१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पर्यटक भित्र्याउन थारू होमस्टेमा महोत्सव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o६:oo

पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिका– १७ स्थित भादा थारू ‘होमस्टे’मा महोत्सव गरिने भएको छ । थारू जातिको परम्परा, रहनसहन, संस्कृति, खानपान, वेशभूषाको प्रदर्शनीमार्फत पर्यटक आकर्षित गर्न होमस्टेमा महोत्सव गर्न लागिएको हो । 

महोत्सवले होमस्टेमा पर्यटक आकर्षित गर्नुका साथै थारू जातिको संस्कृतिको प्रचारप्रसारमा पनि टेवा पुग्ने आशा गरिएको थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ । १७ पुसदेखि ६ दिनसम्म सञ्चालन हुने महोत्सवलाई करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

महोत्सवमा थारू संस्कृति तथा वेशभूषाको प्रदर्शनी गरिने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । अवलोकनकर्ताले गोरुगाडा (लहरू)मा चढेर परम्परागत भादा थारू गाउँको अवलोकन गरेर आनन्द लिन सक्ने व्यवस्था महोत्सवका अवसरमा गरिने उनले जानकारी दिए । महोत्सवस्थलमा राखिने नमुना थारू संग्रहालयमा थारू समुदायको परम्परा, सहनसहन, संस्कार, संस्कृतिबारे बुझ्न सकिने आयोजकले जनाएको छ ।

महोत्सवस्थलमा राखिने स्टलमा अवलोकनकर्ताले थारू समुदायका खानाका परिकारको स्वाद लिन सक्नेछन् । महोत्सवले थारू होमस्टेको पर्यटन प्रवर्द्धनमार्फत स्थानीय रोजगारी सिर्जनामा मद्दत पुग्ने अध्यक्ष चौधरीले बताए । ‘महोत्सवले थारू जातिको परम्परा, संस्कृति, वेशभूषा, खानपान, रहनसहनमार्फत थारू जातिको पहिचान राष्ट्रियस्तरमा पुग्नेछ,’ अध्यक्ष चौधरीले भने, ‘हामीले थारू जातिको पहिचानलाई पर्यटनसँग जोड्न खोजेका छौँ ।’

थारू समुदायको मात्र बसोवास रहेको भादामा २० वटा घरमा घरवास (होमस्टे)को व्यवस्था गरिएको छ । धनगढी बजारबाट करिब १७ किलोमिटरको दूरीमा रहेको भादा गाउँमा थारू संस्कृतिसँगै परम्परागत घरहरूको अवलोकन गर्न सकिन्छ । होमस्टे स्थानीयको आयआर्जनको माध्यम बनेको छ । कोरोना संक्रमणकालयता भने होमस्टे खासै चल्न नसकेको स्थानीय बताउँछन् ।

होमस्टेमा पाहुनाका लागि थारू जातिका मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अन्डीको भात, खुर्मा, पनझझरा, कचरिक बरिया, घोंघी, गँगटा, सिद्रा माछा, मुसाको सेकुवा, लोकल कुखुराको मासुलगायत परिकार उपलब्ध हुन्छन् । त्यस्तै, पर्यटकलाई मनोरञ्जन प्रदान गर्न स्थानीयले सखिया, झुम्रा, मघौटालगायत थारू समुदायको मौलिक संस्कृति झल्कने नाच प्रदर्शन गर्नेछन् । भादा होमस्टे पुग्ने पर्यटकले गाउँनजिकै रहेको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिरको पनि दर्शन गर्न सक्छन् । थारू होमस्टेको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि ११ वर्षदेखि बर्सेनि भादामा महोत्सव सञ्चालन गरिँदै आएको छ । 

ad
ad