रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा जारी लुम्बिनी एक्स्पो ०८०, अन्तर्राष्ट्रिय व्यापार मेला ५० करोडको कारोबार गर्दै सकिएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ यही पुस ५ गतेदेखि १८ गतेसम्म जारी एक्स्पो बुधबार एक विशेष कार्यक्रमबीच समापन गरिएको छ । मेलामा १० लाख दर्शकले अवलोकन गरेको आयोजकले बताएका छन् ।
प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउन तयारीदेखि समापनसम्म प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष घिमिरेले राजधानीबाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा ऐतिहासिक रूपमा एक्स्पो सम्पन्न भएको र एक्स्पोमा संघले राखेको दर्शक र कारोबारको लक्ष्य पूरा भएको बताए ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलको मूल्यांकन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लीला गिरी र मेला मूल समितिका संयोजक कृष्णप्रसाद घिमिरेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आर्थिक गतिविधि बढाउन यस प्रकारका मेला प्रदर्शनीलाई स्थानीय सरकारले सधैँ साथ दिने बताए ।