१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २७ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २७ बुधबार २२:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चीन र क्षेत्रीय शक्तिसँग सन्तुलित सम्बन्ध राख्न विज्ञहरूको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २७ बुधबार २२:३६:oo

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले छिमेकी चीन तथा अन्य क्षेत्रीय शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । 

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरालिज्मले मंगलबार गरेको नीति संवाद शृंखलालाई सम्बोधन गर्दै यादवले निर्भयतापूर्वक नेपालले कुराकानी गर्ने नीति अंगाल्नुपर्नेमा जोड दिएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो चीन भ्रमणका उपलब्धिका विषयमा सांसद र विज्ञहरूसहितको अन्तर्क्रियामा यादवले नेपालको आर्थिक हितका लागि सबैसँग सन्तुलनकारी सम्बन्धमा जोड दिए । 

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको संयुक्त वक्तव्यको भाषामा चासो व्यक्त गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लिएको ऋणलाई लक्षित गर्दै नेपाललाई अनुदान आवश्यक रहेकोमा जोड दिए । उनले नेपाल र चीनबीच अहिले रेलभन्दा राजमार्गको स्तरोन्नति गर्नुपर्ने सुझाव दिए ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले प्रधानमन्त्रीको चीन भ्रमणका वेला केरुङ–रसुवागढी विद्युत् प्रसारणलाइनबाहेक अन्य खास सम्झौता नभएको टिप्पणी गरे । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालादेखि हालसम्म नेपाल र चीनबीच ७० वटा सम्झौता भएको, तर अत्यन्तै कम मात्रै कार्यान्वयन भएको भन्दै आचार्यले चिन्ता व्यक्त गरे । संयुक्त वक्तव्यमा ताइवानको स्वतन्त्रताविरुद्धमा प्रयुक्त भएको भाषाप्रति आचार्यले चासो व्यक्त गरे । 

सांसद छिरिङ ल्हामु लामाले नेपाल र चीनबीच सीमानाका सञ्चालन हुनुपर्ने बताए । कर्णालीमा मात्रै दुई देशबीच पाँचवटा सीमानाका रहेको र जसको सहज सञ्चालनबाट कर्णालीको अर्थतन्त्रमा लाभ हासिल गर्न सकिने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालबाट कैलाश मानसरोवरसम्म जाने सडक निर्माणमा भएको सहमतिप्रति खुसी व्यक्त गरे ।

सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्डको भ्रमणको उद्देश्य नै स्पष्ट नभएको टिप्पणी गरे । प्रधानमन्त्रीको भ्रमणबाट दुई देशको सम्बन्धका बिआरआईजस्तो आयाममा कुनै प्रगति हुन नसकेको उनको भनाइ थियो । 

पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण भएको, तर सफल हुन नसकेको टिप्पणी गरे । ‘नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी आकर्षित गर्न भ्रमणले सकेन,’ कर्णले भने ।