१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक : सार्क र बिमस्टेकलाई बलियो बनाउन सहमत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२३:oo

नेपाल र श्रीलंकाबीच बिहीबार भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा पारस्परिक आर्थिक लाभ, सार्क तथा बिमस्टेकमा सहकार्यबारे छलफल भएको छ । दुई क्षेत्रीय संगठनलाई बलियो बनाउन दुवै देश सहमत भएका छन् । नेपाल र श्रीलंकाबीच एक–अर्को मुलुकमा पर्यटन प्रवद्र्धनसहित कनेक्टिभिटी, संस्कृति, व्यापार र लगानी एवं रक्षा मामिलामा सहकार्य गर्ने सहमति भएको छ । 

नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका तर्फबाट विदेशमन्त्री अली साब्रीले बैठकको नेतृत्व गरेका थिए । होटेल याक एन्ड यतीमा आयोजित बैठकपछि परराष्ट्रमन्त्री साउदले दुई देशबीच सम्बन्धको पुनरावलोकन भएको र सहकार्यका विषयमा सौहार्दपूर्ण छलफल भएको जानकारी दिए । 

‘हामीले सम्बन्धको पुनरावलोकन गरेका छौँ । पर्यटन कनेक्टिभिटी, शिक्षा, रक्षा, संस्कृति, लगानी, व्यापार, अध्यागमनका विषयमा गम्भीर र सौहार्दपूर्ण वातावरणमा छलफल भयो,’ साउदले भने, ‘सार्क र बिमस्टेकलाई बलियो बनाउने, सदस्य मुलुकबीच सहमति बनाएर अघि बढ्ने बिषयमा पनि छलफल भएको छ ।’ 

परराष्ट्रमन्त्री साउदले साउथ सहकार्यअन्तर्गत दक्षिण एसियाली मुलुकबीच उदाहरणीय सहकार्य हुनपर्नेमा दुवै पक्षले जोड दिएको बताए । ‘संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा परस्पर मिलेर सहकार्य गर्ने, आपसी हितका थप विषय पहिचान गरेर सहकार्य गर्ने विषयमा छलफल गरेका छौँ,’ उनले भने, ‘नेपालले श्रीलंकासँगको सम्बन्धलाई उच्च महत्व दिएको छ ।’

श्रीलंकाली विदेशमन्त्री साब्रीले नेपालसँग श्रीलंकाको पुरानो मित्रता तथा जनस्तरको सम्बन्धको चर्चा गर्दै एक–अर्को मुलुकले आपसी पर्यटन प्रवद्र्धनमा सहकार्य गर्नेबारे छलफल भएको बताए । उनले व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटीका विषयमा दुई देशबीच सहकार्य थप सुदृढ गर्ने पनि उल्लेख गरे । नेपाल र श्रीलंका मिलेर सार्क र बिमस्टेकलाई गतिशील बनाउन भूमिका निर्वाह गर्ने पनि उनको भनाइ थियो ।

बैठकमा दुई देशबीच हवाई कनेक्टिभिटीका विषयमा छलफल भएको थियो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि कोलम्बोको उडानको सम्भाव्यताबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री साउदले श्रीलंकाको जेलमा रहेका तीनजना नेपाली नागरिकलाई नेपालमा हस्तान्तरण गर्ने सम्भावनाबारे चासो राखेका थिए ।

उनीहरूबीच जलवायु परिवर्तनले आफ्ना देशमा पारेको असरबारे बिचार आदानप्रदान भएको साउदको सचिवालयले जनाएको छ । जलवायु न्याय उनीहरूबीच एउटै धारणा थियो । लस एन्ड ड्यामेज फन्डको सञ्चालन तथा नेपाल र श्रीलंकाजस्ता मुलुकले थप अन्तर्राष्ट्रिय सहयोग पाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । बिहीबार दुई देशबीच विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका छ । श्रीलंकाली विदेशमन्त्री बुधबार काठमाडौं आएका थिए । उनी शुक्रबार स्वदेश फर्किन कार्यक्रम छ । 

ad
ad