Skip This
परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेसन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २ मंगलबार १४:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेसन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार १४:३४:oo

मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपन्डाेलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे ।

ल्याबमार्फत नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकहरूको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्‍याईकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइडले आर्थिक सहयोग गरेको हो ।

यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए ।

ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान् जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे ।

‘यो ठुलो कुराजस्तो नदेखिएला,’ उनले भने, ‘तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्त्वपूर्ण सुरुवात गरेको छ ।’
अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए ।

‘हामी अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुको विशिष्टीकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौँ,’ उनले भने ।

मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्नेसमेत घोषणा गरे ।
२०१६ सालमा स्थापित अस्पतालले हाल झन्डै पाँच सय शय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवाअन्तर्गत  निःसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा सुरु गरेको निर्देशक श्री अधिकारीले बताए ।  

पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले बताए ।

बर्थिङ सेन्टरको क्षमता वृद्धि

अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा आठजनाको क्षमता रहेकामा अब थप चारजनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ ।

दुई मिडवाइफ अधिकृत थपिएपछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसूति सेवामा सरकारी विशिष्टीकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सकेजति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ ।