Skip This
आर्थिक वृद्धिदर न्यूनतम ५ प्रतिशत पुग्ने अर्थमन्त्रीको अनुमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १५ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १५ आइतबार १o:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक वृद्धिदर न्यूनतम ५ प्रतिशत पुग्ने अर्थमन्त्रीको अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १५ आइतबार १o:oo:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर न्यूनतम ५ प्रतिशत कायम रहने अनुमान सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले देशको अर्थव्यवस्थाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन पेस गर्दै यस्तो बताएका हुन् । पछिल्लो डेढ वर्ष राजस्व परिचालनमा देखिएको शिथिलता घट्दै गई क्रमशः सुधारोन्मुख हुँदै जानुले आगामी महिनाहरूमा स्रोत व्यवस्थापनमाथिको दबाब कम हुँदै जाने र समग्र अर्थतन्त्रसमेत गतिशील हुँदै जाने अपेक्षा रहेको उनले बताए । उनले भने, ‘मैले कार्यभार सम्हाल्दा आर्थिक वृद्धि १.८६ प्रतिशत थियो । चालू आर्थिक वर्षमा एसियाली विकास बैंकको प्रक्षेपणअनुसार पनि ४.३ प्रतिशत रहने अनुमान छ । हाम्रो लक्ष्य ६ प्रतिशत हो । हालको हाम्रो अनुमानअनुसार ५ प्रतिशतभन्दा माथि रहन्छ ।’ उनका अनुसार ०७९ फागुन मसान्तसम्ममा राजस्व वृद्धिदर १४.९ प्रतिशतले ऋणात्मक थियो । ०८० मंसिर मसान्तमा सो ११.१८ प्रतिशतले वृद्धि भएको छ । 

‘गत आर्थिक वर्षको आठ महिनाको अवधिमा संघीय सरकारको राजस्व असुली १४.९ प्रतिशतले घटेको थियो भने अन्य प्राप्ति तथा राजस्वसहित संघीय आयसमेत ७.५ प्रतिशतले घटेको थियो,’ उनले भने, ‘त्यस अवधिमा संघीय सरकारको खर्च १५.४ प्रतिशतले बढेको र संघीय आय १४.५ प्रतिशतले घटेको हुँदा संघीय सञ्चित कोषमा अधिक दबाब सिर्जना भएको थियो । त्यसबखत खर्च र आयबीचको अन्तर नै करिब एक खर्ब ६१ अर्ब रहेको हुँदा सार्वजनिक ऋण परिचालनमा समेत दबाब सिर्जना भएको थियो ।’  

आर्थिक वर्ष ०७९/८० को फागुनसम्ममा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्बले बचतमा रहे पनि चालू खाता भने ४४ अर्बले घाटामा रहेको थियो । विप्रेषण आप्रवाह २५.३ प्रतिशत र विदेशी विनिमय सञ्चिति १९.७ प्रतिशतले बढेको थियो । उनले भने, ‘समग्रमा त्यसबखत बाह्य क्षेत्र सुधारतर्फ केन्द्रित भए पनि सार्वजनिक वित्तका परिसूचकहरू भने कमजोर रहेका थिए र अर्थतन्त्रलाई गतिशील बनाउने कार्य जटिल र चुनौतीपूर्ण थियो ।’

०७९ फागुनपछि नौ महिनाको अवधिमा भने अधिकांश परिसूचकहरू सुधारोन्मुख रहेका कारण अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको र आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट संकेत देखिने अर्थमन्त्री महतको भनाइ छ ।