
लमजुङमा २ पुसदेखि राष्ट्रव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । त्रिवेणी युवा क्लबले बेँसीसहरमा पत्रकार सम्मेलनमा ३१औँ त्रिवेणी कपको तयारी र विजेता धनराशीको जानकारी दिएको हो ।
३१औँ संस्करणमा पहिलो हुने टोलीले आठ लाख रुपैयाँ पाउनेछ । उपविजेताले चार लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । दुई सेमिफाइनलिस्टले जनही एक जाख रुपैयाँ पाउने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए । गत वर्ष विजेताले पाँच लाख रुपैयाँ पाएको थियो ।
यसपटक विजेताले थप तीन लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । ‘यसपालि हामीले विजेता धनराशी बढाएका छौँ,’ घिमिरेले भने, ‘यसबाट त्रिवेणी कप प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।’ प्रतियोगितामा धेरै गोल गर्ने र सर्वोकृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ जित्नेछ । प्रतियोगितामा ४७ लाख १० हजार खर्च हुने घिमिरेले बताए । प्रतियोगिता बेँसीसहरमा रहेको सहजी खेलमैदान त्रिवेणी रंगशालामा हुने भएको हो ।