भन्नेतर्फ भने सतर्क रहनुपर्छ ।’
अन्त्यमा, यसरी हेर्दा के तथ्य छर्लंग हुन्छ भने पृथ्वीनारायणले गरेका कार्य राज्यविस्तार नै हुन्, ती कार्यले गोरखा राज्यको विस्तार भएकै हो, विजित राज्यलाई गोरखा राज्यमा गाभिएका कारण बृहत् राज्य नेपालको निर्माण भएकै हो । तर, नेपालको एकीकरण भएको होइन । बलजफ्ती भौगोलिक एकीकरण भयो, तर जनता, तिनका भावना र मनोभावनाको एकीकरण भएको होइन र अझै पनि वास्तवमा हुनसकेको छैन । किनकि, मजदुर, किसानलगायत आदिवासी/जनजाति, महिला, मधेसी, दलित, मुस्लिम समुदायका जनता अझै पनि अन्याय, अत्याचार, शोषण, दमन, असमानता, विभेद र बहिष्करण झेलिरहेकै छन् । सत्य यही हो । त्यसैले पृथ्वीनारायणले नेपालको एकीकरण गरे र उनी नेपालका एकीकरणकर्ता हुन् भन्ने बुझाइ गलत र निराधार हो । बरु इतिहासको पांग्रालाई पछाडि फर्काउन नसकिने भएकाले विगतमा जे भयो, त्यसलाई वस्तुवादी मूल्यांकन गर्दै अब समानताका आधारमा नेपालको सही, वैज्ञानिक र सर्वस्वीकार्य एकीकरण गरिनुपर्छ । यही नै सबैका लागि हितकर हुनेछ ।