१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्रिकेटका पूर्वकप्तान सन्दीपलाई आठ वर्ष कैद

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट तीन लाख जरिवानासहित पीडितलाई पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१४:oo

सन्दीपका कानुन व्यवसायी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा आठ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले ०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै उनलाई १३ पुसमै दोषी ठहर गरेकोमा बुधबार सजाय सुनाएको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायका साथै सन्दीपबाट तीन लाख जरिवानासहित पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । बलात्कार मुद्दामा पीडित १८ वर्ष उमेरमाथिको भएको अवस्थामा सातदेखि १० वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । 

प्रहरीले बालिका भएको दाबी गरी सरकारी वकिलमार्फत अभियोजन गरेकोमा अदालतले पीडितलाई बालिका मान्न अस्वीकार गर्दै घटनाका बखत १८ वर्ष पुगिसकेको ठहर गरेकाले मागभन्दा कम सजाय भएको हो । पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई लामिछानेले करणी गरेकाले त्यसलाई सहमतिको करणी मान्न नमिल्ने निष्कर्ष इजलासको थियो । 

यसैलाई न्यायाधीश ढकालले सजाय निर्धारणका लागि पनि आधार मानेका छन् । ‘...पीडित परिवर्तित नाम गौशाला २६(छ) (१) ०७९/८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३)(ङ) बमोजिम आठ वर्ष कैद र दफा २१९(३क)(ग) बमोजिम  ३,००,००० रुपैयाँ जरिवाना हुने,’ सजाय निर्धारण आदेशमा भनिएको छ । 

त्यस्तै, अदालतले पीडितलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । ‘पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३,००,००० रुपैयाँ र थप २,००,००० रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६(छ)  (१)०७९/८० लाई भराइदिने ठहर्छ,’ आदेशमा उल्लेख छ । 

महानगरीय प्रहरी वृत्त गौशालामा २१ भदौमा लामिछानेले बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको थियो । ५ भदौ ०७९ मा आफू भेट्न जाँदा नगरकोट लगेको र फर्केर काठमाडौं आउँदा एउटै कोठामा बसेको र राति जबर्जस्ती करणी गरेको दाबी पीडितको थियो । 

पीडितका दाइले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो भने सरकारी वकिलको कार्यालयले १४ कात्तिक ०७९ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । खेलकै क्रममा विदेश रहेका लामिछाने लामो समय लुकेर त्यतै बसेका थिए । पछि नेपाल फर्किँदा उनी २० असोजमा एयरपोर्टबाटै पक्राउ परेका थिए । 

जिल्ला अदालतमा थुनछेक बहसका क्रममा थुनामा पठाउने आदेश भए पनि उच्च र सर्वोच्चको आदेशबाट लामिछाने धरौटी तिरेर रिहा भएका थिए । त्यतिवेला उनी प्रहरी हिरासत र जेल गरी एक सय दिन थुनामा बसेका थिए । 

जिल्ला अदालतले फैसला गर्दै पीडितलाई लिई लामिछाने नगरकोटस्थित रिसोर्ट गएको देखिएको तथा काठमाडौं फर्की एउटै कोठामा बसेको र करणी भएको पुष्टि गरेको थियो । सिसिटिभी फुटेज तथा घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रमसमेतलाई ध्यान दिइएको इजलासको ठहर छ । 

आठ वर्ष कैद सजाय भए पनि लामिछाने यसअघि धरौटीमा छुटेकाले तत्काल जेल भने बस्नुपर्ने छैन । १० वर्षभन्दा कम सजाय हुने मुद्दाका अभियुक्त थुनाबाहिरै बसेर उच्चमा पुनरावेदन गर्न पाउने सुविधा कानुनमा छ । यद्यपि, त्यसका लागि अदालतले अनुमति भने दिनुपर्ने हुन्छ । सन्दीपका कानुन व्यवसायीले जिल्ला अदालतको आदेशविरुद्ध उच्च जाने बताएका छन् । 
 

ad
ad