ललितपुरमा आजदेखि बल्दै छन् १४ सय स्मार्ट स्ट्रिट लाइट

काठमाडौं महानगरमा भने मुख्य सडक नै अन्धकार

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरभित्रका अधिकांश मुख्य सडक साँझ परेसँगै अन्धकार भइरहेका वेला छिमेकको ललितपुर महानगरका मुख्य चोक र सडक भने चहकिला आधुनिक बत्तीले चम्कन थालेका छन् । एक वर्षअघि पहिलो चरणअन्तर्गत ६ सय ६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको ललितपुरले आज (बिहीबार)देखि थप एक हजार चार सय लाइट बाल्दै छ । यी बत्तीले बाँकी रहेका चोक र सडकसमेत झलमल्ल हुने महानगरको विश्वास छ ।

महानगरका मेयर चिरिबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले आज यी एक हजार चार सय लाइटको संयुक्त रूपमा उद्घाटन गर्दै छन् । पहिलो चरणमा महानगरले पाँच करोड खर्चिएर मुख्य सडकमा स्मार्ट बत्ती बालेको थियो । जसमा कुपन्डोलदेखि–सातदोबाटो, कुपन्डोल–पाटनढोका, पाटन दरबार स्क्वायर र जावलाखेल–एकान्तकुना रुटमा स्मार्ट बत्ती जडान गरेको थियो ।

दोस्रो चरणअन्तर्गतका एक हजार चार सय बत्तीमध्ये महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । यस चरणपछि ललितपुरका सबैजसो मुख्य सडक झिलिमिली हुनेछन् । दोस्रो चरणमा सातदोबाटो–हरिसिद्धि, धापाखेल–सुनाकोठी, भैँसेपाटी–बुङमती, खोकनालगायत क्षेत्रका सडकमा जडान हुनेछन् । लाइट जडानका लागि डिजाइन र टेक्निकल सपोर्ट प्राधिकरणले नै गरेको छ । एक हजार चार सयवटा लाइट जडानमा महानगरको आठ करोड र प्राधिकरणको करिब ६ लाख गरी करिब १४ करोड खर्च भएको छ । 

मेयर चिरिबाबु महर्जनका अनुसार स्मार्ट लाइट जडान यतिमै सीमित रहनेछैन । उनले भने, ‘भित्री तथा मुख्य चोकमा अझै बत्ती जडान गर्छौँ । यसप्रकारको लाइटले सडक झिलिमिली पार्छ, सहरी सुन्दरता बढाउँछ ।’ 

कस्तो हुन्छ स्मार्ट स्ट्रिट लाइट ?
स्मार्ट स्ट्रिट लाइट अत्याधुनिक बत्ती हो । यो बत्ती स्वचालित हुन्छ । उज्यालो भएसँगै निभ्ने र अँध्यारो भएसँगै बल्ने हुन्छ । ललितपुरमा राखिएका बत्तीको मासिक विद्युत् शुल्क ५० लाख तिर्नुपर्ने मेयर महर्जनको भनाइ छ । उनका अनुसार उक हजार चार सय लाइटमध्ये १३ वटा हाइमास्ट लाइट हुन् । जसले सडकलाई अत्यन्तै उज्यालो पार्छ । यी लाइटको उज्यालो बढी हुने भएकाले पनि मुख्य चोक तथा ठूला सडकमा राखिएको हो । 

काठमाडौं महानगरमा भने भएका बत्ती पनि बल्दैनन्
काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच समन्वय नहुँदा काठमाडौं महानगरका अधिकांश मुख्य सडक भने वर्षौँदेखि अँध्यारा छन् । मुख्य प्रशासनिक केन्द्र सिंहदरबारआसपासको क्षेत्र नै सम्साँझै अन्धकार हुन्छ । काठमाडौं महानगरका अनुसार सडकबत्तीका लागि उपत्यकामा अहिले करिब पाँच हजार पोल छन् । ती पोलका अधिकांश बत्ती बल्दैनन् । ब्याट्री पुरानो हुँदै गएपछि सडकबत्ती मधुरो बल्छ ।

मुख्य सडकका बत्ती मधुरो बलेपछि काठमाडौं, ललितपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच फागुन ०७७ मा अत्याधुनिक विद्युतीय बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार ललितपुरमा काम भए पनि काठमाडौंमा भने अघि बढ्न सकेको छैन । सम्झौताअनुसार सडकबत्ती जडान गर्न आवश्यक स्थान उपलब्ध गराउने, सहजीकरण गर्ने र ६० प्रतिशत रकम प्रदान गर्ने जिम्मा महानगरको हो । त्यतिवेला ६ महिनाभित्र सडकबत्ती बालिसक्ने सम्झौता भए पनि तीन वर्ष बित्दा पनि काठमाडौं महानगरका सडक अन्धकार छन् । विद्युत् प्राधिकरण र काठमाडौं महानगरबीचको विवादले स्मार्ट लाइट जडान कार्य प्रभावकारी हुन सकिरहेको छैन । 

स्मार्ट स्ट्रिट लाइट बिग्रिए सिस्टमले नै देखाउँछ
स्मार्ट स्ट्रिट लाइट संसारका मुख्य सहरहरूमा राखिएको अत्याधुनिक लाइट हो । यो सोलारबाट पनि बल्छ । ललितपुरले भने प्राधिकरणको बिजुली जोडेर बालिरहेको छ । सोलार प्रविधि बढी खर्चिलो र उज्यालो कम दिने भएकाले प्राधिकरणकै लाइन प्रयोग गरिएको हो । यसलाई चलाउन प्राधिकरणले सर्भर निर्माण गरेको छ । सडकमा रहेका स्मार्ट बत्तीको प्राधिकरणको सर्भरसँग सीधा जडान हुन्छ । जसअनुसार कहीँकतै लाइट बिग्रिए प्राधिकरणका कर्मचारीले कम्प्युटरबाट थाहा पाउन सक्छन् । आयोजनाका अनुसार यो करिब १२ वर्षसम्म टिक्छ । सर्भरबाट पनि स्मार्ट लाइट अन र अफ गर्न सकिन्छ । तर, यो बत्ती अन अफ गर्न पनि पर्दैन । यसले समय र कम जनशक्तिको बचत गर्छ ।

यो अभियान यतिमै सीमित राख्दैनौँ  : चिरिबाबु महर्जन, मेयर, ललितपुर महानगरपालिका
स्मार्ट लाइट जडानलाई निरन्तरता दिन्छौँ । भित्री तथा मुख्य चोकमा अझै जडान गर्छौँ । यसप्रकारको लाइटले सडक झिलिमिली पार्नुका साथै सहरी सुन्दरता बढाउँछ । अर्कातर्फ दुर्घटना न्यूनीकरण, सवारी तथा बटुवा ओहोरदोहोरमा सहजता र हुन्छ । 

सुझावित समाचार