दुईदिने नेपाल भ्रमणका लागि आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर स्वदेश फर्किएका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार काठमाडौं आएका थिए ।
नेपाल बसाइका क्रममा उनी बिहीबार महत्वपूर्ण बैठकमा सहभागी भएका थिए भने बिहीबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग जयशंकरले बेग्लाबेग्लै भेट गरेका थिए ।
उनको नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीच दीर्घकालीन महत्वको विद्युत् व्यापार सम्झौता भएको छ । सम्झौताअनुसार भारतले १० वर्षमा कम्तीमा १० हजार मेगावाट बिजुली किन्नेछ । भारतसँगको सम्झौताले नेपाली बिजुलीको बजार सुनिश्चित गर्ने मात्रै नभएर लगानीको विश्वासिलो आधारसमेत तयार गरेको छ
आयोगको सातौँ बैठकमा दुई देशबीच आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति, सुरक्षा सहकार्य, हवाई उड्डयन र राजनीतिक विषयका क्षेत्रसम्बन्धी एजेन्डामा महत्वपूर्ण छलफल भएको थियो ।