Skip This
केपी ओली कप टी–२० क्रिकेट : आर्मी र मधेश प्रदेश फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १४ बिहीबार १८:३२:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कप टी–२० क्रिकेट : आर्मी र मधेश प्रदेश फाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १८:३२:oo

विभागीय टोली त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा बिहीबार सम्पन्न सेमिफाइनलको खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेट र मधेशले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

यसअघि समूह ‘ए’बाट समूह विजेता बन्दै बागमती, ‘बी’बाट रनरेटका आधारमा एपिएफ, ‘सी’बाट रनरेटकै आधारमा मधेश र ‘डी’बाट समूह विजेता बन्दै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका थिए। फाइनल खेल शुक्रबार हुनेछ।

पहिलो सेमिफाइनल खेलमा पहिले ब्याटिङ गरेको बागमतीले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङका लागि मैदान उत्रेको आर्मीले ३० बल बाँकी रहँदै १५ ओभरमा ६ विकेट गुमाएर १२८ जोड्दै लक्ष्य पूरा गरेको थियो।

बागमतीका लागि प्रतीक श्रेष्ठले अर्धशतक पूरा गर्ने क्रममा ३५ बलमा तीन चौका र चार छक्कासहित ५० रन जोडेका थिए। कप्तान सन्दीप लामिछानेले २२ बलमा दुई चौका र एक छक्कासहित १९, ओपनार रीत गौतमले १४ बलमा समान एक चौका र छक्कासहित १४, इसान पाण्डेले १७ बलमा दुई चौकासहित १२ रन जोडेका थिए। ओपनर शुभम् कंसाकार सात बल खेल्दै तीन रन जोडी बाहिरिएका थिए। टोलीका चार खेलाडी दोहोरो अंक जोड्न असफल भएका थिए भने एक खेलाडी शून्य रनमै आउट भए।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ३९ रन जोड्ने क्रममा ३५ बलमा पाँच चौका प्रहार गरेका थिए। कुशल मल्लले सानदार ब्याटिङ गर्दै आठ बलमा चार छक्कासहित २७, ओपनर विनोद भण्डारीले १२ बलमा तीन चौका र दुई छक्कासहित २५, सोमपाल कामीले १४ बलमा एक छक्कासहित १५ रन जोडेका थिए। ओपनर सन्तोष कार्की नौ बलमा एक चौकासहित सात रन बनाएर बाहिरिँदा टोलीका लागि अन्य चार खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। एक खेलाडी शून्य रनमा आउट भए।

खेलका म्यान अफ दी म्याचसमेत रहेका आर्मीका सहाब आलमले चार ओभर खेल्दै एक मेडनसहित १४ रन खर्चेर चार, सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए। बागमतीका लागि सन्दीप लामिछानेले दुई, प्रतिस जिसी, इसान पाण्डे, सोनु देवकोटा र रीत गौतमले समान एक–एक विकेट लिएका थिए।

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९७ रन जोडेको थियो। १९८ रनको विशाल लक्ष्य पछ्याउँदै मैदान उत्रेको एपिएफले २० ओभरमा नौ विकेट गुमाउँदै १८४ रनमा समेटियो।

मधेशका दुई खेलाडीले अर्धशतक पूरा गरेका थिए। ओपनरसमेत रहेका खेलका म्यान अफ दी म्याच अनिल शाह ३६ बलमा दुई चौका र ६ छक्कासहित ५७ र तेस्रो नम्बरमा आएका इम्रान शेखले ३२ बलमा तीन चौका र चार छक्कासहित ५० रन जोड्दै अर्धशतक पूरा गरे।
यसैगरी, पवन सर्राफले १९ बलमा चार चौका र दुई छक्कासहित ३३, रूपेश सिंहले आठ बलमा तीन चौका र एक छक्कासहित २१ र हिमांशु दत्तले सात बलमा दुई चौका र एक छक्कासहित १५ रन जोडेका थिए। टोलीका कप्तानसमेत रहेका अर्का ओपनर हरिशंकर शाह १२ बलमा एक चौकासहित १० रन बनाउँदै बाहिरिँदा टोलीका दुई खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

जवाफी ब्याटिङमा उत्रेको एपिएफका दुई खेलाडीले समेत अर्धशतक पूरा गरे पनि टोलीलाई अन्तिम दुईको यात्रा तय गराउन भने सकेनन्। ओपनर कप्तान प्रदीप ऐरीले ४२ बलमा तीन चौका र चार छक्का प्रहार गरी ५५ रन जोड्दै अर्धशतक पूरा गरे पनि अर्का ओपनर आसिफ शेख भने दुई बल खेल्दै एक चौका प्रहार गरी चार रनका साथ बाहिरिए।

चौथो नम्बरमा मैदान छिरेका सन्दीप जोराले ३१ बलमा तीन चौका र पाँच छक्कासहित टोलीका लागि व्यक्तिगत ५४ रन जोडेका थिए। लोकेश बमले १५ बलमा तीन चौका र दुई छक्कासहित ३२, भुवन कार्कीले १२ बलमा दुई चौकासहित १४, सुमित महर्जनले नौ बलमा तीन चौकासहित १३ रन जोड्ने क्रममा टोलीका अन्य ६ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। उनीहरूमध्ये तीन खेलाडी शून्य रनमै मैदानबाट बाहिरिए।

एपिएफका मौसम ढकालले तीन, अमर रौटेलाले दुई र पुरन विकले एक विकेट लिँदा मधेशका विशाल पटेलले तीन, हरिशंकर शाह र प्रदीप पासवानले समान दुई–दुई विकेट हात पारे।