मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १९ मंगलबार ११:३७:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्लिप एप्निया : समस्या र समाधान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार ११:३७:oo

स्लिप एप्नियाले निदाउन समस्या हुने भएकाले दिउँसो निद्रा लाग्ने र राति निदाउँदा पनि घुर्नेजस्ता समस्या देखिन्छ, यस्तो समस्या भएका मानिसलाई जतिवेला पनि निद्रा लाग्न सक्छ

कोभिड– १९ महामारीपछि कतिपय मानिसमा दिउँसै सुत्ने, थकान, स्मरणशक्ति वा ध्यानशक्तिमा कमीलगायत समस्या देखिने गरेको छ । यी समस्या निद्राको कमीका कारण वा अब्स्ट्रक्टिभ स्लिप एप्नियाको लक्षण हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । कतिपय मानिसमा क्रोनिक पेन, ब्रेन फग, स्वासप्रश्वासमा समस्या, छाती दुखाइ र अत्यधिक थकानजस्ता समस्या पनि देखिएका छन् । 

जर्मनीस्थित फिलिप्स युनिभर्सिटी मारवर्गअन्तर्गत न्युरोलोजी विभागकी केटजा मेन्जलरको नेतृत्वमा गरिएको अध्ययनको निष्कर्षमा भनिएको छ, ‘दिउँसो सुत्ने, थकान र स्मरण तथा ध्यानमा कमीलगायत कोभिड– १९ पछिका लक्षण निद्राको कमी वा स्लिप एप्नियाका कारण (धेरै बिरामीमा) देखिएका छन् । उपचार गर्न सकिने यी लक्षणका कारणबारे पोस्टकोभिड सिन्ड्रोम भएका बिरामीले ध्यान दिनुपर्छ ।’

निद्राका लागि एकै समयमा सुत्ने र उठ्ने, कोठाको वातावरण शान्त राख्ने, अल्कोहल र धूम्रपानबाट टाढा रहने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्नेलगायत विषयमा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । अब्स्ट्रक्टिभ स्लिप एप्नियाले निद्रालाई असर गरिरहेको हुन्छ । यो निदाउँदा हुने गम्भीर समस्या हो । 

स्लिप एप्नियाले निदाउन समस्या हुने भएकाले दिउँसो निद्रा लाग्ने र राति निदाउँदा पनि घुर्नेजस्ता समस्या देखिने वरिष्ठ फिजिसियन डा. विवेकप्रभात शाह बताउँछन् । यस्तो समस्या भएका मानिसलाई जतिवेला पनि निद्रा लाग्न सक्ने उनले बताए । ‘स्लिप एप्निया विशेष गरी दुई प्रकारका हुन्छन् । अब्स्ट्रक्टिभ स्लिप एप्निया (नाकको मसल्स साँघुरिएर र सेन्ट्रल स्लिप एप्निया (ब्लक र ब्रेनबाट सिग्नल राम्ररी नगएर हुने एप्निया),’ उनले भने । 

स्लिप एप्निया हुँदा निदाएका वेला सास फेर्न असजिलो हुने उनको भनाइ छ । डा. शाह थप्छन्, ‘यो सुत्दा हुने सिरियस डिसअर्डर हो । स्लिप एप्निया हुँदा सास एक्कासि रोकिने र सुरु हुने प्रक्रिया बारम्बार हुन्छ । स्लिप एप्निया भएका मान्छेलाई थकान महसुस हुन्छ । सुत्दा ठूलो स्वरले घुर्नेजस्ता 
समस्या देखिन्छ ।’

लक्षण
- थकान महसुस हुने 
- सुत्दा ठूलो स्वरले घुर्ने ।
- अत्यधिक निद्रा लागिरहने । 
- स्मरणशक्ति कम हुने
- सिकाइसम्बन्धी समस्या आउने
- सास फेर्न असहज हुने,
- पसिना आउने, 
- बारम्बार पिसाब आउने

जोखिम 
यस्ता रोगबाट पीडित व्यक्तिको मस्तिष्कमा अक्सिजनको कमी हुन्छ, जसका कारण अन्य धेरै स्वास्थ्य समस्याको जोखिम बढ्छ । रगतमा अक्सिजनको मात्रा कम हुन थाल्छ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापको समस्यामा कारण यस्ता व्यक्तिलाई मुटुसम्बन्धी (हृदयाघात, स्ट्रोकलगायत) समस्या हुने जोखिम रहन्छ । यो रोग लागेको मान्छेमा मुटुको धड्कन असामान्य हुन सक्छ, जसले गर्दा कहिलेकाहीँ ‘ब्लडप्रेसर लो’ पनि हुन सक्छ । यदि कसैलाई स्लिप एप्निया भएको छ र मुटुको रोग पनि छ भने अवस्था अझै जटिल हुन्छ । 

कारण
स्लिप एप्निया एउटै मात्रै कारणले हुँदैन । वंशाणुगत कारण, मोटोपना भएका मानिसमा पनि यस्तो समस्या देखिने गरेको पाइन्छ । अत्यधिक मदिरा सेवन तथा धूम्रपानले पनि यस्तो समस्या देखिएको हुन सक्छ । बुढेसकालले गर्दा पनि स्लिप एप्निया हुन्छ । 

हाई ब्लडप्रेसरको कारणले मुटु सुन्निने हुन्छ । जसले गर्दा सास फेर्न अप्ठ्यारो गराउँछ । मुटुको रोगी, ब्रेनको रोगी, नाकको सास फेर्ने नली साँघुरो हुनेलगायत कारणले पनि समस्या देखिन्छ । सुत्ने वेलामा श्वासनली खुला रहने मांसपेशीको कार्यमा परिवर्तन हुने भएकाले श्वासनली साँघुरो हुन सक्छ र सास फेर्न अवरोध हुन सक्छ । 

घाँटीको तन्तु र वरपर बोसो जम्मा हुँदा अक्सिजनको प्रवाह हुनबाट पनि रोक्छ । ठूलो जिब्रो, टन्सिल, बाहिर निस्केको चिन, ठूलो घाँटी र ओभरबाइटजस्ता अवस्था भएका मानिसहरूलाई यसप्रकारको निद्रा विकार संवेदनशील हुन्छ ।

उपचार
स्लिप एप्निया भएको कारण पत्ता लगाएपछि उपचार गर्दा निको हुन्छ । तर, स्लिप एप्निया उपचार गरेर निको हुन्छ भन्ने हुँदैन । विषेश गरी, जीवनशैली परिवर्तन गर्नुपर्छ । तौल नियन्त्रण गर्नुपर्छ । 

नाकमा मासु पलाएर नाक बन्द छ भने पनि उपचार गर्नुपर्छ । मुटुसम्बन्धी समस्या भए पनि जाँच गरेर उपचार गर्नुपर्छ । मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्नुपर्छ । कुनै समस्या वा लक्षण देखिएमा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।