१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख १९ बुधबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पपीडितलाई अस्थायी आवास : रुकुम पश्चिममा अनुदान निकासा, जाजरकोटमा अझै अन्योल 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o८:oo

त्रिवेणी गाउँपालिकाका भूकम्पपीडितले आजदेखि अनुदान पाउँदै 

रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवासका लागि पहिलो किस्ताबापत २५ हजार रुपैयाँ बुधबारबाट प्राप्त गर्ने भएका छन् । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको मंगलबारको बैठकले त्रिवेणी गाउँपालिकाका ६४ भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको १६ लाख स्थानीय विपत् समितिको खातामा निकासा गरेको हो । हरेक पालिकामा विपत् समिति रहन्छ । 

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले वडा नम्बर ७, ८ र १० का लाभग्राहीसँग सम्झौता गरेर बुधबारबाट रकम वितरण गरिने बताए । ६४ परिवार पूर्ण रूपमा घर क्षति भएका हुन् । बैंक खाता नभएका लाभग्राहीले नगद पाउनेछन् । त्यसबाहेक बुधबार थप एक हजार लाभग्राहीका लागि रकम निकासाका लागि प्रशासनलाई नामावली पठाइने उनले बताए । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार पालिकाबाट आवश्यक प्रक्रिया पूरा भई समितिमा प्राप्त परिवारलाई पहिलो किस्ताबापतको रकम निकासा हुने बताए । स्थानीय विपत् समितिबाट प्रहरी मुचुल्का, वडाको सिफारिसलगायतका प्रक्रिया पूरा भई निर्णय भएर आए तत्कालै जिल्ला विपत् कोषमा रहेको रकम पठाउने व्यवस्था कार्यविधिमा छ ।

२६ कात्तिकमा कार्यविधि स्वीकृत गर्दा जिल्ला विपत् समिति र काठमाडौंस्थित विपत् प्राधिकरणबाट पनि लाभग्राही प्रमाणित भएपछि अनुदान निकासा गर्ने व्यवस्था थियो । विपत् व्यवस्थापन कार्यकारी समितिको १० मंसिरको बैठकले कार्यविधि संशोधन गरेर पालिकाबाट प्राप्त लाभग्राहीको संख्याका आधारमा रकम निकासा गर्ने व्यवस्था गरिएपछि सहज भएको हो । 

सहायक सिडिओ बढुवालले पालिकाबाट एकैपटक लाभग्राहीको विवरण आएपछि अनुदान रकम निकासा दिँदा ढिलो हुने भएकाले पालिकाबाट जति लाभग्राहीको विवरण आउँछ सोहीअनुसार तत्कालै रकम निकासा भइरहेको बताए । दोस्रो किस्ताबापतको थप २५ हजार भने घरको छानो हाल्ने तहसम्म पुगेपछि वा निर्माण सकिएपछि मात्र पाइनेछ । राष्ट्रिय विपत् प्राधिकरणले अस्थायी आवासका लागि पहिलो किस्ताबापत रुकुम पश्चिम र जाजरकोटमा ५०–५० करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा दुई करोड गरी एक अर्ब ४१ करोड ४ मंसिरमा निकासा गरेको थियो । यो रकम जिल्लास्थित विपत् व्यवस्थापन कोषमा छ ।

जाजरकोटमा अन्योल
जाजरकोटमा अस्थायी आवासका अझै अनुदान निकासाको प्रक्रिया सुरु भएको छैन । सरकारले जाजरकोटमा अस्थायी आवासका लागि पहिलो चरणमा ५० करोड निकासा गरे पनि लाभग्राहीको तथ्यांक संकलनमा ढिलाइ हुँदा पालिकामा रकम निकासा नभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार पालिकाबाट लाभग्राही कायम भएर आउन समय लागेकाले पहिलो किस्ता वितरण सुरु हुन नसकेको हो । ‘दुई पालिकाबाट लाभग्राहीको विवरण आएको थियो, तर केही प्रक्रिया नपुगेको देखिएपछि पुनः पठाउन भनेका छौँ,’ उनले भने, ‘बुधबारसम्ममा आउँछ होला, त्यसपछि पहिलो किस्ताको रकम निकासा हुन्छ ।’

पालिकाभरको सबै विवरण एकैपटक पठाउन सम्भव नभए पनि वडागत रूपमा तथ्यांक पठाउन भनिएको उनले बताए । जाजरकोटमा कुल ३४ हजार चार सय ९८ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । जसमा नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।

बुधबारसम्ममा लाभग्राहीको विवरण आउँछ होला, त्यसपछि पहिलो किस्ताको रकम निकासा हुन्छ : हरिश्चन्द्र शर्मा, सहायक सिडिओ, जाजरकोट

पालिकाबाट लाभग्राही कायम भएर आउन समय लागेकाले पहिलो किस्ता वितरण सुरु हुन नसकेको हो । दुई पालिकाबाट लाभग्राहीको विवरण आएको थियो, तर केही प्रक्रिया नपुगेको देखिएपछि पुनः पठाउन भनेका छौँ । बुधबारसम्ममा आउँछ होला, त्यसपछि पहिलो किस्ताको रकम निकासा हुन्छ ।

ad
ad