१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपालमै पहिलो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२o:oo

काभ्रे जिल्लाको पाँचखालमा नेपालकै पहिलो र दक्षिण एसियाकै दोस्रो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा पार्क निर्माण हुन लागेको हो।

बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। मन्त्रिपरिषद्ले गत २४ जेठमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो। यस आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको छ।

यस महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमा समेत प्रवर्द्धन गरिनेछ। यस पार्कमा इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने र यस परियोजनामा हालसम्म हरित औद्योगिक पार्कको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा भएको छ।

यस पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ। जसमा पहिलो पर्यटनअन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको छ। यसमा विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन तथा प्रत्यक्ष स्थानीय परम्परागत खाना प्रदर्शन हुनेछ। 

दोस्रो उत्पादन क्षेत्रअन्तर्गत स्थानीय कच्चा पदार्थ र कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगहरूको स्थापनाले राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ। यसैगरी, सूचना प्रविधि क्षेत्रअन्तर्गत औद्योगिक पार्कको भर्चुअल बजारमार्फत स्थानीय उत्पादक र कृषकहरूले प्रत्यक्ष कारोबार गर्न र आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्ने विश्वास लिएको छ।

नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात् यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए। 

धुलो, ध्वनी प्रदूषणमुक्त औद्योगिक ग्राम जहाँ फोहोरको सफल व्यवस्थापन हुनेछ। वर्षाको पानी संकलनलाई पार्कमा एकीकृत गरिनेछ। यसैगरी, नवीकरणीय ऊर्जाको प्रयोग गरिनेछ भने शून्य कार्बन निर्माणका साथै स्थानीय रूपमा उपलब्ध सामग्रीबाटै निर्माण कार्य गरिनेछ। 

साथै, कृषि उत्पादनमा जोड दिँदै कृषिमा आधारित नमुना उद्योगहरू स्थापना गरिने र यसले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ। देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने दाहालको भनाइ छ। 

पछिल्ला वर्षहरूमा गाउँ-गाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढेकाले त्यसलाई रोक्नको लागि पनि यस्ता पार्कको आवश्यक रहेको उनले बताएका छन्। 

वर्तमान सरकार हरतरहले मलखाद र बिउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यावसायिक कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आइरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए।

अहिले जल विद्युत् क्षेत्रमा जोड दिइरहेको दाहालले बताए। ‘हामीले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेका छौँ। त्यस्तै, चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको छ,’ दाहालले भने, ‘देशभित्र विद्युत् खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौँ भने नेपाल बन्न केही समय लाग्दैन।’
 

ad
ad