१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा सत्तापक्ष–प्रतिपक्षको गठबन्धन अलोकतान्त्रिक चरित्र : महर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२८:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुःखद भएको बताएका छन्। काठमाडौंमा भ्रातृ संस्थाका नेताहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा सिटको भाग खोज्नु र सत्तागठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दु:खद भएको बताए।

बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा मिलेर जान प्रस्ताव राखेको सुनाएका थिए। प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै कुर्सी प्राप्तिका लागि मुलुकमा प्रमुख प्रतिपक्षी नै नरहने अवस्था सिर्जना हुन खोजेको भन्दै महरले चिन्ता व्यक्त गरेका छन्।

महरले अहिले नेताहरूमा दोधारे चरित्र देखिन खोजेको आरोप लगाए। ‘विकास, समृद्धि र सुशासनका लागि नेताहरू एक ठाउँमा आउनु स्वागतयोग्य कुरा हो। तर, विकास र समृद्धिमा सधैँ नेताहरूमा मतभेद पाइन्छ। कुर्सी र सत्ता प्राप्तिका लागि भने जस्तोसुकै सम्झौता गर्न राजनीतिक दल पछि हट्दैनन्। यो लोकतन्त्रका लागि लज्जाको विषय हो। जनभावनाविपरीतको विषय हो। अझभन्दा यो दुराशययुक्त विषय हो,’ महरले भने।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेताहरूको चर्को आलोचना भइरहेको हो। चुनावमा गठबन्धन गरेर जाने सत्तरूढ दलले निर्णय गरेपछि एमाले नेताहरूको अस्वाभाविक दौडधुप बढ्नु र सत्तागठबन्धनका नेताहरूले पनि अनावश्यक छलफल गर्नु लोकतन्त्रको मर्मविपरीत भएको महरले बताए।

‘एमालेको प्रस्तावमा सत्तागठबन्धनले अनावश्यक छलफललाई सघन बनाउनुको कारण के होला ? आरामदायी बहुमत रहेको गठबन्धन लोकतन्त्रको मर्मअनुरूप चल्नुपर्छ,’ महर भन्छन्। फागुन २१ गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुनेछ। एक सिटमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन्। सत्तागठबन्धन एक रहेसम्म एमालेले अहिले रिक्त हुन लागेको सिटमा एक पद पनि जित्न सक्ने अवस्था छैन। त्यसैले एमालेले दलहरूलाई विभिन्न प्रस्ताव राखेको छ।

ad
ad