Skip This
सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २३ सोमबार
  • Friday, 26 July, 2024
२o८o पौष २३ सोमबार १७:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १७:o५:oo

सप्तरीको रूपनगरस्थित नन्दराज संग्रौला क्याम्पसपरिसरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ।

अमेरिकाको टेक्सासनिवासी विजयराज भट्टराईको सहयोगमा सर्वोदय फाउन्डेसन नेपालमार्फत पुस्तकालय स्थापना हुन लागेको हो।

क्याम्पस सप्तरीको कन्चनपुर नगरपालिका– १२ मा रहेको छ। सर्वोदय फाउन्डेसनमार्फत रूपनगरमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि भट्टराईले करिब १३ लाख रुपैयाँ सहयोग गर्न लागेको क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिए।

प्रवासमा नेपालीको पहिचानका लागि नेपाली भाषा, साहित्य र संस्कृतिमा काम गर्न ‘ग्लोबल नेपाली पाठशाला’ स्थापना भएको थियो। क्याम्पस प्रमुख गजुरेलका अनुसार अमेरिकामा रहेको पाठशालाको प्रिन्सिपलको जिम्मेवारी लिइसकेका भट्टराईले टेक्सासका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउन्डेसन नेपाल’मार्फत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका छन्।

‘हामीलाई फाउन्डेनका तर्फबाट पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग आउँदै छ। रूपनगर सर्वोदय पुस्तकालयका रूपमा यो रहनेछ र पुस्तकालय सुरुमा दैनिक तीन घण्टा जति खुला रहनेछ,’ गजुरेलले भने।

सो पुस्तकालय सप्तरी जिल्लाकै एउटा नमुना ज्ञान केन्द्रका रूपमा रहने अपेक्षा गरिएको छ। ‘अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि स्रोतको अभाव रहेको सप्तरी जिल्लाको उत्तर पूर्वी यस भेगमा एउटा गहकिलो सार्वजनिक पुस्तकालय स्थापना हुनु आफैँमा महत्त्वपूर्ण विषय हो,’ स्थानीय सञ्चारकर्मी उत्तम आचार्यले भने।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको भनाइमा पुस्तकालयमा भौतिक पुस्तकका साथै केही हजार इ–पुस्तकसमेत राखिनेछ। ‘विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गहकिलो स्रोत केन्द्र बन्ने अपेक्षा छ। पुस्तकालयमा पत्रपत्रिका, कम्प्युटर र इन्टरनेटसमेतको सुविधा उपलब्ध हुनेछ,’ उनले भने, ‘पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीको यो भेगकै लागि गौरव हुनेछ।’

प्रयोगकर्ताका लागि पुस्तकालयमा सदस्यता प्रणाली लागू गरी पुस्तक घर लगेर पढ्न पाउने व्यवस्थासमेत हुनेछ। तर, सदस्य नबनेकाले पनि पुस्तकालय प्रयोग गर्न पाउनेछन्।

क्याम्पस सञ्चालक समिति सदस्य हेमप्रसाद अधिकारीका अनुसार पुस्तकालयका लागि फर्निचर निर्माणदेखि पुस्तक संकलन कार्य भइरहेको छ। पुस्तकालय २०८१ वैशाख १ गते उद्घाटन हुने अधिकारीले जानकारी दिए।