Skip This
प्रवासमा संगठन बलियो बनाउने र ‘मिसन ८४’ सफल पार्ने योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Friday, 26 July, 2024
मलेसियास्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा प्रवासी नेपाली सम्पर्क विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने ।
अनिल यादव काठमाडाैं
२o८o मङ्सिर १८ सोमबार o८:३२:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रवासमा संगठन बलियो बनाउने र ‘मिसन ८४’ सफल पार्ने योजना

विदेश यात्रामा रास्वपा सभापतिसहितका नेता, प्रवासी मतदातासँग नजिकिने रणनीति

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार o८:३२:oo

गत निर्वाचनमा बिदेसिएका नेपालीबाट राम्रो समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनकेन्द्रित प्रवास रणनीति बनाएको छ । प्रवासमा संगठन बलियो बनाउने र ‘मिसन ८४’ सफल पार्ने उसको योजना छ । रास्वपाको हालै सम्पन्न बैठकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । 

प्रवासमा रहेका मतदातासँग नजिकिन र उनीहरूको मन जित्न आवश्यक रहेको रास्वपाको विश्लेषण छ । यसैअनुसार रास्वपा नेताहरूले आइतबारबाट विदेश यात्रा थालेका छन् । रास्वपाले स्वदेशमा एक चरणको संगठन निर्माण, विस्तार र मतदाता भेटघाट सकिसकेको छ । 

उल्लेख्य शुभेच्छुक संख्या रहेको दाबी गरेको मलेसियाबाट नेताहरूको यात्रा सुरु भएको छ । प्रवासमा संगठन निर्माण र विस्तार अभियानमा रास्वपा सभापति रवि लामिछाने स्वयं सक्रिय भएका छन् । विदेश यात्रामा लामिछानेसँगै पत्नी निकिता पौडेल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरा सहभागी छन् ।

रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार पहिलो चरणको विदेश यात्रा मलेसियाबाट कतार हुँदै बेलायतमा पुगेर टुंग्याउने तयारी छ । २९ मंसिरमा स्वदेश फर्कने तयारीमा रहेका लामिछानेले नेपालमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएका छन् । कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी भने उपनेता विराजभक्त श्रेष्ठले पाएका छन् । 

‘अहिले नेपाल नै विदेश गइरहेको अवस्था छ,’ रास्वपा महामन्त्री एवं प्रवक्ता ढकालले भने, ‘बिदेसिन बाध्य नेपाली र उनीहरूको भावनालाई कसैले नजरअन्दाज गर्न मिल्दैन । रास्वपाप्रति उहाँहरूको ठूलो साथ र विश्वास छ । यही क्रममा संगठन निर्माण, विस्तार र भेटघाटका लागि सभापतिसहितको रास्वपा टोली विदेश गएको हो ।’ मलेसियामा रास्वपाको सदस्यता संख्या बलियो रहेकाले लामिछानेले त्यहीँबाट रास्वपाको विदेश यात्रा सुरु गरेको बुझिएको छ । रास्वपाका संगठन विभाग प्रमुख बुर्लाकोटीले मलेसियामा मात्रै त्यहाँको सम्पर्क विभागबाट एक वर्षमा ५० हजार सदस्य पुर्‍याउने दाबी रहेको बताए ।

प्रवासका मतदातासँग नजिकिने रणनीतिमा रहेका रास्वपा सभापति लामिछानेले आफू राजनीतिमा आउनुको प्रमुख कारण नै विदेशमा रहेका नेपाली बताएका छन् । ‘अवसर र रोजगारका लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुःख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नुपर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ,’ उनले आइतबार मलेसिया टेकेपछि फेसबुकमै लेखे, ‘म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन् ।

अहिले नेपाल नै विदेश गइरहेको अवस्था छ । बिदेसिन बाध्य नेपाली र उनीहरूको भावनालाई कसैले नजरअन्दाज गर्न मिल्दैन । रास्वपाप्रति उहाँहरूको ठूलो साथ र विश्वास छ । यही क्रममा संगठन निर्माण, विस्तार र भेटघाटका लागि सभापतिसहितको रास्वपा टोली विदेश गएको हो ।
मुकुल ढकाल, महामन्त्री, रास्वपा

विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो । मलेसिया, कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीसँग भेटघाट तथा अन्तक्र्रिया गर्न, उहाँहरूको साथ, सहयोग र शुभेच्छाका लागि धन्यवाद दिने कार्यक्रमअन्तर्गत अहिले म मलेसियामा छु ।’

मलेसियास्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा प्रवासी नेपाली सम्पर्क विभाग मलेसियाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले गत मंसिरमा सम्पन्न निर्वाचनमा आफूलाई विदेशमा रहेका नेपालीबाट ठूलो सहयोग भएको बताए । ‘विदेशबाटै घरमा फोन गरेर धेरै नेपालीले चुनावमा यसपालि घन्टीलाई भोट दिनुस् भनेर भन्नुभयो । कतिले घन्टीलाई भोट हालेनौ भने पैसा पठाउँदैनौँ सम्म भन्नुभयो,’ लामिछानेले मञ्चबाटै आभार प्रकट गरे ।

मलेसियामा प्रवासी मतदातालाई सम्बोधन गर्ने क्रममा लामिछानेले आफूले अमेरिकाको फास्टफुड रेस्टुरेन्टमा काम गर्दाका दिनसम्म सम्झिएँ । ‘हिजो गरेको वाचामा थप प्रतिबद्धता व्यक्त गर्न यहाँ आएको हुँ,’ लामिछानेले भने, ‘म पनि कुनै दिन अवसरको खोजीमा बिदेसिएको मान्छे हुँ । जुनसुकै देशमा बसेर रुनु परे पनि एउटा परदेशीको पीडा उस्तै हुन्छ, आँसु आँसु नै हुन्छ । मलाई अहिले पनि पहिलो दिन कुनै फास्टफुड रेस्टुरेन्टमा काम गर्न पाएको दिन सम्झना आइरहन्छ । ऐना हेरेर रोएको थिएँ म । आकाशतिर हेरेर आँसु लुकाउने धेरै प्रयत्न गरेको थिएँ ।’

गत निर्वाचनका वेला विदेशमा रहेका नेपालीको मताधिकारको एजेन्डा उठाएको रास्वपाले विदेशमा पनि संगठन विस्तार गरिरहेको छ । प्रवासी नेपाली समन्वय विभागका रूपमा विभिन्न देशमा कमिटी गठन भइरहेका छन् । संगठन विभाग प्रमुख बुर्लाकोटीका अनुसार अहिलेसम्म मलेसिया, दुबई, कतार, साउदी, जापान, कोरिया, युके र अमेरिकामा विभाग गठन भइसकेका छन् । बाँकी देशमा पनि गठन हुने क्रममा छ । 

रास्वपाले विदेशमा रहेकाको हकमा पासपोर्ट अपलोड गरेर अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था छ । विदेश रहेका नेपालीका हकमा ‘पेमेन्ट सिस्टम’का कारण सदस्यता शुल्क उठाउन अप्ठ्यारो भइरहेको बुर्लाकोटीले बताउँछन् । उनका अनुसार विदेशमा रहेका पार्टी सदस्यले पनि संगठनको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।महामन्त्री ढकालका अनुसार मधेश बैठकबाट रास्वपाले देश र विदेश सबैतिर राष्ट्रिय सेवक समाज गठन गर्ने निर्णय गरेको बताए । ‘विदेशका लागि हामीले अंगुरको झुप्पाजस्तो ढाँचा बनाएका छौँ । जस्तो, मलेसियाबाट राष्ट्रिय सेवक समाज मलेसिया–काठमाडौंलगायत विभिन्न भूगोलअनुसार समिति गठन हुन सक्छन् ।’ 

रास्वपाको मधेश बैठकले ‘देशमा व्याप्त बेथितिको सिकार भएर बाध्यताले विदेशमा श्रम गर्न गएका नेपाली नागरिक र नेपालमा रहेका उनीहरूको परिवारबारे हामीले विशेष ढंगले सोच्ने वेला आइसकेको’ निष्कर्ष निकालेको छ । सभापतिको प्रतिवेदनमा छ, ‘श्रम गर्न गएका नागरिकको आर्थिक, सामाजिक सुरक्षा, हक–अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्छ, यो राज्यको दायित्व हो ।

पसिना बगाएर देश पालिरहेका श्रमिक मजदुरका लागि देशको चौथो राजनीतिक दलको हैसियतले हामीले गर्न सक्ने सबै प्रयास गरिरहेका छौँ र गरी नै रहनेछौँ ।’ रास्वपाले एकपटकका नेपाली सधैँका नेपाली भन्ने नारा बनाएको छ । ‘हामीले विशेष विज्ञता, अनुभव र अध्ययन हासिल गरेका अन्य देशमा रहनुहुने गैरआवासीय नेपालीको ज्ञान, सीप र लगानीको सदुपयोग गरी राष्ट्र निर्माणमा जोड्ने अभियान सुरु गर्नुपर्छ । एकपटकको नेपाली सधैँका नेपाली हुन् भन्ने कुरामा रास्वपा स्पष्ट छ,’ सभापतिको प्रतिवेदनमा छ ।