१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ

सहकारीको कार्यक्षेत्र विस्तारका क्रममा एक करोड पाँच लाख घुस लिएको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२९:oo

पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र विस्तारको अनुमति दिने क्रममा एक करोड पाँच लाख घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। 

तत्कालीन सहकारी रजिस्ट्रारको कार्यालय पोखराका रजिस्ट्रार रहेका र हाल कुश्मामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत उदयबहादुर पराजुलीलाई प्रहरीले उनकै कार्यकक्षबाट बुधबार पक्राउ गरेको हो।

कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले पराजुलीलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। 

०७० मा कारोबार सुरु गरेको सहकारीले २२ पुस ०७७ मा पोखरा महानगरपालिका– १३ स्थित कसेरीमा पहिलो सदस्य सेवा केन्द्र र १४ असोज ०७९ मा स्याङ्जाको आँधीखोला गाउँपालिका– ५ स्थित जुम्लेमा दोस्रो सदस्य सेवा केन्द्र विस्तार गरेको थियो। 

सहकारीले पोखरामा तेस्रो सेवा केन्द्र विस्तार गर्ने अन्तिम तयारीमा रहेकै समय आर्थिक हिनामिनाको घटना बाहिरिएपछि रोकिएको थियो। पराजुलीलाई सहकारीको सेवा केन्द्र विस्तारका लागि अनुमति दिनेक्रममा एक करोड पाँच लाख घुस लिएको आरोप लागेको हो।

सहकारीको दर्ता, नवीकरण, सेवा विस्तार, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार रजिस्ट्रारलाई रहेकोमा पराजुलीले त्यसको फाइदा उठाउँदै कार्यक्षेत्र विस्तारको अनुमति दिएबापत घुस रकम लिएको आरोप लागेको हो।

प्रहरी हिरासतमा रहेका सहकारीका अध्यक्ष रमण पौडेलले प्रहरीलाई दिएको बयानसँगै आवश्यक अनुसन्धान गरेर पुसको सुरुमै पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारीपछि पराजुली फरार थिए। 

पराजुलीले सहकारीलाई कार्यक्षेत्र विस्तारको अनुमति दिएबापत सुरुमा एक करोड २५ लाख रुपैयाँ सहकारीका अध्यक्ष पौडेलका साथै विभिन्न व्यक्ति र माध्यमबाट लिएका थिए। पछि पराजुलीले आफूले लिएको रकममध्ये २० लाख फिर्ता गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ। 

पौडेलले पराजुलीलाई पैसा पठाएको जानकारी दिएको म्यासेज अनुसन्धानका क्रममा प्रहरीले पौडेलको मोबाइलमा फेला पारेको थियो।

०७९ को साउन अन्तिमसम्म रजिस्ट्रार रहेका पराजुली त्यसपछि प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएका थिए। पराजुली १८ मंसिर ०८० मा कुश्माको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएर गएका थिए। 

२ पुसमा कार्यालय गएका पराजुली त्यसपछि बुधबार मात्र कार्यालय गएका थिए। सहसचिवको परीक्षाको तयारीका लागि भन्दै ३ पुसदेखि लागू हुने गरी कार्यालयबाट पराजुलीले बिदा लिएका नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए। 

त्यसपछि बुधबार कार्यालय गएका पराजुलीलाई प्रहरी आएर केही काम छ हामीसँग हिँड्नुस् भनेर दिउँसो करिब १ः३० बजेतिर आफ्नै कार्यकक्षबाट लगेको पौडेलले जानकारी दिए।

३१ करोड ७८ लाख हिनामिना

कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार पेस गरेको थियो। 

प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेका कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए। 

यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको पोखरास्थित कार्यालयमा निवेदन दिएका थिए। 
 

ad
ad