Skip This
नेवानिको ग्राउन्ड ह्यान्डलिङ नखोसिने : पर्यटनमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १६ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १६ सोमबार o७:१५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेवानिको ग्राउन्ड ह्यान्डलिङ नखोसिने : पर्यटनमन्त्री

मन्त्री किराँतीले भने– नेवानि बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ, यही बटमलाइन हो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १६ सोमबार o७:१५:oo

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम (नेवानि)को ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निगमको ग्राउन्ड ह्यान्डलिङका विषयमा अनावश्यक कोकोहोलो नगर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्ने कोसिस नगर्न पनि क्यानलाई चेतावनी दिँदै कुनै पनि हालतमा निगमबाट ग्राउन्ड ह्यान्डलिङ नखोसिने बताए । ‘ग्राउन्ड ह्यान्डलिङ प्रधानमन्त्रीको सरोकारको विषय हो, सबै ठूला राजनीतिक दलको सरोकारको विषय हो,’ मन्त्री किराँतीले भने, ‘निगमलाई ग्राउन्ड ह्यान्डलिङ दिने कि नदिने भन्ने विषयमा अनावश्यक कोकोहोलो गर्न आजैदेखि बन्द गर्नुहोस् ।’ 

मन्त्री किराँतीले वायुसेवा निगम डुबिसकेको पनि स्वीकार गरे । ‘निगमको जीवन नै ग्राउन्ड ह्यान्डलिङ भएको छ । निगम डुब्यो त डुब्यो, मैले आएर डुबाएको हुँ र ?’ उनले भने, ‘देशलाई वायुसेवा निगम चाहिन्छ, निगमलाई बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ, यही हो बटमलाइन ।’ सरकारले अर्को निर्णय नगरुन्जेल कसैले यस विषयमा बोलेमा नेतृत्वमाथिको हस्तक्षेप मानिने र त्यो सह्य नहुने पनि किराँतीले चेतावनी दिए । उनले भने, ‘यो कुरा नउडाउन तपाईंहरूलाई गम्भीरताका साथ निर्देशन गर्छु, यति भनेपछि पनि फेरि यही कुरा उठाइरहेमा राम्रो हुँदैन, बुझ्नुहोला ।’ 

निगमले देशका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ । निगमले गुणस्तरीय सेवा दिन नसकेको भन्दै क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धामार्फत सक्षम र अनुभवी कम्पनी भिœयाउने योजना बनाएको छ । निगमको सेवाप्रति यात्रु मात्र होइन, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु पनि सन्तुष्ट नभएको, विमानस्थलमा यात्रुहरूको ब्यागेज चोरी हुने तथा जहाज उडाएर आम्दानी गर्नुपर्नेमा निगम नेतृत्व ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानीमै रमाएर बसेको आरोप लाग्दै आएको छ ।  

चारवटै विमानस्थल पिपिपी मोडलमा
त्रिभुवन, गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्ने पर्यटनमन्त्री सुदन किराँतीले बताएका छन् । चार अन्तर्राष्ट्रिय विमानस्थलमध्ये निजगढको भने अझै निर्माण नै सुरु भएको छैन । क्यानले बाराको निजगढमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थालेको छ । निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक काम, वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम तत्काल अघि बढाइने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । परामर्शदाताले प्रस्तावित विमानस्थलको डिटेल इन्जिनियरिङ डिजाइनको अन्तिम मस्यौदा प्रतिवेदन पेस गरिसकेको उनले जानकारी दिए । मन्त्री किराँतीले अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडलमा सञ्चालन गर्न मन्त्रालय र क्यानले आवश्यक तयारी थाल्ने बताए ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा त्रिभुवन विमानस्थलको दक्षिणतर्फ करिब १२ सय मिटर लम्बाइको ‘इन्ड टु इन्ड ट्याक्सी वे’ निर्माण, पूर्वतर्फ अन्तर्राष्ट्रिय वायुयानका लागि ह्यांगर निर्माणस्थल र एप्रोन निर्माणको काम पनि सुरु गरिएको महानिर्देशक अधिकारीले बताए । उनले भने, ‘यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे एयर ट्राफिक व्यवस्थापन क्षमता करिब १५ देखि २० प्रतिशतसम्म बढ्ने अपेक्षा गरेका छौँ ।’

उड्डयन क्षेत्र कोभिडपूर्वकै अवस्थामा 
कोभिड महामारीले आर्थिक रूपमा धराशायी हुन पुगेको उड्डयन क्षेत्र सन् २०२३ मा वायुयानको सञ्चालन तथा यात्रु संख्याका आधारमा कोभिडपूर्वकै अवस्थामा फर्किएको महानिर्देशक अधिकारीले बताए । सन् २०२२ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय यात्रुको संख्या २९ लाख ४५ हजार पाँच सय ४० रहेकामा सन् २०२३ को नोभेम्बरसम्म ४१ लाख ५४ हजार तीन सय ९३ पुगेको छ । चालू वर्षको संख्या गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशतले वृद्धि हो । यस्तै, आन्तरिक उडानतर्फ सन् २०२२ को नोभेम्बरसम्म ५६ लाख ६९ हजारले हवाई यात्रा गरेकामा सन् २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ पुगेको छ । यो साढे ३७ प्रतिशतको बढोत्तरी हो । 

सन् २०२२ मा नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या २९ रहेकामा अहिले ३० पुगेका छन् । नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । यस्तै, आन्तरिकतर्फ १९ वायुसेवा (फिक्स र रोटर) कम्पनीले ३५ विमानस्थलमा हवाई सेवा दिइरहेको महानिर्देशक अधिकारीले बताए ।